नेपाल-भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रणमा मिलेर काम गर्ने सहमति

एपीएफ र एसएसबी प्रमुखको बैठक अबदेखि वर्षमा दुईपटक आलोपालो गर्ने सहमति

मंसिर ३, २०८१

मातृका दाहाल

Nepal-India border security meeting: Agreement to work together to control cross-border crime

काठमाडौँ — सीमा सुरक्षा र सीमा पार अपराध रोकथाम तथा नियन्त्रण गर्न ‘साझा संकल्प’सहित  नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ सम्पन्न भएको छ ।

नेपालका सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) र भारतीय सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक स्तरीय सीमा सुरक्षा समन्वय बैठक दुवै देश सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा मिलेर काम गर्ने प्रतिबद्धतासहित सोमबार आठौँ सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको हो ।

बैठकबाट अनुमोदन भएका ११ वटा साझा एजेण्डामा दुवै पक्षबाट संयुक्त हस्ताक्षर भएको हो । बैठकले सीमा सुरक्षा समन्वय बैठक वर्षमा एक पटक आलोपालो हुँदै आएकोमा अवदेखि वर्षमा दुई पटक आलोपालो गर्ने सहमति भएको छ । यसले सीमापार अपराध नियन्त्रण गर्न चालिएका कदमको समीक्षा र थप रणनीति बनाउन मद्दत पुग्ने दुवै पक्षका अधिकारीले बताएका छन् ।

तेस्रो देशका नागरिकको गैरकानुनी घुसपैठ, भन्सार छली/तस्करी, लागूऔषध ओसारपसार, सुन तस्करी, अवैध हातहतियार कारोबार, एक देशमा अपराध गरेर अर्को देशमा लुक्नेलगायत अपराधविरुद्ध जुध्न र दुवैतर्फ सीमा क्षेत्रमा बसोबार गर्ने नागरिकबीच सुमधुर सम्बन्ध कायम राख्न बैठकमा सहभागी दुवै तर्फका सुरक्षा अधिकारीहरूले प्रतिबद्धता जनाएका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादले सीमा सुरक्षा र सीमापार अपराध रोकथाम र नियन्त्रणलाई आ–आफ्ना तर्फबाट प्रभावकारी बनाउने प्रतिबद्धतासहित साझा एजेण्डामा संयुक्त हस्ताक्षर गरेका छन् ।

बैठकबाट अनुमोदन भएका एजेण्डा दुवै देशले आ–आफ्ना तर्फबाट कार्यान्वयनमा लैजानेछन् । त्यसका लागि एपीएफ र एसएसबी प्रमुखदेखि सीमा सुरक्षार्थ तैनाथ बोर्डर आउट पोष्ट (बीओपी) सम्मका संयन्त्रले आपसी सहकार्य र समन्वय गरेर अघि बढ्ने जनाइएको छ । बैठकमा एपीएफ र एसएसबी प्रमुखसहित दुवै देशका तर्फबाट गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, नापी विभागलगायतका अधिकारी सम्मिलित थिए । नेपाल–भारत सीमा लम्बाई करिब १ हजार ८ सय ८० किमी छ । नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबी सीमा सुरक्षामा तैनाथ हुने दुवै देशका प्रमुख सुरक्षा निकाय हुन् ।

नेपाल–भारत खुला सीमानाका कारण तेस्रो देशका नागरिकको अवैध प्रवेश नियन्त्रण मुख्य समस्या देखिँदै आएको छ । त्यस्तै भन्सार छली/तस्करी, लागूऔषध ओसारपसार पनि दुवै देशका लागि मुख्य समस्याका रुपमा देखिएको छ । भारतले तेस्रो देशबाट नेपाल भएर भारतमा सुन तस्करी हुने गरेको भन्दै यसको नियन्त्रणमा नेपाल पक्षको ध्यानाकर्षण गराएको थियो । नेपाली पक्षले भारतीय सीमा क्षेत्रमा खुलेका मेडिकल पसलबाट गिरोहले अवैध अ‍ेसारपसार गर्ने गरेको भन्दै यसको नियमनमा ध्यानाकर्षण गराएको थियो ।

काठमाडौंमा शनिबार सुरु आठौँ सीमा सुरक्षा समन्वय बैठकमा साझा एजेन्डाका रूपमा तय भएका ११ वटा बुँदा तय गरिएको थियो । सोही विषयगत रुपमा केही संसोधन गरी अनुमोदन गरिएको सहभागी एक अधिकारीले बताए ।

बैठक स्रोतका अनुसार आगामी दिनमा एपीएफ र एसएसबीले मानव तस्करी र लागूऔषध कारोबार रोक्न यससँग सम्वन्धित अन्तर्राष्ट्रिय दिवस दुवै पक्षले सीमा क्षेत्रमा संयुक्त रुपमा मनाउने र त्यसमार्फत जनचेतना फैलाउने सहमति भएको छ । सीमाबाट हुने तेस्रो देशका नागरिकको घुसपैठ नियन्त्रण र आवागमन गर्ने नेपाल–भारतका नागरिकलाई सहजीकरण गर्न सीमा क्षेत्रमा ‘इन्फरमेसन डेस्क’ स्थापना गर्ने पनि सहमति भएको छ ।

नेपालतर्फ सशस्त्र प्रहरीका २ सय ४४ स्थानमा सीमा सुरक्षार्थ बीओपी तैनाथ छन् । भारत तर्फ ४ सय बढी स्थानमा एसएसबीका युनिट छन् ।

सशस्त्र प्रहरीले भारतीय एसएसबीलाई विपदसम्बन्धी तालिम दिने छन् भने सीमा क्षेत्रमा आगलागी र पानीजन्य प्रकोपको व्यवस्थापन तथा खोजउद्धारका लागि दुवै पक्षले संयुक्त रुपमा काम गर्ने सहमति भएको छ । हाल भइरहेको संयुक्त सीमा गस्तीलाई बढाएर  काममा प्रभावकारीता बढाउने पनि सहमति भएको छ ।

२०७३ सालमा दिल्लीमा भएको तेस्रो बैठकले समन्वय बैठक वर्षको एक पटक, जिल्लास्तरीय ‘सीमा सुरक्षा गण’ तहमा दुई पटक र बोर्डर आउट पोस्ट (बीओपी) तहमा हरेक महिना बैठक गर्ने निर्णय गरेको थियो ।

अब वर्षमा दुई पटक नेतृत्व तहमै बैठक बसेर समीक्षा गर्दै थप रणनीति बनाउन दुवै पक्ष एक भएका हुन् । बैठकमा सहमति भएका विषयमा सोमबार संयुक्त हस्ताक्षर भएको हो ।

भारतले तालीमप्राप्त कुकुरसहितका सुरक्षाकर्मी सीमा क्षेत्रमा खटाउनलाई सशस्त्र प्रहरीलाई तालीम दिने छ । बैठकमा सीमा सुरक्षालाई प्रभावकारी बनाउन 'ज्वाइन्ट टास्क फोर्स' गठन गर्ने विषयले प्रवेश पाएपनि हस्ताक्षर भने हुन सकेन । ताप्लेजुङदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा छुट्याउने ८ हजार ५ सय ५३ सीमास्तम्भ छन् । यिनको रेखदेख, संरक्षण र हराएका सीमास्तम्भ खोजीमा पनि बैठकमा छलफल भएको छ ।

केही वर्षअघिसम्म भारततर्फ सीमा कायम गर्ने २ हजार ७ सय १६ वटा सीमास्तम्भ गायब भएको पाइएको थियो । तीमध्ये केही भेटिएर मर्मत गरिएको थियो । तर अझै अधिकांशको खोजबिन हुन सकेको छैन । करिब १६ सय सीमास्तम्भ जीर्ण र करिब २९ सय स्तम्भ सामान्य मर्मत गर्नुपर्ने अवस्थामा रहेका थिए ।

पछिल्लो पटक बिजोर अंकका स्तम्भ नेपाल र जोर अंक र ठूलो (जंगे) स्तम्भ भारतीय पक्षले मर्मत गर्ने सहमति भए पनि मर्मत कार्यले पूर्णता पाएको छैन । बैठकले सीमा सुरक्षालाई प्राभवकारी बनाउन र त्यसका लागि पिलर मर्मत र सुरक्षामा दुवै पक्षले सहकार्य गरेर अघि बढ्ने पनि हसमति भएको हो । 

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully