खेतमा थुप्रिएको ढुंगामाटो हटाउने र साँधसीमा कसरी छुट्याउने भन्ने चिन्तामा किसान
काभ्रे — भाडामा लिएको २ रोपनीमा जंगबहादुर तामाङले भदौ दोस्रो साता आलु रोपेका थिए । बेथानचोक गाउँपालिका–३ स्थित उक्त फाँटमा मलजल, गोडमेल पनि राम्रै गरेका थिए । यसवर्ष ३० बोरासम्म आलु उत्पादन हुने उनको अनुमान थियो । तर असोज दोस्रो साताको बाढीपहिरोबाट बाली जोगाउन सकेनन् ।
मुस्किलले एक बोरा आलु निकाल्न सकिएको उनले बताए । ‘खेत नभएर बगर जस्तो भएको छ, पूरै पुरिएर अलि–अलि मात्रै बोट देखिएको थियो,’ उनले भने, ‘लगानी पनि उठाउन सकिएन । अब जग्गाधनीलाई कसरी भाडा बुझाउने ?’ ४२ वर्षीय जंगबहादुरले एक वर्षदेखि वार्षिक ५० हजार रुपैयाँमा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका थिए ।
भाडाकै जग्गामा ५ वर्षयता तरकारी खेती गर्दै आएका नयाँगाउँका ५८ वर्षीय मानबहादुर तामाङलाई पनि उस्तै तनाव छ । ‘७ बोरा आलु रोपेर ७०/८० बोरा निकालिन्थ्यो । डेढ/दुई लाख आम्दानी हुन्थ्यो । बाढीले ल्याएका ढुंगाले बारी पुरिएकाले मुस्किलले ५ बोरा मात्रै आलु निकाल्न सके,’ उनले भने ।
पट्ने खोलाको बगर छेउको फाँटमा ढुंगामाटोको ढिस्को थुप्रेको देखिन्छ । करिब ३ सय मिटरमाथिबाट ढुंगामाटोसहित आएको पहिरो र करिब ७/८ फिट माथि पट्ने खोलाबाट हिलोसहित आएको बाढीले खेतीयोग्य जमिन अहिले सानो पहाडझैं देखिन्छ । ‘जग्गाको साँधसिमाना भेटिँदैन । फाँटमा थुप्रिएको ढुंगामाटोलाई कसरी हटाउने र साँधसीमा छुट्याउने पनि तनावै छ,’ मानबहादुरले भने ।
सधैंजसो तरकारीले हरियो देखिने बेथानचोक–३ स्थित फाँट यसपालि बाढीले बगर बनेको छ । आलु, बन्दा, काउली, धनियाँ, मूलालगायत तरकारी खेतैभरि फलेका हुन्थे । मौसमी र बेमौसमी तरकारी खेती हुन्थ्यो । अहिले ढुंगाबालुवाले पुरिएको छ । स्थानीय धनमाई तिमल्सिनाले त्यहीं फाँटमा भदौ दोस्रो साता मात्रै ११ बोरा आलु, ४ प्याकेट धनियाँ र मूला रोपेकी थिइन् । यो सिजनमा ६ लाखसम्म आम्दानी हुने उनको अनुमान बाढीपहिरोले बगाइसकेको छ ।
‘जमानादेखि नै यो ठाउँको माटो राम्रो भनेर कहलिएको थियो, तरकारी निकै राम्रो हुन्थ्यो, आम्दानी पनि ठिकै थियो,’ उनले भनिन्, ‘तरकारीबाटै वर्षमा १० लाखसम्म कमाइ हुन्थ्यो, बालबच्चा पढाउन पनि सजिलो भएको थियो ।’ जग्गाको साँधसिमाना कसरी छुट्याउने भन्ने अन्योल रहेको उनले बताइन् । ‘जग्गा मर्मत गर्न पनि लाखौं लाग्ने जस्तो छ । यस्तोमा कसरी बाली लगाउने ?’ उनले भनिन् ।
आलुको खेतीमा केन्द्रित यहाँका किसानले भदौ र माघमा गरी दुई सिजनमा खेती गर्दै आएका थिए । यसबाहेक मूला, काउली, धनियाँ, काक्रोलगायत अन्य तरकारी पनि लगाउँछन् ।
कृृषि र पशुमा आत्मनिर्भर बेथानचोक गाउँपालिकाबाट गत असोजको बाढीपहिरोअघि दैनिक ५ देखि ६ हजार किलो तरकारी र २२ हजार लिटर दूध बिक्री हुँदै आएको पालिकाको कृषि तथा पशुपन्छी शाखाले जनाएको छ । शाखाका अनुसार असोज दोस्रो सातापछि भने करिब २ हजार किलो तरकारी र १८ हजार लिटर दूधमात्रै निर्यात हुँदै आएको छ ।
पालिकाभर करिब ४२ सय कृषक घरधुरी रहेकोमा विपद्बाट १९ सय २६ कृषक पूर्णरूपमा प्रभावित भएको शाखाले जनाएको छ । पालिकाको कुल कृषियोग्य ३३ सय ४४ हेक्टर क्षेत्रफल जमिनमध्ये ९ सय हेक्टर क्षेत्रफलमा क्षति पुगेको शाखाको विवरण छ । वडा–४, २ र ३ नम्बरमा धेरै क्षति पुगेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए ।
‘खेतीयोग्य जमिन बगर बनेका छन् । कृषिलाई लयमा कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे गाउँपालिकाले विशेष गाउँसभाबाट सम्बोधन गर्नेछ ।’
भित्र्याउने बेलाको बाली बाढीले क्षति पुर्याएपछि पनौती नगरपालिका–१२ रोशीस्थित भूमिडाँडाकी कान्छी रसाइलीलाई अन्नको जोहो गर्ने चिन्ता छ । ‘८ रोपनी धान, आलु, मकै, तोरी, फापर लगाएकी थिए,’ उनले भनिन्, ‘एक गेडा धान भित्र्याउन पाइएन, आलु, मकै, केही निकाल्नै पाइएन, वर्ष दिन कसरी धान्ने हो ?, अर्को बाली लगाउँ भने पनि ठाउँ छैन, खेत बिग्रेर बनाउनै नसक्ने भएको छ ।’
तरकारी तथा दूध उत्पादनमा आत्मनिर्भर पनौती नगरपालिकामा ९ हजार ३ सय ८३ घरधुरी कृषिमा आश्रित छन् । बाढीपहिरोले पनौतीका ३४ सय ८७ कृषक प्रभावित भएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । शाखाका अनुसार पालिकाको कृषियोग्य क्षेत्रफलमध्ये ५८१ हेक्टरमा बाढीपहिरोबाट क्षति पुगेको छ ।
पनौती–१२, १, २ र ११ मा धेरै कृषक प्रभावित भएका छन् । रोशी गाउँपालिकाको कृषियोग्य २२ सय ५ हेक्टर क्षेत्रफलमध्ये ६०१ हेक्टरमा बाढीपहिरोले क्षति पुगेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय काभ्रेका अनुसार बाढीपहिरोबाट जिल्लाका १३ पालिकाका ८ हजार ९७२ घरधुरीका कृषक प्रभावित भएको अनुमान छ । त्यस्तै, जिल्लाभर २ हजार ५१२ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै, तरकारीलगायत बालीमा क्षति भएको कार्यालयको विवरण छ ।
बाढीपहिरोले क्षति पुर्याएको खेतीयोग्य जमिन सुधार गर्न केही समय लाग्न सक्ने जिल्ला कृषि विकास कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए । उनले माटो बिग्रिएको ठाउँमा कोसेबाली लगाउन सकिने र बलौटे माटो भएको जग्गामा खरबुजा, तरबुजालगायत खेती गर्न सकिने बताए ।
