काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै 'यो सरकार ढल्दैन' भनेर भाषण गर्ने रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा महासचिव चन्दले प्रधानमन्त्रीले काम गर्नुपर्नेमा आफू नेतृत्वको सरकार ढल्दैन भन्दै भाषण गर्नुपर्ने अवस्था आएको बताए । सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली 'यो सरकार ढल्दैन' भनेर भाषण गर्नमा केन्द्रित हुनुपरेको चन्दको भनाइ थियो ।
सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको चन्दको भनाइ थियो । ‘हरेक वर्ष सरकार फेरिने । यो सरकार पनि के हुन्छ भन्ने कुरा निश्चित छैन भन्ने कुरा सुनिरहन्छौं । सरकारले कहिले काम गर्ने हो ? प्रचण्ड कमरेड प्रधानमन्त्री हुँदा पनि दिनदिनै उहाँको कुरा के थियो 'सरकार ढल्दैन है' भन्दै भाषण गर्ने । आजकाल केपीजी हुनु भएको छ, केपीजीको पनि कामै के छ भन्दाखेरी जम्माजम्मी यो सरकार ढल्दैन भन्ने,' चन्दले भने, 'जनतालाई के लागेको छ भने यो सरकार राति ढल्नसक्छ, यो रातको १२ बजे ढल्न सक्छ, यो बिहानै उछिट्टिन सक्छ, अथवा देशलाई भ्रष्टाचारीहरूले कब्जा गर्न सक्छन् । यो लागिरहन्छ । देशको विकास कहिले गर्ने हो ? जनता सन्तुष्ट छैनन् ।’
महासचिव चन्दले आफ्नो पार्टीमाथि दमन गर्ने नीति लिए त्यसको कडा ढंगले प्रतिवाद गर्ने चेतावनीसमेत दिएका छन् । सुशासनको अभाव र भ्रष्टहरूले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको उनको भनाइ थियो ।
महासचिव चन्दले आफ्ना पार्टीका जेलमा रहेका नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरे ।
