काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीबीच भेटवार्ता भएको छ । मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटवार्तामा द्विपक्षीय सम्बन्ध, रोजगार, व्यापार र भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाली कामदारको २४ सै घण्टा बिमाको व्यवस्था, कतारमा मृत्यु वा घाइते भएका नेपाली कामदारको उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन कतार सरकारलाई अनुरोध गरेका छन् ।
‘कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्,’ उपराष्ट्रपति यादवले भने, ‘म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।’
उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गरे । उपराष्ट्रपति यादवले नेपाली नागरिक विपिन जोशी लगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसा समेत गरे ।
कतारका राजदूत अन्सारीले नेपाल र कतारबीचको सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवर्द्धन तथा संरक्षणको पक्षमा रहेको बताए । ‘कतारमा हाल चार लाख नेपाली कामदार रहेकामा अब घरेलु कामदारलाई पनि कतार लग्ने प्रयासमा छु,’ उनले भने ।
