ढिस्को खस्दा पुल निर्माणमा खटिएका एकै परिवारका चारसहित ५ मजदुरको पुरिएर मृत्यु

प्राविधिकबिना काम सञ्चालन गरिँदा दुर्घटना भएको भन्दै छानबिन गर्न माग

मंसिर १७, २०८१

काशीराम डाँगी

5 laborers, including four from the same family, who were employed in the construction of the bridge were buried when the mound fell

रोल्पा — ठेकेदार कम्पनीले प्राविधिक परिचालन नगरी मजदुर मात्र लगाएर पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको काम गर्दा आइतबार ढिस्को खसी पुरिएर एकै परिवारका चारसहित ५ मजदुरको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझी र सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले घटनाको अनुसन्धान गरिनुपर्ने बताएका छन् भने पीडित परिवारले ठेकेदार कम्पनीबाट क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान लिएका छन् । ढिस्को खस्दै गर्दा भाग्न सफल भएका दुई मजदुरको भने ज्यान जोगिएको छ ।

अघिल्ला दिनझैं आइतबार बिहानै खाना खाएपछि ८० वर्षीय दिलमन परियारका छोराबुहारी मजदुरी गर्न हिँडेका थिए । गाउँमै निर्माण भइरहेको झोलुङ्गे पुलको काममा खटिएका उनीहरूको दैनिकी एक महिनादेखि यस्तै थियो ।

अघिल्ला वर्षहरूमा हिउँदमा भारत, पोखरा, मनाङ–मुस्ताङ वा काठमाडौंका इँटा उद्योगसम्म मजदुरी गर्न पुग्ने उनीहरू यसपालि गाउँको पुल निर्माणमा काम पाइने भएपछि अन्त नगई बसेका थिए । 

पुल निर्माणको काम एक महिनादेखि भइरहेको थियो । उनीहरू दैनिक ८ सय रुपैयाँ ज्याला पाउने गरी काम गर्दै आएका थिए । आइतबार बिहान ९ः५० बजेतिर पुलको पिलर राख्ने खाल्डोभित्र ढिस्को खसेको थियो ।

घटनामा बाहिरी गामका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको पुरिएर मृत्यु भएको हो ।

दुर्घटनाबाट दिलमनले जेठी बुहारी सुवित्रा, माइला छोरा दुजमन, कान्छा छोरा ओम र नातिनी बुहारी आइती गरी परिवारका ४ सदस्य गुमाएका छन् । जेसीबीले खनेको पुलको पश्चिमतिर (मौलाबाङ) को खाल्डोमा पर्खाल लगाउने क्रममा ढिस्को खसेको थियो । 

एकै परिवारका ४ जना गुमाउँदा दिलमन विक्षिप्त बनेका छन् । ‘गाउँमा काम पाउन मुस्किल छ, केही दिनकै लागि भए पनि गाउँमै गरौं भनेर परिवारमा सल्लाह गरेरै छोराबुहारीहरू काम गर्न थालेका थिए,’ मृतकका आफन्त देउसिंह घर्तीमगरले भने, ‘दुर्घटनाले सबैको ज्यान लियो, वृद्धावस्थामा दिलमनले यस्तो नियति भोग्नुपर्‍यो ।’ 

मजदुरी गरेर गुजारा गर्दै आएका मृतक ६६ वर्षका देवीरामको परिवारको पनि बिचल्ली भएको छ । बस्तीकै विपन्न परिवारका देवीरामको घरमा ७/८ वर्षका दुई सन्तान र श्रीमती मात्र रहेको सुनछहरी–३ का वडाध्यक्ष उद्वीर घर्तीमगरले बताए । ‘निकै दयनीय अवस्थाका देवीराम सानोतिनो काम गरेर घर चलाउँथे, अब परिवारकै बिचल्ली भएको छ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता र मजदुरी मात्र उनको आम्दानीको स्रोत थियो ।’

दलित समुदायका १५ परिवारको बसोबास रहेको उक्त बस्तीका अधिकांशको आर्थिक अवस्था कमजोर छ । घटनास्थल पुगेका गाम प्रहरी चौकी प्रमुख सहायक निरीक्षक प्रकाश बिष्टले भने, ‘भौगोलिक विकटताले यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था यसै पनि कमजोर नै छ, खेतीपातीका लागि जग्गा पनि नहुँदा दलित समुदायको त झन् दयनीय स्थिति छ ।’ 

5 laborers, including four from the same family, who were employed in the construction of the bridge were buried when the mound fellपुल निर्माणस्थल । तस्बिर : कान्तिपुर

संघीय सरकारअन्तर्गतको बुटवलस्थित स्थानीय पूर्वाधार कार्यालयको ८५ लाख रुपैयाँ ठेक्कामा ३ सय मिटर लामो झोलुङ्गे पुलको निर्माण सुरु भएको हो । ठेक्काको जिम्मा एलबी पल्लवी जक्सन जेभी कम्पनीले पाएको छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनमगरले पुल बनाउने ठेकेदारको कमजोरीले दुर्घटना भएको बताए । उनका अनुसार पुलको डिजाइन गरेका प्राविधिक ऋषि अधिकारी र ठेकेदार कम्पनीका सञ्चालकले साइटमा प्राविधिक नराख्दा घटना हुन पुगेको हो । ठेकेदारले निर्माणस्थलमा खटाएका स्थानीय एक युवक र जेसीबीका चालकलाई नियन्त्रणमा लिएको छ । 

‘पुलको डिजाइन गर्ने प्राविधिक अधिकारी फिल्डमा आएको देखिँदैन, अर्कोतिर ठेकेदारले पनि प्राविधिक नराख्दा यस्तो भएको हो । यसको सबै जिम्मेवारी टेन्डर गर्ने कार्यालय र प्राविधिकले लिनुपर्छ,’ उनले भने ।

उनले दुर्घटनापछि पीडित पक्षसँग वार्ता गर्न मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एलबी पल्लवी जक्सन जेभी कम्पनीका सञ्चालक परशुराम खड्कालाई नेपालगन्जबाट बोलाएको बताए । वडाध्यक्ष घर्तीमगरले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन ठेकेदार कम्पनीसँग पहल भइरहेको बताए । 

गाउँपालिकाले प्रतिपरिवार २५ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराउने आश्वासन दिएको छ । पीडित परिवारले राहत नपाउँदासम्म शव नबुझ्ने अडान लिएका छन् । स्थानीयले पनि दुर्घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् । 

रोल्पाका प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले घटनाबारे अनुसन्धान गरिनुपर्ने बताए । ‘पुल बनाउने क्रममा साइड इन्जिनियर खटाउनुपर्ने हो, असावधानीबारे अनुसन्धान गर्ने खालको घटना देखिन्छ,’ उनले भने । घटनास्थल जिल्ला सदरमुकाम लिवाङबाट करिब ४० किलोमिटर उत्तरपूर्वमा पर्छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully