क्रिकेटका दर्शकसँग शुल्क असुल्दै स्ववियु

मोटरसाइकलको ५०, कार/जिपको १०० र हेलमेटलगायत सामग्रीको ३० रुपैयाँ शुल्क असुली

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Swaviyu charging fees to cricket spectators

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हेर्न पुगेका दर्शकसँग स्वतन्त्र विद्यार्थी युनियनका नाममा विद्यार्थीले पार्किङ शुल्क उठाउन थालेका छन् । विश्वविद्यालय परिसरमै मोटरसाइकल, गाडीलगायत सवारीसाधन पार्किङ गरेको शुल्क उठाएको भन्दै आलोचना भएको छ ।

आयुर्वेद क्याम्पस कीर्तिपुर स्ववियुले रसिद नै छपाएर खेलको पहिलो दिन शनिबार शुल्क उठाएको थियो । 

रसिदमा मोटरसाइकलको ५०, कार/जिपको एक सय र हेलमेटलगायत सामग्रीको ३० रुपैयाँ शुल्क लाग्ने उल्लेख छ । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न गएका दर्शकसँग ‘त्रिवि पार्किङ’ भनेर त्रिवि केन्द्रीय क्याम्पस स्ववियुका केही विद्यार्थीले पनि मनोमानी रूपमा पार्किङ शुल्क उठाएको पाइएको छ । विद्यार्थीहरू रसिद लिएर शुल्क उठाउन खेल मैदान बाहिरको पार्किङ क्षेत्रमा खटिने गरेका छन् ।

केन्द्रीय क्याम्पसका स्ववियु अध्यक्ष श्यामराज ओझाले अनधिकृत व्यक्तिले विश्वविद्यालय हातामा प्रवेश गरेर यसअघिका खेलदेखि नै शुल्क उठाउँदै आएको बताए । अनधिकृत व्यक्तिले उठाउनुभन्दा विद्यार्थीलाई इन्टर्नसिपमा जोड्ने गरी शुल्क लिन लागिएको उनले जनाए ।

शुल्क उठाउने छलफल मात्र भएको तर नउठाएको उनले दाबी गरे । ‘बाहिरी मान्छे आएर एउटा हेलमेट राखेको ५० रुपैयाँ उठाउँथे । हामीले विश्वविद्यालयको जग्गामा विद्यार्थीले न्यूनतम शुल्क लिएर पार्किङ गर्ने भनेका थियौं,’ उनले भने, ‘त्यसको विरोध भयो । स्ववियुले शुल्क नलिने भनेको छ ।’ 

स्ववियुका एक पदाधिकारीले भने शुल्क उठाउने विषयमा कुनै छलफल र निर्णय नभएको तर स्ववियुका नाममा शुल्क उठाएकाका गुनासो गरे । अध्यक्ष ओझाले आफूनिकट विद्यार्थीलाई रकम उठाउन खटाएको उनीहरूको आरोप छ । स्ववियुले प्रहरीसँग मिलेर एनपीएलका बेला पार्किङ व्यवस्थित गर्ने भनेर विश्वविद्यालय क्याम्पसलाई यसअघि नै जानकारी पठाएको थियो ।

क्याम्पस प्रमुख ध्यानेन्द्र राईले पार्किङ स्ववियुले व्यवस्थित गर्ने भने पनि के कसरी व्यवस्थित गर्ने भन्ने विषयमा जानकारी नभएको बताए । ‘नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट मैदान विश्वविद्यालयसँग सम्झौता गरेर लिएको हो । आयोजक पनि क्यान नै हो,’ उनले भने, ‘पार्किङ व्यवस्थापन क्यानले नै गर्नुपर्छ । त्यसमा विश्वविद्यालय र क्याम्पस संलग्न छैन ।’

 जथाभाबी पार्किक हुँदा प्रतियोगिताका बेला होहल्ला, फोहोरले विश्वविद्यालय अस्तव्यस्त हुने गरेको उनले गुनासो गरे । ‘पार्किङ शुल्क लिने विषयमा विद्यार्थी पनि विभाजित भएका छन् । जथाभाबी पार्किङ हुँदा विश्वविद्यालयलाई असर पुगेको छ,’ उनले भने, ‘विश्वविद्यालयको वातावरण खलबल नगरी क्रिकेट पनि सञ्चालन गर्न सक्नुपर्छ ।’ क्रिकेटका बेला प्राध्यापक, कर्मचारी, विद्यार्थी आउजाउ गर्नसमेत सकस हुने गरेको उनले गुनासो गरे ।

स्ववियु सचिव सिद्धान्त भट्टले भने पार्किङ व्यवस्थापन गर्ने विषयमा स्ववियुलाई कुनै जानकारी नभएको बताए । यो विषयमा स्ववियुमा छलफल नै नभएको उनको भनाइ छ । क्यानले त्रिविका विद्यार्थीलाई खेल हेर्न टिकटमा ५० प्रतिशत छुट दिएको छ ।

२०५४ सालमा क्यानले त्रिविसँग सम्झौता गरेर क्रिकेट मैदान प्रयोग गर्दै आएको छ । सम्झौता २०८३ सम्म बाँकी छ । क्यानले मैदान भाडामा लिए पनि त्यसमा पूर्वाधार निर्माणलगायतका काममा सरकारले पनि सघाउँदै आएको छ । क्यानले जग्गा भाडाबापत ६ लाख, छात्रवृत्तिका लागि २ लाख र त्रिवि खेलकुदका लागि १ लाख गरी वार्षिक ९ लाख त्रिविलाई बुझाउँदै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully