लगानी बोर्ड बैठक : बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत

मंसिर १३, २०८१

कान्तिपुर संवाददाता

Investment Board Meeting: Investment of various hydropower projects including Budhigandaki approved

काठमाडौँ — लगानी बोर्डको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा सम्पन्न बैठकले ३ सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् परियोजनाका लागि  ७० अर्ब, १ सय ६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र २ सय १० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि  ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृतिको निर्णय गरेको हो । 

यसैगरी बैठकले ३ सय २७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनी  प्रालिको  म्याद थप गरेको छ भने पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७ सय ५० मेगावाटबाट बढाएर आठ सय मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ । साथै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधनको निर्णय पनि गरिएको छ । 

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी मुलुकमा लगानीको उचित वातावरणा सिर्जना गर्न र समृद्धिको यात्रामा तदारुकताका साथ काम गर्न आग्रह गरे ।

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यसअघिको असोज २२ गतेको निर्णयका आधारमा बोर्डको रणनीतिक तथा व्यावसायिक योजनाको मस्यौदा तयार गरी सरोकार भएका पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

कान्तिपुर

Link copied successfully