चीन भ्रमणको आलोचना गर्नेप्रति ओली आक्रोशित

पहिले कता जानुपर्ने ? कता गयो । अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ? धर्मशास्त्रमा लेखा छ कि ? संविधानमा लेख्या छ कि ? कानुनमा लेख्या छ कि ? संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि ? कहाँचाहिँ बडा परिपक्वता भेटाउनुहुन्छ ? यी वाहियात, कायर कुरा हुन्  : केपी शर्मा ओली, प्रधानमन्त्री 

मंसिर ८, २०८१

कान्तिपुर संवाददाता

Oli is angry about criticizing the visit to China

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि हुन लागेको आफ्नो चीन भ्रमणसम्बन्धी टिप्पणीमा असन्तुष्टि जनाएका छन् । शुक्रबार राजधानीको दरबारमार्गमा एमालेले गरेको ‘जागरण सभा’ मा चीन भ्रमणको विषयमा आलोचना गर्नेलाई ओलीले ‘वाहियात र कायर’ भएको टिप्पणी गरेका हुन् । 

प्रधानमन्त्री ओली आफ्नो पहिलो औपचारिक विदेश भ्रमणको रूपमा चीन जान लागेका छन् । धेरैजसो नेपाली प्रधानमन्त्रीले भारतबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेको विगत भएकाले अहिले ओलीले गर्न लागेको चीन भ्रमणको विषयमा टीकाटिप्पणी भएको हो । सभामा ओलीले नेपालका प्रधानमन्त्रीले कुन देशको भ्रमण गर्ने भन्ने कुनै नीति नभएको उल्लेख गर्दै भ्रमणको विषयमा भएका टिप्पणीप्रति असन्तुष्टि जनाए ।

‘कतिले के के न व्यवसाय भेट्टाएजस्तो गरेर पहिले कता जानुपर्ने ? कता गयो । अपरिपक्व भयो । कस्तो हुन्छ परिपक्व भन्या ?’ उनको भनाइ थियो, ‘धर्मशास्त्रमा लेख्या छ कि ? संविधानमा लेख्या छ कि ? कानुनमा लेख्या छ कि ? संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि ? कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुहुन्छ ? यी वाहियात, कायर कुरा हुन् ।’ 

छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न केन्द्रित हुने उल्लेख गर्दै उनले आफ्नो चीन भ्रमण सफल हुने दाबीसमेत गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ बैंकबाट लिएको ऋण मिनाहाको चर्चा चलिरहेका बेला सरकारले सकेसम्म कतैको ऋण लिन नचाहेको ओलीले बताए । सबैको राय र सुझावका आधारमा संविधान संशोधन गरिने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले सरकार २०८४ को निर्वाचनसम्म टिक्ने दोहोर्‍याउँदै कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी भए पनि लोकतन्त्र र संविधानमाथि षड्यन्त्र हुन थालेकाले सहकार्य गरेको तर्क गरे । ‘सरकार बन्दै बन्दैन भनिन्थ्यो, बन्यो । विश्वासको मत पाउँदैन भनियो, त्यो पनि पायो । दसैं देख्दैन भनियो, मनायो । मंसिर देख्दैन, त्यो पनि कट्यो । भाका राख्दै छन् फागुन,’ उनले भने, ‘फागुन होइन ०८४ मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ ।’ आफ्नो कार्यकाल २०८३ असारसम्म र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा २०८४ को आम निर्वाचनसम्म प्रधानमन्त्री हुने उनले बताए ।

मुलुकको अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको भन्दै ओलीले आपत्ति जनाएका छन् । उनले यसबारे तथ्यसहित बहस गर्न चुनौती दिए । ‘भन्दिए त भयो नि, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्विस बैंकमा यत्ति हजार ? तपाईंहरू त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउन यस्ता कुराहरू भएका हुन्,’ उनले भने । 

ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै समाजमा भ्रम फैलाएको बताए । ‘बैंकको ऋण तिर्नुपर्दैन भनेर कोही कराएर हिँड्छन् । बैंकको ऋण लिएपछि तिर्नु पर्दैन ?’ उनले भने, ‘उद्यमी, व्यवसायी, मारवाडीलाई खेद्न अभियान चल्छ ? 

यो केका लागि ? साम्प्रदायिक विद्वेष मच्चाउने, अर्थतन्त्र ध्वस्त पार्ने यस प्रयासका लागि ।’ प्रमुख प्रतिपक्ष दल माओवादीलाई संकेत गर्दै तथ्यका आधारमा बहस गर्न तयार रहेको उनले बताए । ‘कसले अकुत सम्पत्ति थुपारेर आज अर्बौंका मालिक कसले बनाएको छ ? बहस गर्न हामी तयार छौं,’ उनले भने । 

विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङप्रति संकेत गर्दै ओलीले विद्युत् महसुल उठाउन नसकेर लाइन काटेर उद्योग बन्द गराउने कार्य गरेको आरोप लगाए । ‘बक्यौता नउठाउने अनि विद्युत्का लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ, बक्यौता उठाऊ । विद्युत् आयोगले जे भनिरहेको छ टीओडी बिलअनुसार पैसा असुल गर,’ ओलीको भनाइ थियो, ‘लाल आयोगको प्रतिवेदन कार्यानन्वयन गरेर विद्युत् महसुल उठाऊ । त्यो नगर्ने ? देशका उद्योग बन्द गरिदिने ? मजदुर बेरोजगार गरिदिने । निर्यात बन्द गरिदिने । यस प्रकार षड्यन्त्र भइराख्या छन् ।’

ओलीले ठग र अपराधमा संलग्नहरूलाई कारबाही गरेरै छाड्ने बताए । सहकारी ठगीमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको उनले दृष्टान्त दिए । ‘कुनै पनि खालको अपराध, अराजकताहरू जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । यहाँ त उल्टै सहकारीमा ठगेको कति–कति प्रमाणहरू छन् । आफैं सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने ?’ उनले भने, ‘कुनै पनि प्रकारको भ्रष्टाचार सह्य हुने छैन । कुनै पनि प्रकारको ठगी सह्य हुने छैन । कुनै पनि प्रकारको मानव तस्करी सह्य हुने छैन ।’

सभामा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक नबनेको बताए । ‘बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री बेहोरिसकेका छौं । एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्न पाउँदैन,’ उनले भने ।

सत्तारूढ दलको प्रदर्शनले सर्वसाधारणलाई सास्ती

सत्तारूढ दल एमालेले सडकमा शक्ति प्रदर्शन गर्दा राजधानीका सर्वसाधारणले सास्ती भोगेका छन् । प्रदर्शनका कारण शुक्रबार दिउँसो ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । जामका कारण विद्यालयबाट घर फर्किरहेका बालबालिकालगायत सर्वसाधारण सास्ती पाएका थिए ।

एमालेले ‘अराजकताविरुद्ध गरेको जागरण सभाले सडकमा अर्को अराजकता उत्पन्न गरेको’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले टिप्पणी गरे । ‘सडकमा प्रदर्शन गर्नु सत्ताको चरम दुरुपयोग हो । सरकारले कामले जनताको चित्त बुझाउने हो,’ उनले भने, ‘सडक प्रतिपक्षको हो । प्रश्न सरकारसँग गरिन्छ । सरकारले प्रश्नको जवाफ दिने हो । अहिले जे गरियो, योभन्दा हास्यास्पद अरू हुन सक्दैन ।’ 

शिक्षाविद् केदारभक्त माथेमाले राजनीतिक दलहरूले शक्ति प्रदर्शनका नाममा सर्वसाधारणलाई दुःख दिनु गलत भएको बताए । यसले दलहरूप्रति नकारात्मक भावना उत्पन्न भएको उनको भनाइ छ । ‘प्रदर्शन गर्ने दलहरूको अधिकार भए पनि सडक प्रदर्शनले जनताले ठूलो दुःख पाउँछन् भन्ने बुझ्दैनन्,’ उनले भने, ‘स–साना बालबालिकाहरू स्कुलबाट घर फर्केने बेला दुःख पाउँछन् भन्ने विषयमा संवेदनशील हुनुपर्थ्यो ।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सर्वसाधारणलाई सकेसम्म कम सास्ती हुने गरी सभा गरेको दाबी गरे । ‘सरकार र एमालेविरुद्धको भ्रम चिर्न सभा आयोजना गरिएको हो,’ उनले भने, ‘लोकतन्त्रमा आलोचना गर्न पाइन्छ । रचनात्मक र सकारात्मक आलोचना स्विकार्छौं । सर्वसाधारणलाई कम दुःख होस् भनेर दरबारमार्गमा सभा राखिएको हो ।’

महानगरद्वारा एक लाख जरिवाना

जागरण सभाका क्रममा सडकमा फोहोरमैला गरेको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ । एमालेले शुक्रबार काठमाडौं उपत्यकास्तरीय प्रदर्शन तथा दरबारमार्गमा जागरण सभा सकेलगत्तै वातावरण प्रदूषण गरेको भन्दै महानगरले जरिवाना रकम तोकेर पत्राचार गरेको हो । 

महानगर प्रहरीका निरीक्षक लीलाराज गाछाले हस्ताक्षर गरेर एमाले केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमा भनिएको छ, ‘मंसिर ७ गते काठमाडौं महानगरपालिका–१, दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम १ लाख रुपैयाँ जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’ 

महानगरपालिकाले फोहोरमैला व्यवस्थापनसम्बन्धी ऐनविपरीत कार्य गर्नेहरूलाई यसअघि पनि जरिवाना गर्दै आएको छ । ‘महानगरपालिकाले कानुनबमोजिम सर्वसाधारणलाई पनि यसअघि नै यही रकम बराबर कारबाही गरेको छ । अस्पताल र अन्य व्यापारिक प्रतिष्ठानहरूलाई पनि कारबाही गरेको छ । त्यहीअनुसार कानुनको कार्यान्वयन गर्ने हेतुले एमालेलाई पनि जरिवाना गरिएको हो,’ महानगरका एक कर्मचारीले भने । फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार आफ्नो क्षेत्रभित्रको फोहोरमैला व्यवस्थापन र प्रदूषण नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई उक्त ऐनको दफा ३९ ले सार्वजनिक स्थानमा फोहोरमैला गर्नेलाई ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

कान्तिपुर

Link copied successfully