नेताहरू भन्छन् : 'राजनीतिमा महिलाको क्षमतालाई लिएर शंका गर्ने चलन कायम छ'

मंसिर १२, २०८१

कान्तिपुर संवाददाता

Leaders say: 'There is a trend of doubting the ability of women in politics'.

काठमाडौँ — विभिन्न राजनीतिक दलका महिला नेताहरूले महिलाको क्षमतालाई लिएर अझैं प्रश्न उठिरहने गरेको बताएका छन् । मिडिया एडभोकेसी ग्रुपले बुधबार ललितपुरमा आयोजना गरेको 'राजनीतिमा महिला हिंसा' विषयक 'म बोल्छु' कार्यक्रममा कांग्रेस, एमाले र माओवादीका महिला नेताले आफ्नो अनुभव साझा गर्ने क्रममा महिलालाई दिइने जिम्मेवारीमा शंका गरिने बताएका हुन् ।

पुर्व सभामुख एंव माओवादी नेता ओन्सारी घर्ती मगरले महिलालाई जिम्मेवारीबाट टाढा राखिने र दिइए पनि 'सह' मा सीमित हुने बताइन् । 'महिलालाई सकेसम्म जिम्मा दिइदैन । दिइए पनि सहको जिम्मा दिइन्छ,' उनले भनिन्, 'मुख्य जिम्मा दिइदा पनि सक्छन् त? भनेर शंका गर्छन् ।' आफैं सभामुख हुँदा पनि बहालवाला मन्त्रीहरूले संसद् कसरी संचालन गर्छ भनेर अविश्वास गरेको अनुभव समेत सुनाइन् । 

संविधानसभा सदस्य एंव एमाले नेता विन्दा पाण्डेले राजनीतिमा महिलाको क्षमतालाई लिएर अझै प्रश्न गरिने गरेको बताइन् । 'अहिले पनि महिलामाथि उठ्ने प्रश्न नै सक्छन् र भन्ने हो,' पाण्डे भन्छिन्, 'नेपालकाे राजनीतिलाई कसरी महिलाकरण गर्न सकिन्छ भन्ने चुनौती छ ।'

यस विषयलाई सबै राजनीतिक दलले साझा विषय बनाएर काम गर्नुपर्ने आवश्यक रहेको उनले बताइन् । यसैगरी राजनीतिक दलभन्दा पनि साझा मुद्दा बनाएर गरेकाे काममा उपलब्धि हासिल गरेको उनले सुनाइन् । 

कांग्रेस नेता किरण यादवले महिलाको हकहितका लागि लडिरहने महिलाले समेत हिंसा भोगेको बताइन् । 'राजनितीमा लागेका महिलाले विभिन्न खालको दुर्व्यवहार र हिंसा भोगिरहेका छन्,' उनले भनिन्,उ 'महिलाको हकहितका लागि लडिरहेका महिलाले पनि कही न कहीबाट पीडित भएका हुन्छौं ।' महिलाको हकहितकाे लागि लडेर राजनीति गर्दै आजको अवस्थासम्म आईपुगे पनि चुनाैती रहेको उनले सुनाइन् । 

'महिललाई काम गर्दै जाँदा राजनीतिक रूपमा चुनौती छ,' उनले थप भनिन्, 'क्षमता भएको महिलाहरूलाई दलले निर्वाचनमा प्रत्यक्षबाट जित्दैनन् भनी टिकट दिदैनन् ।' टेवाकी संस्थापक अध्यक्ष रीता थापाले प्रणालीगत रूपमा देखिएको हिंसालाई चिर्न गाह्रो भएको उल्लेख गरिन् । उनी भन्छिन्, 'त्यसैले समतामूलक, स्वाभिमानी र सशक्त विकासको आवश्यकता छ ।'

कान्तिपुर

Link copied successfully