चितवनमा २८ सय डेंगी संक्रमित

मंसिर १८, २०८१

रमेशकुमार पौडेल

2800 dengue infected in Chitwan

चितवन — गर्मी र बर्खायामका बेलामा अत्यधिक देखिने डेंगी र स्क्रब टाइफसको संक्रमण चितवनमा अझै कम भएको छैन । चितवनमा साउनयता मंसिर १४ सम्म डेंगीबाट संक्रमितको संख्या २ हजार ८२० पुगेको छ ।

यो संख्या चितवनका संक्रमितको मात्रै हो । भरतपुरस्थित जनस्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा उपचार गराउन आएका चितवन बाहिरका अन्य ८ सय ३८ जनामा पनि संक्रमण देखिएको छ । संक्रमितमध्ये एकको मृत्यु भएको छ ।

त्यसैगरी, स्क्रब टाइफसबाट संक्रमित हुनेमा मंसिर १४ सम्म चितवनका मात्रै ३ सय ६३ र चितवनबाहिरका ३ सय ४७ गरी ७ सय १० जना छन् । स्क्रब टाइफसबाट संक्रमितमध्ये चितवनकै एक जनाको मृत्यु भएको छ । ‘कात्तिकमा संक्रमण उच्च थियो । गत वर्ष पनि यस्तै थियो । चिसो बढेसँगै डेंगी संक्रमण केही घटे पनि रोकिएको छैन । पुस/माघको जाडोमा पनि ठप्प नहुने देखिन्छ,’ जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रुपाखेतीले भने । 

सात स्थानीय तह रहेको चितवनमा सबैभन्दा धेरै डेंगी संक्रमित भरतपुर महानगरपालिकाभित्र छन् । त्यसपछि रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा छन् । चितवनमा सुरुमा इच्छाकामना गाउँपालिकाको मुग्लिन, कुरिनटार र फिस्लिङजस्ता बजार क्षेत्रमा डेंगी फैलिएको थियो । त्यसपछि भरतपुर र रत्ननगरमा पुग्यो । जिल्लाका सबै पालिकामा डेंगी र स्क्रब पुगेको छ ।

संक्रमितहरू बढे पनि व्यवस्थापनमा ठूलो समस्या नभएको रुपाखेतीले बताए । ‘जटिल अवस्थाका बिरामीहरू खासै आएनन् । परीक्षण र उपचारमा पनि कठिनाइ या समस्याहरू भएन । संक्रमितहरूको व्यवस्थापन राम्रोसँग भयो,’ रुपाखेतीले भने । रत्ननगरको बकुहलरह अस्पतालमा एक महिनाअघिसम्म डेंगी हुने बिरामीको चाप धेरै नै थियो । अस्पतालमा मेडिकल वार्डको १५ शय्यामा आधा बिरामी डेंगीका हुन्थे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.मदन ज्ञवाली अहिले पनि डेंगीका बिरामीहरू आउने गरे पनि पहिलाको जस्तो चाप नभएको बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully