जाडो सुरु हुँदा पनि घटेन डेंगी संक्रमण

यस वर्ष डेंगी संक्रमित संख्या ३४ हजार नाघ्यो, १३ जनाको मृत्यु

मंसिर १८, २०८१

प्रशान्त माली

Even with the onset of winter, dengue infections did not decrease

काठमाडौँ — चोभारका अर्जुन बिसुन्खे डेंगी संक्रमण भएर ५ दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा उपचाररत छन् । डेंगीका कारण उनको शरीरमा प्लेटलेट्स (रक्ततत्त्व) को कमी भएको छ । ‘डेंगी संक्रमण हुँदा ताका जाडोयाम सुरु भइसकेको थियो । चिसोले अब लामखुट्टे आउँदैन भन्ने सोचेको थिएँ । घर बाहिर टहलिँदा र पार्कमा जाँदा लामखुट्टेले टोक्यो,’ बिसुन्खेले भने । 

उनीजस्तै डेंगी संक्रमण भएर अन्य दुई जना टेकु अस्पतालको आईसीयूमा छन् । अस्पतालका अनुसार इमर्जेन्सीमा दैनिक ३–४ जना डेंगी संक्रमित आउने गरेका छन् । ललितपुर इमाडोलका राजेश बज्राचार्यलाई पनि साँझबिहान करेसाबारीमा जाँदा लामखुट्टेले टोकेको थियो । उनी पनि एक सातादेखि पाटन अस्पतालमा उपचाररत छन् ।

जाडोयाम सुरु भइसक्दा पनि डेंगी संक्रमण घटेको छैन । यस वर्ष सोमबारसम्म देशभर डेंगी संक्रमितको संख्या ३४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७६ जिल्लामा फैलिएको डेंगी मंसिर १४ सम्म ३४ हजार ९० जना संक्रमित पुष्टि भएको छ । यस वर्ष १३ जनाको डेंगी संक्रमणबाट मृत्यु भइसकेको छ । गत वर्ष २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो भने २० जनाको ज्यान गएको थियो । 

ईडीसीडीको तथ्यांकअनुसार डेंगी संक्रमित ५ मुख्य जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा ७ हजार ६ सय ४७ जना, काठमाडौंमा ५ हजार ८ सय ६८ जना, तनहुँमा २ हजार ५ सय ४५ जना, पर्वतमा १ हजार ८ सय ३८ जना र बागलुङमा १ हजार ३ सय ६० जनालाई संक्रमण भएको छ । 

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पुस मसान्तसम्म डेंगी फैलिनुमा अचम्म मान्नु नपर्ने बताए । ‘दुई वर्षअघि बाह्रै महिना डेंगी संक्रमित भेटिएको थियो,’ उनले भने, ‘जाडोयाममा पनि डेंगी फैलिनुमा जयवायु परिवर्तन मुख्य कारण देखिएको छ ।’ उनले सरसफाइमा हेलचक्र्याइँ नगर्न आग्रह गरे । ‘सामान्य बेवास्ताका कारण मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ,’ उनले भने ।

डेंगी नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने विशेषज्ञको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी जाडोयाम सुरु भए तापनि स्थानीय तह, टोल विकास समिति मिलेर यो अभियान चलाउनुपर्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा डेंगी नियन्त्रण गर्न स्थानीय तहलाई ८ करोड रुपैयाँ र प्रदेश सरकारलाई २ करोड रुपैयाँ विनियोजन गरेको छ । 

ईडीसीडीका डेंगी फोकल पर्सन गोर्कण दाहालले सम्बन्धित स्थानीय तहलाई लामखुट्टे खोज र नष्ट गर अभियान चलाउन बेलाबेलामा अनुरोध गर्दै आएको बताए । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरले डेंगी नियन्त्रणका लागि बेला/बेलामा माइकिङ र लामखुट्टे नष्ट अभियान चलाउँदै आएको बताए । ‘सडकका खाल्डाखुल्डी पुर्ने काम पनि भएको छ,’ उनले भने । 

डेंगी ‘एडिस’ जातको लामखुट्टेमार्फत फैलने गर्दछ । यस्तो लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सर्ने चिकित्सकको भनाइ छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगीका प्रमुख लक्षण हुन् । 

लामखुट्टेको टोकाइबाट डेंगीबाहेक मलेरिया, औलो, चिकनगुनिया (डेंगीसँग मिल्दोजुल्दो) रोग पनि लाग्न सक्छ । 

प्रशान्त

Link copied successfully