काठमाडौँ — नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) ले सीमा सुरक्षा प्रमुखस्तरीय द्विपक्षीय बैठक वर्षमा दुई पटक आलोपालो गर्ने प्रस्तावमा दुवै देशका सुरक्षा अधिकारी एकमत देखिएका छन् ।
सीमापार अपराध रोकथाम तथा नियन्त्रण र सीमा सुरक्षालाई चुस्त एवं प्रभावकारी बनाउन भन्दै दुवै पक्षले सुरक्षा प्रमुखस्तरीय बैठक अबदेखि एक वर्षमा दुई पटक गर्नुपर्नेमा दुवै पक्ष सहमत भएका हुन् । यस विषयमा सोमबार दुवै देशका अधिकारीबीच साझा सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी छ । दुई देशका सीमा सुरक्षा प्रमुखस्तरीय आठौं ‘सीमा सुरक्षा समन्वय बैठक’ शनिबारदेखि सशस्त्र प्रहरी प्रधान कार्यालयमा सुरु भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार दुवै देशका तर्फबाट बैठकमा छलफल गर्न ११ वटा साझा एजेण्डा तय गरिएको र आगामी दिनमा ती एजेण्डा कार्यान्वयन गर्नेमा दुवै पक्षले सहमति जनाएका हुन् । सोही एजेण्डाअन्तर्गत सुरक्षा प्रमुखस्तरीय बैठक वर्षमा एक पटक हुने गरेकोमा अबदेखि आलोपालो दुई पटक गर्ने भन्ने छ । त्यसमा दुवै पक्षका अधिकारीहरु एकमत देखिएका हुन् ।
नेपालका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको नेतृत्वमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका अधिकारी सहभागी छन् । त्यस्तै भारतीय सशस्त्र सीमा बलका महानिर्देशक (प्रमुख) अमृत मोहनप्रसादको नेतृत्वमा भारतीय गृह, परराष्ट्र नापीलगायत निकायका अधिकारी सहभागी छन् ।
गृह स्रोतका अनुसार बैठकमा छलफल भएका विषयलाई कार्यान्वयनमा लैजाने गरी सोमबार दुवै पक्षले साझापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ‘यसअघि नै दुवै देशका तर्फबाट तय भएका साझा एजेण्डामै दुवै पक्षका अधिकारीबाट आआफ्ना धारणा दिने काम भयो, दुवै पक्षबाट आएका कुराकानी सीमापार अपराध रोकथाम र नियन्त्रण तथा सीमा सुरक्षालाई चुस्त र प्रभावकारी बनाउनेमा एकमत छ,’ सहभागी एक अधिकारीले कान्तिपुरसँग भने, ‘यसलाई सोमबार अन्तिम रुप दिएर कार्यान्वयनका लागि लैजाने भन्ने छ ।’ तेस्रो देशका मानिसको घुसपैठ, भन्सार छली/तस्करी, लागूऔषध कारोबारलगायत विषयमा पनि गहन छलफल भएको सहभागी स्रोतको भनाइ छ ।
नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लम्बाइको खुला सीमाना छ । जसमा नेपाल सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई डेडिकेटेड फोर्सका रुपमा परिचालन गर्दै आएको छ । सीमा सुरक्षार्थ सशस्त्रका २ सय ४४ युनिट बोर्डर इलाकामा तैनाथ छन् । भारतले एसएसबीलाई नेपालतर्फ आफ्नो सीमा सुरक्षाका लागि खटाउँदै आएको छ । उसका ४ सयभन्दा बढी युनिट नेपाल तर्फको सीमानामा तैनाथ गराएको छ ।
बैठकमा दुवै पक्षले आतंकवाद, अवैध हातहतियार, लागूऔषध कारोबार भन्सार छली तथा तस्करी नियन्त्रणलगायतलाई प्रभावकारी बनाउन संयुक्त सीमा गस्तीदेखि तालिम र सूचना आदानप्रदानमा जोड दिएका छन् ।
