वर्षामा आधारित कृषि प्रणालीमा परनिर्भरता बढ्दै गएको निष्कर्ष

जलवायु परिवर्तनले नेपालमा कृषि उत्पादनमा कमी आएको, बालीमा रोग लाग्ने र तापक्रम वृद्धिले पशुचाैपायमा विभिन्न रोग देखिएको एक अनुसन्धानमा उल्लेख 

मंसिर १९, २०८१

नुमा थाम्सुहाङ

Conclusions Increasing reliance on rain-fed agricultural systems

काठमाडौँ — जलवायु परिवर्तनको असरले नेपालमा वर्षामा आधारित कृषि प्रणालीमा परनिर्भरता बढ्दै गएको एक अध्ययनले देखाएको छ । 

त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले तयार गरेको ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ विषयक अनुसन्धानले उक्त निष्कर्ष निकालेको हो । 

अनुसन्धानले नेपालमा जलवायु परिवर्तनको प्रभावका रूपमा तापक्रम वृद्धि, अनियमित वर्षा, विषम मौसमी घटनाहरूको वृद्धि, जलवायुजन्य प्रकोप र विपद्का घटना दोहोरिने गरेको निष्कर्ष निकालेको छ ।

विभागका प्राध्यापक प्रेमसागर चापागाईंको नेतृत्वमा नेपाल, भारत, चीन र बंगलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्ताले ‘दक्षिण एसियाको विविध सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्यांकन’ शीर्षकमा तीन वर्ष लगाएर अध्ययन गरिएको थियो । यस अनुसन्धानमा नेपालका प्राध्यापक चापागाईं अनुसन्धान परियोजना प्रमुख थिए । 

उनको नेतृत्वमा नेपालको सन्दर्भमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभावलगायत विषयमा तयार पारिएको अनुसन्धान बुधबार सार्वजनिक गरिएको हो । 

अनुसन्धान सार्वजनिक गर्ने क्रममा उनले भने, ‘हामीले सन् २०२२ देखि २०२४ सम्म यसबारे अनुसन्धान गर्‍यौं । नेपाल, भारत र बंगलादेशमा वर्षामा आधारित किसान रहेका पायौं । यसमा उनीहरू धेरै प्रभावित भएका छन् । त्यसैले किसानहरूको अनुकूलन क्षमता कस्तो छ भनेर अनुसन्धानलाई अगाडि बढाएका हौं ।’ Conclusions Increasing reliance on rain-fed agricultural systems

उनका अनुसार किसानलाई जलवायु र अन्य बाह्य परिवर्तनहरूको वास्तविक वा अपेक्षित पूर्वानुमान र प्रतिकार्य गर्न सक्षम बनाउने अवस्था अनुकूलन क्षमता हो । जसले जलवायु परिवर्तनका नकारात्मक परिणामहरूको न्यूनीकरण गर्न, क्षतिको पुनर्लाभ गर्न र नयाँ अवसरहरूको उपयोग गर्न सक्षम बनाउँछ ।

‘नेपालमा विभिन्न भौगोलिक क्षेत्रका किसानहरूको अनुकूलन क्षमतामा प्रभाव पार्ने कारक तत्त्वहरूको सीमित अध्ययन भएको छ, जलवायु परिवर्तनको प्रभावबारे सामना गर्न अनुसन्धानमा आधारित ज्ञानको आवश्यकता छ,' प्राध्यापक चापागाईंले भने, 'यसैले यो अनुसन्धान गरिएको हो ।’ 

अध्ययनमा नेपालमा गण्डकी नदीको जलाधार क्षेत्रमा पर्ने वागमती र गण्डकी प्रदेशका पाँच जिल्लालाई छनोट गरिएको छ । जसमा हिमालको रसुवा, पहाडका नुवाकोट, तनहुँ र कास्की, तराईको चितवन रहेका छन् । 

अनुसन्धानमा २११ घरधुरी साना किसानको नमुना सर्वेक्षण गरिएको थियो । एक हेक्टर क्षेत्रफलभन्दा कम जमिनमा कृषि गर्नेहरू साना किसान भएकाले उनीहरूले अपनाएका अनुकूलन उपायबारे थाहा पाउनु अनुसन्धानको उद्देश्य रहेको थियो । साथै तापक्रम वृद्धि, किसानको अनुभव र देशको नीतिबारे खोज्नु अनुसन्धानको लक्ष्य रहेको उनको भनाइ छ ।

अनुसन्धानमा सहभागीले कृषिमा जलवायु परिवर्तनका नकारात्मक प्रभाव अनुभव गरेका छन् । जसमा हिमाली भेगका ७९, पहाडी भेगका ९१ र तराईका ९४ प्रतिशत किसानले उत्पादनमा कमी आएको, बालीमा रोग लाग्नु, तापक्रम वृद्धिले पशुचाैपायमा विभिन्न रोग देखिएको बताएका छन् । 

‘अनुसन्धानका क्रममा हामीले किसानहरूले बगरमा परिणत भएको खेतमा पनि खरबुजा लगाएको पायौं । बीउका प्रजातिमा परिवर्तन गर्ने र मौसमको अवस्थाअनुसार बाली रोप्ने तथा उठाउने गरेको पायौं । यो अनुकूलनको एउटा उदाहरण हो,’ उनले भने, ‘तर धेरै किसानहरूलाई जलवायु परिवर्तनको असरबारे थाहा भएको पाइएन । उनीहरूले उत्पादनलाई बढाउन मलको प्रयोग गरेको पाइयो तर यसले माटोलाई उल्टै असर गर्छ भन्नेबारे जानकार नभएको भेटियो ।’

नेपालमा कृषिमा आबद्ध जनसंख्या साना किसानहरूको संख्या ८० प्रतिशत रहेको छ । जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू भविष्यमा अझ तीव्र हुने प्रक्षेपण गरिएको अनुसन्धानमा उल्लेख छ । 

‘नेपालमा जलवायु परिवर्तनका कारण कूल गार्हस्थ उत्पादनको ९.९ प्रतिशतसम्म क्षति हुन सक्ने अनुमान गरिएको छ,’ अनुसन्धानमा भनिएको छ, ‘जलवायु परिवर्तनले गर्दा बाली, पशुपालन र माछापालनमा समेत गरी १० देखि ३० प्रतिशतसमम क्षति हुने देखिएको छ ।’ 

जलवायु तथा मौसमजन्य प्रकोपहरूमध्ये खडेरी बालीनालीलाई असर गर्ने प्रमुखका रूपमा रहेको अनुसन्धानले औंल्याएको छ । ‘बढ्दो खडेरी र मनसुनको ढिलाइका कारण बाली लगाउने समय पछाडि सर्दै गएको छ । जसले गर्दा बीउ छर्ने, उम्रिने, फुल्ने र फल लाग्ने प्रकृयामा असर पारेको छ,’ अनुसन्धानको निष्कर्ष छ, ‘साथै बाढी पहिरोजस्ता प्रकोपले कृषिभूमिमा क्षति पुर्‍याएको र लगाएको बालीनाली समेत नष्ट गरेको छ ।’ साथै अनुसन्धानले जलवायु परिवर्तनका कारणले कृषि उत्पादन घटेको जनाएको छ । 

जलवायु परिवर्तनका कारण ६० प्रतिशत घरपरिवारको प्रमुख तथा नगदे बालीमा गम्भीर प्रभाव पारेको प्राध्यापक चापागाईंले बताए । ‘प्रत्येक घरपरिवारको वार्षिक औसत बालीको क्षति हिमाली भेगमा ६ सय, पहाडमा २२५० र तराईमा २१ सय अमेरिकी डलर बराबर छ,' उनले भने, 'यसले किसानलाई अप्रत्यक्ष रूपमा कृषि छोडेर श्रमिकका रूपमा वैदेशिक रोजगारीतर्फ धेकिरहेको पायौं ।’ 

अनुसन्धानले जलवायु परिवर्तनबाट देखिएका चुनौतीहरूको समाधान गर्न नीतिगत व्यवस्था गर्न सुझाव समेत पेस गरेको छ । जसमा जलवायुमैत्री कृषिका लागि अनिवार्य बजेटको व्यवस्था, जलवायु उत्थानशील नयाँ किसिमहरूमा बालीको छनोट, वितरण र प्राविधिक सहयोग, साझेदारी खेतीका लागि प्रोत्साहनलगायत सुझाव समेत अनुसन्धानले प्रस्तुत गरेको छ ।

नुमा थाम्सुहाङ थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully