'जनजागरण सभा' नाम दिएको प्रदर्शनमा १ लाख सहभागी हुने एमालेको आंकलन
काठमाडौँ — सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै आउँदो शुक्रबार काठमाडौंमा जुलुस प्रदर्शनसहितको सभा गर्ने भएको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नै उक्त सभाको प्रमुख वक्ता हुनेछन् ।
शान्ति सुरक्षा र सबै खालका अराजकता र सुशासन समेत कायम गर्ने राज्यको जिम्मेवारी बोकेको दल नै सडक प्रदर्शनमा उत्रिन लागेको भन्दै केहीले आलोचना गरिरहेका बेला एमालेले भने अलोकतान्त्रिक शक्तिहरू संगठित हुन नदिनका लागि समेत सभा गर्न लागिएको बताएको छ ।
एमाले वाग्मती प्रदेश कमिटीको आयोजनामा दरबारमार्गमा हुने सभामा करिब १ लाख कार्यकर्ता आउने अपेक्षा गरेको इन्चार्ज राजन भट्टराईले जानकारी दिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्रसँगै नजाने उल्लेख गर्दै अराजकताविरुद्ध सडकमा जनजागरण कार्यक्रम गर्न लागेको उल्लेख गरे । शुक्रबार काठमाडौंमा एमालेले गर्न लागेको प्रदर्शनकोबारेमा बुधबार पत्रकारहरुसँग संवाद गर्दै उनले अराजकतालाई छोडिदियो भने अलोकतान्त्रिक शक्तिलाई संगठित हुने अवसर प्राप्त हुने बताए ।
उनले सरकारले काम गर्दा गर्दै धेरै सकारात्मक सूचकहरू देखिँदा देखिँदै सामाजिक मनोविज्ञान केही हुँदैन भन्नेतर्फ गइरहेकाले त्यसलाई त्यस्तो हैन भन्ने सन्देश दिन जरुरी रहेको उल्लेख गरे ।
'अराजकता र लोकतन्त्रसँगै जान सक्दैनन् । अराजकतालाई छोडिदियो भने अलोकतान्त्रिक शक्ति आउनसक्छ' उपमहासचिव ज्ञवालीले भने,'अराजकता हुँदै जाने अनि हामी पार्टीहरू चाहिँ चुप बस्ने हुँदैन ।'
उनले अब सरकारले स्थायित्व पाउने भयो र भावी चुनाव समेत दलहरू छुट्टाछुट्टै लड्ने भए भन्ने कारणले अस्थिरता चाहनेहरूमा छटपटी भइरहेको आरोप लगाए ।
उनले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दिइरहेका अभिव्यक्तिहरूप्रति आपत्ति जनाउँदै अराजकता सिर्जना गर्नमा उनको भूमिका रहेको संकेत गरे । 'प्रचण्डको अभिव्यक्ति खेदजनक छ । कहिले बंगलादेश बनाउने भन्ने, आफ्नै प्रदेश सांसदहरूले गरेको निर्णयविरूद्ध कोशीमा आन्दोलन गर्ने गरिराख्नुभएको छु,' उपमहासचिव ज्ञवालीले भने,'अस्ति हिन्दू (भारतीय पत्रिका) मा जे शब्द प्रयोग गर्नुभयो त्यो खेदजनक छ ।'
उनले सरकारले डेलिभरी दिने कुरामा केही समस्याहरू भए पनि भइरहेका कामहरूलाई पनि केही होइन भन्ने प्रवृत्ति बढेको बताए ।
बुधवारको पत्रकार संवादमा इन्चार्ज भट्टराईले पार्टीले भृकुटीमण्डपमा गर्ने तय गरिएको जागरण सभा ठाउँ सानो भएको जनाउँदै दरवारमार्गमा गर्ने निर्णय गरिएको जानकारी दिए । ‘पर्सीको हाम्रो कार्यक्रम सबै जम्मा भएर जुुलुस भद्रकालीबाट सुरु गर्छौं । सबै एकैठाउँमा जम्मा हुने स्थिति हुँदैन । अलि ठूलो जुलुस हुने स्थिति छ । संख्या पनि भन्नुभएको छ । हामीले आंकलन त झन्डै एक लाख पुर्याउने भन्ने छ । एमालेजतिको पार्टीले गरेपछि अलि ठूलै जनसंख्या उतार्नुपर्यो । उपत्यकाको ३ जिल्ला, हाम्रो यहाँ रहेका जनसंगठन, अनि हाम्रो सम्पर्क कमिटीसहितको उपस्थिति भएको हुनाले त्यति पुर्याउँछौं भन्ने छ । हाम्रो उल्लेख्य उपस्थितिसहितको जुलुस हुनेछ । जुलुस न्युरोड गेट, वीर अस्पताल हुँदै रत्नपार्क भएर त्रिचन्द्र क्याम्पस अगाडिबाट दरबारमार्गमा पुगेर हामी सभामा परिणत हुनेछौं ।'
जुुलुस र सहभागिताको आकारका आधारमा भृकुटीमण्डप सानो हुने भएकाले दरबारमार्गमा सारिएको जानकारी दिए ।
