चीन भ्रमणबारे आलोचना गर्नेमाथि प्रधानमन्त्री ओलीको टिप्पणी- 'वाहियात, कायर'

पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ? संविधानमा लेखेको छ कि ? संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ ?

मंसिर ७, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli's comment on criticizing the visit to China - 'Wow, coward'

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै त्यस्तालाई 'वाहियात' र 'कायर' को संज्ञा दिएका छन् ।

उनले काठमाडौंको दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै  पहिले कहाँ जानुपर्‍थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गरेका छन् ।  

'कतिले के-के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन् । कस्तो हुन्छ परिपक्व भनेको ? पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ?  संविधानमा लेखेको छ कि ? संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ ? कहाँ चाहि परिपक्वता भेट्नुभयो ?' प्रधानमन्त्री ओलीले भने,' यी वाहियात र कायर कुरा हुन् । हामी सबै छिमेकीहरूलाई पारस्परिक लाभ र समान सम्बन्धहरू । पारिस्परिक सम्मानका आधारमा व्यवहार गर्छौं  र सम्बन्ध राख्छौं ।'

गत साता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय पत्रिका हिन्दूलाई अन्तर्वार्ता दिँदै चाइना कार्ड खेल्नका लागि ओली भारत नगइ चीन भ्रमणमा जान लागेको बताएका थिए । त्यसको एमालेले कडा शब्दमा विज्ञप्ति मार्फत् पनि खण्डन गरेको थियो ।  

प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई अत्यन्तै सन्तुलित सम्बन्धको रूपमा अघि बढाउने प्रतिबद्धता जनाए ।

'हाम्रो भौगोलिक अखण्डताको रक्षा गर्दै हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई रक्षा गर्दै राष्ट्रिय हितको रक्षा गर्दै छिमे सम्बन्धलाई अझै सुदृढ बनाउँछौं' उनले भने,'हाम्रो कसैप्रति वैरभाव छैन । छैन कोही शत्रु ।'

उनले १७ गतेबाट हुने आफ्नो भ्रमण सफल हुने बताए । 'म चीनबाट फर्केपछि कसरी सफल भयो भन्न म आफैँ भन्नेछु। चीन यसै घुमेर आउँ भनेर जान लागेको होइन'  प्रधानमन्त्री ओलीले भने ।

कान्तिपुर

Link copied successfully