उपचुनावको परिणामले पार्टी उकालो लाग्दै छ कि छैन भन्ने संकेत गर्छ : दाहाल

‘चुनावमा कांग्रेस, एमालेसँग कुनै हालतमा तालमेल नगर्ने ‘ब्ल्याक एन्ड हृवाइट’ निर्णय गरिएको छ,’ उनले भने,‘एक्लै भिड्दा असली पहिचान र ताकत देखिन्छ’

मंसिर ६, २०८१

हरिराम उप्रेती

By-election results indicate whether party is on the rise: Dahal

गोरखा — नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उपचुनावको परिणामले आफ्नो पार्टी उकालो लाग्दै छ कि छैन भनेर संकेत गर्ने बताएका छन् । 

बिहीबार पार्टी कार्यालय पाटेचौरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपचुनावको लक्षण राम्रो देखिएको र परिणाम राम्रै आउने आशा गरेको बताए । ‘उपचुनावको परिणामले हामी उकालो लाग्दै छौं कि छैन भन्ने संकेत गर्छ,’ उनले भने,‘यद्यपि यो चाहिँ सबै होइन है फेरि, हारियो भने बर्बाद भयो भन्ने कुरा त छैन, तर लक्षण राम्रो छ ।’ 

रुकुम पूर्वको १ वडामा निर्विरोध विजयीले उत्साह थपेको उनले बताए । ‘यो पनि हाम्रो लागि प्लस नै भएको छ, गोरखा–५ को निर्वाचन जितियो भने गण्डकी प्रदेशलाई पुग्छ, देशैभरि देखिन्छ, बल गर्दा संभावना बढ्दो छ भन्ने देखिएको छ,’ उनले भने । चुनावमा कांग्रेस, एमालेसँग कुनै हालतमा तालमेल नगर्ने ‘ब्ल्याक एन्ड हृवाइट’ निर्णय गरिएको पनि उनले कार्यकर्ता प्रशिक्षणमा बताए । ‘खाली अर्काको खुट्टामा टेक्दा माओवादीको पहिचान हरायो, हामी एक्लै भिड्ने हो,’ उनले भने,‘एक्लै भिड्दा असली पहिचान र ताकत देखिन्छ ।’ 

विपक्षी दलको नेता भएकाले विपक्षीहरुलाई पनि संरक्षण गर्ने जिम्मेवारी रहेको उनले बताए । कीर्तिपुरको मेयरमा समाजवादी मोर्चामा भएका विप्लव, उपेन्द्र यादव र एकीकृत समाजवादीको पनि समर्थन प्राप्त भएको उनले बताए । ‘हाम्रो भित्र पनि राम्रो एकता देखापरेको छ, त्यसबाट पनि आशावादी भएका छौं,’ उनले भने,‘राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तिममा सकारात्मक नै गर्ला कि भन्ने आशा गरिएको छ, लगातार छलफल पनि भइरहेको छ ।’

पुस २ गते केन्द्रीय समिति बैठक राखिएको तथा देशैभर खबरदारी सभा गर्ने पनि उनले बताए । ‘फागुनपछि शक्तिशाली आन्दोलन काठमाडौं केन्द्रित गर्नुपर्ने पनि हुन सक्छ, बाहिर भएको सभाले फेरि शासकलाई छुने गरेको छैन, काठमाडौं केन्द्रित गरेर अस्तव्यस्त बनाएपछि मात्रै राजनीतिक परिवर्तन विगतमा पनि संभव हुने गरेको छ,’ उनले भने । 

१८ महिना आफू प्रधानमन्त्री हुँदा एउटा रेकर्ड बनेको दाहालको दाबी छ । बहुमत दियो भने धेरै पो गर्छ कि भन्ने जनतामा परेको उनले बताए । ‘यसलाई बचाऔं, गोरखाले हिजो युद्ध र क्रान्तिमा पनि इतिहास बनायो, अब समाजवादी आन्दोलनका लागि उत्पादनको निमित्त संघर्ष र सांस्कृतिक रुपमा रुपान्तरणको कार्ययोजनालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully