यस वर्ष डेंगी संक्रमित संख्या ३४ हजार नाघ्यो, १३ जनाको मृत्यु
काठमाडौँ — चोभारका अर्जुन बिसुन्खे डेंगी संक्रमण भएर ५ दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा उपचाररत छन् । डेंगीका कारण उनको शरीरमा प्लेटलेट्स (रक्ततत्त्व) को कमी भएको छ । ‘डेंगी संक्रमण हुँदा ताका जाडोयाम सुरु भइसकेको थियो । चिसोले अब लामखुट्टे आउँदैन भन्ने सोचेको थिएँ । घर बाहिर टहलिँदा र पार्कमा जाँदा लामखुट्टेले टोक्यो,’ बिसुन्खेले भने ।
उनीजस्तै डेंगी संक्रमण भएर अन्य दुई जना टेकु अस्पतालको आईसीयूमा छन् । अस्पतालका अनुसार इमर्जेन्सीमा दैनिक ३–४ जना डेंगी संक्रमित आउने गरेका छन् । ललितपुर इमाडोलका राजेश बज्राचार्यलाई पनि साँझबिहान करेसाबारीमा जाँदा लामखुट्टेले टोकेको थियो । उनी पनि एक सातादेखि पाटन अस्पतालमा उपचाररत छन् ।
जाडोयाम सुरु भइसक्दा पनि डेंगी संक्रमण घटेको छैन । यस वर्ष सोमबारसम्म देशभर डेंगी संक्रमितको संख्या ३४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७६ जिल्लामा फैलिएको डेंगी मंसिर १४ सम्म ३४ हजार ९० जना संक्रमित पुष्टि भएको छ । यस वर्ष १३ जनाको डेंगी संक्रमणबाट मृत्यु भइसकेको छ । गत वर्ष २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेंगी संक्रमण पुष्टि भएको थियो भने २० जनाको ज्यान गएको थियो ।
ईडीसीडीको तथ्यांकअनुसार डेंगी संक्रमित ५ मुख्य जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा ७ हजार ६ सय ४७ जना, काठमाडौंमा ५ हजार ८ सय ६८ जना, तनहुँमा २ हजार ५ सय ४५ जना, पर्वतमा १ हजार ८ सय ३८ जना र बागलुङमा १ हजार ३ सय ६० जनालाई संक्रमण भएको छ ।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पुस मसान्तसम्म डेंगी फैलिनुमा अचम्म मान्नु नपर्ने बताए । ‘दुई वर्षअघि बाह्रै महिना डेंगी संक्रमित भेटिएको थियो,’ उनले भने, ‘जाडोयाममा पनि डेंगी फैलिनुमा जयवायु परिवर्तन मुख्य कारण देखिएको छ ।’ उनले सरसफाइमा हेलचक्र्याइँ नगर्न आग्रह गरे । ‘सामान्य बेवास्ताका कारण मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ,’ उनले भने ।
डेंगी नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने विशेषज्ञको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी जाडोयाम सुरु भए तापनि स्थानीय तह, टोल विकास समिति मिलेर यो अभियान चलाउनुपर्ने बताउँछन् । स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा डेंगी नियन्त्रण गर्न स्थानीय तहलाई ८ करोड रुपैयाँ र प्रदेश सरकारलाई २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
ईडीसीडीका डेंगी फोकल पर्सन गोर्कण दाहालले सम्बन्धित स्थानीय तहलाई लामखुट्टे खोज र नष्ट गर अभियान चलाउन बेलाबेलामा अनुरोध गर्दै आएको बताए । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरले डेंगी नियन्त्रणका लागि बेला/बेलामा माइकिङ र लामखुट्टे नष्ट अभियान चलाउँदै आएको बताए । ‘सडकका खाल्डाखुल्डी पुर्ने काम पनि भएको छ,’ उनले भने ।
डेंगी ‘एडिस’ जातको लामखुट्टेमार्फत फैलने गर्दछ । यस्तो लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सर्ने चिकित्सकको भनाइ छ । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेंगीका प्रमुख लक्षण हुन् ।
लामखुट्टेको टोकाइबाट डेंगीबाहेक मलेरिया, औलो, चिकनगुनिया (डेंगीसँग मिल्दोजुल्दो) रोग पनि लाग्न सक्छ ।
