सभामुख घिमिरे र सांसद सापकोटा नातेदार भएको पुष्टि गर्न जनमतलाई चुनौती : सभामुख सचिवालय

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Challenge to public opinion to confirm that Speaker Ghimire and MP Sapkota are related: Speaker Secretariat

काठमाडौँ — सभामुख देवराज घिमिरे र सांसद गोमा लाभ सापकोटा नातेदार भएको पुष्टि गर्न जनमत पार्टीलाई सभामुख देवराज घिमिरेको सचिवालयले चुनौती दिएको छ । सभामुखमाथि लगाएका गैरकानुनी, असभ्य र निराधार आरोप फिर्ता लिन पनि जनमतलाई सभामुखको सचिवालयले आग्रह गरेको छ । 

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार विज्ञप्ति जारी गर्दै जनमत पार्टीले सभामुखमाथि निन्दनीय व्यवहार गरेको उल्लेख गरेका छन् ।

'जनमत पार्टीलाई ‘माननीय सापकोटा सम्माननीय सभामुखको नातेदार भएको’ भन्ने आरोप पुष्टि गर्न चुनौती दिन चाहन्छु,' अधिकारीले विज्ञप्तिमा लेखेका छन्, 'सभामुखले आफू निर्वाचित भएकै दिन संसद्को निष्पक्ष सञ्चालनका लागि राजनीतिक दलका सबै आबद्धता त्याग गर्नुभएको स्मरण गराउँदै सबै राजनीतिक दल र माननीय सदस्यहरूप्रति समान व्यवहार प्रदर्शन गर्नुभएकोमा कुनै शंका छैन ।'

पार्टीले विज्ञप्तिमा जनाएअनुसार ‘सभामुखले संसद्मा‌ कुनै भाषा, भेषभूषाको प्रयोग सम्बन्धमा भेद्भा‌व गरेको, विभेद गरेको, प्रस्ताव तथा समय प्रदान गर्दा संसदमा विभेद गरेको’ जस्ता आरोप अनर्गल, तथ्यहीन र काल्पनिक हुन्  । सभामुख व्यक्तिमात्र होइन, संस्था पनि हो भन्ने स्मरण गराउँदै एउटा राष्ट्रिय पार्टीले सभामुख, संसद र संसद् सचिवालयप्रति प्रयोग गरेको भाषा र शब्द गैरजिम्मेवार र धम्कीपूर्ण छन् ।'

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले सोमबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले सांसद गोमा लाभ सापकोटालाई पदमुक्त नगरी 'आपराधिक कार्य गरेको' र संसद् सञ्चालनका क्रममा नै नश्लवादी एवं रंगभेदी व्यवहार देखाएको आरोप लगाएका थिए । जनमत पार्टीले सांसद सापकोटा सभामुख घिमिरेको नातेदार भएको आरोप लगाएको छ ।

जनमतले आफ्नो सांसद सापकोटालाई पदबाट हटाउन चार पटक संसद् सचिवालयलाई पत्र लेखेको थियो । ती पत्रहरू बनावटी भएको र कानुन अनुसार पदमुक्त हुने कार्य सापकोटाबाट नभएको उल्लेख गर्दै सभामुखले सूचना निकालेका थिएनन् । अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपालको संविधान, प्रतिनिधिसभा नियमावली, २०७९ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को प्रावधानहरूको व्यवस्था बमोजिम सभामुखले गर्नुभएको निर्णयप्रति असहमति राख्दै जारी गरिएको विज्ञप्तीमा प्रयोग भएका शब्द र भाषा अत्यन्तै निन्दनीय, मिथ्या र भ्रमणपूर्ण छन् । संसदीय कार्यहरू संविधान, कानून, संसद नियमावली र अभ्यास बमोजिम सञ्चालन हुन्छन्; सभामुखले गरेका निर्णय पनि त्यसबाहिर छैनन् भन्ने स्पष्ट पार्न चाहन्छु ।'

सभामुखको सचिवालयले सांसद लाभलाई पदमुक्त नगर्ने सभामुखको निर्णयमा चित्त नबुझे कानुनी उपचार खोज्न पनि जनमत पार्टीलाई सुझाव दिएको छ । 'सापकोटाको कारबाही सम्बन्धमा संवैधानिक/कानुनी उपचारमा जाने विकल्प हुँदा हुँदै सभामुखमाथि लगाइएको गैरकानुनी, असभ्य र निराधार आरोपलाई फिर्ता लिन सम्बन्धित दललाई अपिल गर्दछु,' सभामुखको सचिवालयको आग्रह छ । 

कान्तिपुर संवाददाता

Link copied successfully