पोखरा एभेन्जर्सविरुद्ध चितवनको चुनौतीपूर्ण स्कोर

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Chitwan's challenging score against Pokhara Avengers

काठमाडौँ — लगातार दोस्रो विजयको खोजीमा रहेको चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध चुनौतीपूर्ण स्कोर बनाएको छ ।

पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६१ रन बनाएको हो ।

भेट्रान इंग्लिस ब्याटर रवी बोपाराले चितवनबाट सर्वाधिक ५१ रन बनाए । उनले ३८ बल खेली समान ३ चौका र छक्का प्रहार गरे । बोपाराले कप्तान कुशल मल्लसँग चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे । कुशलले २३ बल खेली १ चौका र ४ छक्का प्रहार गरी ३८ रन बनाए ।

ओपनर दीपक बोहरा २ र हसन एइसाखिलले १० बलमा १४ रन बनाए । सन्तोष कार्की ११, सोहेल तनवीर शून्यमा आउट भए । शरद भेषावकर १२ बलमा ११ र इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका अमरसिंह राउटेला ६ बलमा १३ रन बनाई अविजित रहे ।

पोखराबाट विपिन खत्री, बास डे लिड र रेयमन राइफरले २–२ तथा सागर ढकालले १ विकेट लिए ।

कान्तिपुर

Link copied successfully