काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान-२०८१ लाई सम्बोधन गर्दै बुधबार उनले यस्तो धारणा राखेका हुन् ।
जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउँदै अध्यक्ष दाहालले भने, 'उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ-जान्छ तर यसलाई प्रतिक्रियावादीहरुले आफूले चाहेजस्तो बनाउन खोज्ने छन्, हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ ।'
उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने उनले बताए ।
नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष दाहालले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए ।
नेपालमा जनताले दस वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै उनले जनताको तर्फबाट यति धेरै संगठित र व्यवस्थितरुपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको पनि स्पष्ट गरे । उनले इतिहासको सम्मानका लागि नयाँ संस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुनले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णीम अक्षरमा लेखिएको बताए । गणतन्त्रका उपलब्धि रक्षा गर्दै उनले फेरि पनि अध्यक्ष प्रचण्डको नेतृत्वमा समाजवादी अभियान अघि बढानुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका उपमहासचिव एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्माले जनयुद्धको थालनी र संचालन हुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने बताए । अर्का डेपुटी कमान्डर चक्रपाणि खनालले अध्यक्ष प्रचण्डको सफल नेतृत्वका कारण जनयुद्ध सफल भएको र गणतन्त्र संभव भएको दाबी गरे ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाललाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको थियो । देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दस वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचन हुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।
कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दबहादुर पुन, वर्षमान पुन, जनार्दन शर्मा र चक्रपाणि खनाललाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ । कोषले वाग्मतीका १३ जिल्लाबाट एक/एक जना र सांस्कृतिकर्मीलाई पनि सम्मान गरेको छ ।
वाग्मतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशव्यापी बनाउँदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिए ।
