नेपाल र चीन प्राचीन ज्ञानको भूमि : प्रधानमन्त्री ओली

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Nepal and China are the land of ancient knowledge: Prime Minister Oli

बेइजिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन् । चीनको चार दिने भ्रमणमा रहेको नेपालका प्रधानमन्त्री ओलीले मंगलबार बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो ।’

उनले महान् दार्शनिक र ऋषिहरूको शिक्षाले पुस्तालाई प्रेरित गरेको उल्लेख गर्दै त्यसले संसारभरका धेरै जीवनहरूलाई प्रभाव पारेको बताए ।

ओलीले संसारको यस क्षेत्रमा धेरै महान सभ्यताहरू हुर्केको उल्लेख गरे । ‘ती सभ्यताहरूको महानता हाम्रो समाजको कहिल्यै नटुट्ने जग हो । र, ती सभ्यताहरू अझै पनि आधुनिकतातर्फको हाम्रो यात्रामा प्रतिध्वनित छन्,’ ओलीले सम्बोधनको क्रममा भने, ‘हाम्रो क्षेत्रमा समर्पण र लगनशीलताको धनी छ । हाम्रा पुर्खाहरूले ती विशेषताहरूमा निर्माण गर्न सक्षम थिए । र, प्रगति हासिल गरे । जबकि बाँकी संसार अझै आध्यारो छाया र गहिरो निद्रामै थियो ।’

उनले हाम्रा पुर्खाहरु विचारकहरू मात्र नभएर आविष्कारक र दूरदर्शी रहेको पनि उल्लेख गरे । उनीहरुकै योगदान एसिया र विश्वको लागि विरासत भएको ओलीको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully