चितवन — जंगली भाले हात्ती 'मकुना' अचेल वन छाडेर पर्यटक र स्थानीयको ओहरदोहर भइरहने सौराहाको पिच बाटोमै भेटिन्छ । सौराहास्थित निकुञ्जको टिकट काउन्टर छेउमै वन हात्ती देखेपछि कुकुर भुक्ने र मान्छेले होहल्ला गरेको भिडियो अहिले सामाजिक सञ्चालमा छ्यापछ्याप्ती छन् ।
देशविदेशका पर्यटक झुम्मिने सौराहाको व्यस्त मूल बाटोमै वन हात्ती हिँड्न थालेपछि स्थानीयमा त्रास बढेको छ । ‘त्यसैले हामी सरोकारवालासँग बिहीबार बैठक पनि बस्यौं । हात्ती उत्तेजित भएर कुनै हानी नगरोस् भन्नका लागि विभिन्न निर्णय गरेका छौं,’ चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाका प्रमुख रहेका संरक्षण अधिकृत सन्त मगरले भने ।
निकुञ्जमा पर्यटक डुलाउने पथप्रदर्शक (टुरिष्ट गाइड) विमिता भण्डारी बुधबार बिहान १० बजेतिर सौराहाको टिकट काउन्टर नजिक थिइन् । मकुनालाई उनले त्यहीँ देखिन् । मकुना भनेको दाह्रा नहुने भाले हात्ती हो । गत वर्ष मंसिर दोस्रो सातादेखि यो हात्ती चितवन निकुञ्जको पूर्वी क्षेत्रमा देखिएको छ ।
पूर्वी नेपालका जंगलमा फाट्टफुट्ट देखिने यो हात्ती चितवनमा भने पहिलो पटक देखा परेको हो । उक्त हात्ती मकुना भएको पक्का भए पनि पूरै जंगली हो या घरमा पालेर कसैले छाडेको हो भन्ने चर्चा पनि सौराहामा चल्ने गरेको छ । बिहीबारको बैठकमा पनि यसबारे कुरा उठेको थियो । चितवनमा पहिला पहिला रोमियो, नाना पाटेकर नाम भएका जंगली भाले हात्ती थिए ।
अहिले पनि रोनाल्डो, ध्रुबे, गोविन्दे नाम गरेका जंगली भाले हात्ती चितवन निकुञ्ज क्षेत्रमा डुल्ने गर्छन् । ‘अरु भाले हात्ती दिउँसो या बिहानपख बस्तीमा देखा पर्दैनन् । राति आए पनि मान्छेको चहलपहल नहुँदै जंगल फर्कन्थे । तर मकुना बिहान १०/११ बजेसम्म गाउँमै बस्छ,’ सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाले भने ।
घरमा पालेका पोथी हात्ती खोज्दै जंगली भाले हात्तीहरु गाउँ पस्ने गर्छन् । जंगल सफारीमा प्रयोग हुने हात्ती सञ्चालकहरुले खोलेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष पनि रहेका खतिवडा निकुञ्ज सौराहामा निजी हात्तीसारमा रहेका पोथी हात्तीसँग सहवास गर्नुका साथै उनीहरुको दाना, पराल खान पनि वन हात्ती बस्ती छिर्ने गरेको बताउँछन् ।
‘तर यो मुकना राम्रोसँग उज्यालो भएर ९/१० बज्दा पनि मूल बाटोबाटै हिँड्छ । मंगलबारयता सडकमै हिँडे दौडेको देखेको छु । साँझ ६ बज्दै गर्दा बस्ती तिर छिर्छ । बिहान अबेलासम्म यतै बस्छ,’ खतिवडाले भने । पर्यटन व्यवसायी श्रीलाल परियार बाटोमै वन हात्ती देख्दा पर्यटक रमाउने गरेको बताउँछन् । तर होहल्ला बढेर हात्ती तर्सिए वा रिसाए दुर्घटना हुन सक्ने जोखिम पनि छ ।वन हात्तीहरु सधैं आउने हैनन् । भदौ लागेपछि देखा परेर पुस–माघसम्म डुल्छन् ।
‘यो मकुना गत वर्ष मंसिरमा आएर माघसम्म यतै बसेको थियो । हात्तीहरु आउने जाने गर्छन् । हो होल्ला नगर्ने, नजिस्काउने, सावधान हुने गर्नु पर्छ । निकुञ्ज प्रशासनले पनि त्यही अनुसारको योजना बनाए राम्रो हुन्थ्यो,’ परियारले भने । निकुञ्जका संरक्षण अधिकृत सन्त मगर त्यो तयारी भएको बताउँछन् ।
‘हात्तीको नियमित निगरानी गर्न निकुञ्ज प्रशासन, सुरक्षामा तैनाथ सेना र मध्यवर्ती सामुदायिक वनका हेरालुहरु खटाउने निर्णय भएको छ । गाडी र इन्धनको प्रबन्ध गरेका छौं । हात्ती बाटोमा देखिदा मान्छेको भीड लाग्न दिने छैनौं । हात्ती भएको ठाउँतिर मान्छे जान रोक्ने छौं,’ संरक्षण अधिकृत सन्त मगरले भने । आवश्यक परे हात्तीलाई डार्ट पनि गर्ने योजना निकुञ्जले बनाएको उनले बताए ।
