सचिव भएको तीन वर्षमा सिग्देलको सातौं सरुवा

मंसिर १७, २०८१

ऋषिराम पौड्याल

Sigdel's seventh transfer in three years as secretary

काठमाडौँ — सचिवमा बढुवा भएको तीन वर्षमा सातौं पटक सरुवा भएर गोपाल सिग्देल अहिले सहरी विकास मन्त्रालय आइपुगेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल पाँच दिन अघि निवृत्त भएपछि रिक्त स्थानमा सिग्देललाई सरुवा गरिएको हो । सिग्देल जल तथा उर्जा आयोगमा सचिव थिए ।

उनलाई आइतबारको मन्त्रिपरिषद्को बैठकले सहरीका सरुवा  गरिएको हो । जागिरे अवधिभर सबैजसो समय सडक विभागमा काम गरेको सिग्देललाई केही समय पहिले उर्जा सचिवबाट सरुवा गरेर आयोगमा पठाइएको थियो । सिग्देल भौतिक पूर्वाधार र उर्जा मन्त्रालय तथा उर्जा आयोगमा पालैपालो गरेर पछिल्लो ७ महिनामा चार पटक सरुवा भएका छन् । 

२०७८ असोज १४ मा सचिवमा बढुवा भएपछि पटक–पटक सरुवा भएका कारण एक ठाउँमा उनले सरदर ५ देखि ६ महिना मात्र काम गर्ने अवसर पाएका छन् । केही समय अघि सिग्देललाई उर्जामन्त्री दिपक खड्काले आयोगमा पठाएका थिए ।

खड्काले उर्जा मन्त्रालयमा सरुवा भएको डेढ महिनामै आयोगमा सरुवा गरेका थिए । सचिव गेलाल भने चार वर्षे कार्यकलमा ८ पटक सरुवा भएका थिए । उनी गत १३ गते अवकास भएका हुन् । गेलालले सरदर आफ्नो कार्यकालमा एकै स्थानमा बसेर ६ महिना काम गरेर अवकास भएका छन् ।

सहरी विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, राष्ट्रिय आवास कम्पनी लिमिटेड, नगर विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, अर्न्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन, नगर विकास समितिहरु रहेका छन् । मन्त्रालयले बर्सेनि अर्बौं बजेट परिचालन र खर्च गर्ने भएकाले सचिव, विभागीय प्रमुख र मन्त्रालयका महाशाखा प्रमुखहरु छोटो समयमै फेरिने गरेको छ । मुख्यतः विभाग र महाशाखा प्रमुख हुने होडबाजीले आन्तरिक सरुवामा समेत विवाद आउने गरेको छ । मन्त्रालयमा एउटै महाशाखामा दुई जना सहसचिव राखेर काम लगाएको अभ्यास पनि विगतमा रहेको छ । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully