प्रधानमन्त्री ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ माओवादी अध्यक्ष दाहालको टिप्पणीप्रति एमालेको भर्त्सना

गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिँदै नेपाली जनतासँग माफी माग्न दाहाललाई आग्रह

मंसिर १, २०८१

कान्तिपुर संवाददाता

UML condemns Maoist Chairman Dahal's comment that Prime Minister Oli 'used China card'

काठमाडौँ — सत्तारुढ दल नेकपा एमालेले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय अखबार 'द हिन्दु' सँगको अन्तर्वार्तामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति गरेको टिप्पणीको भर्त्सना गरेको छ । 

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष दाहालले 'द हिन्दु'मा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड प्रयोग गरेको’ बताएका थिए । अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले मंसिर १७देखि गर्न लागेको पाँच दिने चीन भ्रमणको निर्णयलाई अपरिपक्व भनेका थिए । 

त्यसको प्रतिक्रियामा एमालेले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोप निराधार, गैरजिम्मेवारपूर्ण र नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्‍याउने कार्य भएको जनाएको हो । 

'यी कथनहरू कूटनीतिक प्रोटोकलको सरासर उल्लंघन हुन् र नेपालको स्वतन्त्रताको पूर्ण अवहेलना देखाउँछन् । सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले नेपाललाई आफ्नो कूटनीतिक संलग्नताका लागि कुनै बाह्य स्वीकृति आवश्यक पर्दैन,' एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्रीको चीन भ्रमणको निर्णय नेपालको स्वतन्त्र परराष्ट्र नीतिको प्रतिबिम्ब हो, झुटो दाबी गरिएको ‘कार्ड कूटनीति’ होइन ।' 

एमालेले नेपालका भारत र चीन दुवै नेपालको विकास र समृद्धिको हिस्सा भएको जनाउँदै दाहालको भनाइले नेपालले आफ्ना दुई छिमेकीसँग कायम राखेको सन्तुलनलाई कमजोर पार्ने जनाएको छ । 'यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँग नेपालले कायम राखेको बलियो र समान साझेदारीलाई खलल पार्ने खतरा  छ,' विज्ञप्तिमा उल्लेख छ । 

एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको र पूर्वप्रधानमन्त्री दाहालको भनाइ नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि पनि हानिकारक भएको जनाएको छ । साथै एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।

एमालेले राष्ट्रिय बहसमा रचनात्मक रूपमा संलग्न हुनुको सट्टा पूर्वप्रधानमन्त्री दाहालले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने आधारहीन आरोप लगाएको एमालेको दाबी छ । 'दाहालको भनाइले नेपालको सार्वभौमसत्ताप्रतिको घृणा र राष्ट्रको स्वाभिमानको मूल्यमा राजनीतिक चालबाजी गर्ने प्रवृत्ति झल्काउँछ,' महासेठद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रधानमन्त्री ओलीले सन्तुलित र व्यावहारिक परराष्ट्र नीति अवलम्बन गरेका र त्यसले नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दै भारत र चीन दुवैसँग आपसी सम्मान र सहयोगलाई बढावा दिएको एमालेको दाबी छ ।

'द हिन्दु' सँगको अन्तर्वार्तामा दाहालले नयाँ सरकारको नीतिका कारण नेपाल-भारत सम्बन्ध तनावग्रस्त भएको र फेरि सीमा समस्या चर्कने ‘खतरा’ रहेको बताएका  थिए । उनले आफ्नो १८ महिने कार्यकालमा नेपाल-भारत सम्बन्धलाई 'नयाँ उचाइमा' पुर्‍याएको दाबी गरेका थिए । 

दाहालले आफ्नो कार्यकालमा 'नेपाल-भारत' सम्बन्ध नयाँ उचाइमा पुगेको' र २०२३ जुनमा गरेको भारत भ्रमणका क्रममा भारतसँग धेरै महत्त्वपूर्ण तथा दूरगामी सम्झौता गरेको जनाएका थिए । तर आफ्नो नेतृत्वको सरकार हटाइएपछि नेपालमा भारतविरोधी कार्य भइरहेको दाबी गर्दै दाहालले त्यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण भएको दाबी गरेका थिए । 

नेपालको इतिहास, संस्कृति र भूगोलले दुई देशबीचको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने बताउँदै दाहालले प्रधानमन्त्री ओलीले  चीन जानुअघि भारतसँग नेपालको अद्वितीय सम्बन्धलाई स्वीकार गर्नुपर्ने बताएका थिए । दाहालले सार्कको समस्या समाधानका लागि भारतको प्रमुख भूमिका रहेको धारणा राखेका थिए । 

कान्तिपुर

Link copied successfully