काठमाडौँ — कान्तिपुर दैनिक तथा द काठमान्डु पोस्टका पुर्व प्रधान सम्पादक युवराज घिमिरेले लोकतन्त्रमा आमसञ्चार माध्यमले नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ–२०२४ अन्तर्गत 'कलम र शक्ति : नेपाली लोकतन्त्र र पत्रकारिताका तीन दशक' विषयक सत्रमा बोल्दै उनले लोकतन्त्रमा नेतृत्व जवाफदेही हुनुपर्ने बताए ।
उनले आमसञ्चार माध्यम सरकार र राज्यको प्रतिपक्षी नभएको बताए । ‘मिडिया एन्टी स्टेट होइन । हामी एन्टी गभरमेन्ट पनि होइनौं । सरकारसँग हाम्रो सहकार्य हुन्छ,’ उनले भने, ‘हाम्रो जिम्मेवारी के हो भने मिडिया सरकारको स्थायी प्रतिपक्षी हो । मिडियाले सरकारलाई जहिले जवाफदेही बनाउन खोज्छ ।’
उनले दरबार हत्याकाण्डको समयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको लेखलाई प्रकाशित गरेकोमा तत्कालीन शाही सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र कान्तिपुरका सम्पादकलाई प्रहरीले हिरासतमा लिएको स्मरण समेत गरे ।
‘दरबार हत्याकाण्डको लगत्तै विदेशबाट फर्किएको थिए । त्यतिबेला बाबुराम भट्टराईको आर्टिकल आईरहेको रहेछ । हामीले तीन/चार वटा कुराहरू हेर्नुपर्ने भयो । लेखिएको सबै कुराहरूसँग हाम्रो सहमति थिएन,’ उनले भने, ‘तर सम्पादक हुनु र एउटा संस्थाको कर्तव्य के हो भने मुलुकको इतिहासमा घटेको दुखद् घटनामा एउटा सशक्त आन्दोलनका तर्फबाट आएको आधिकारिक मन्तव्यलाई स्थान दिनु पनि थियो । तर यो चुनौती थियो । भोलिपल्ट प्रहरी अधिकारीहरूले हामीलाई स–सम्मान लाने भनियो र राज्यद्रोहमा मुद्दा चलाइयो ।’
त्यतिबेलाको आन्दोलनमा आएको कुरालाई आमसञ्चारले स्थान दिनुपर्ने भएकाले भट्टराईको आलेखलाई स्थान दिइएको उनले बताए ।
शाही शासन विरुद्ध प्रदर्शन गर्ने स्वरूप सञ्चार माध्यमका सम्पादकहरूले आफुलाई चित्त नबुझेको खण्डमा समाचारहरूमा खाली स्थान छाडने कदम चालिएको समेत उनको भनाइ छ ।
‘राजाको शासनकालमा सेना पठाइएको कुरा गर्दा त्यतिबेला म कान्तिपुरमा थिइनँ । हामीले समय म्यागजिन चलाएका थियौं,’ उनले भने, ‘सम्पादक साथीहरू बसेर छलफल गर्दा हामीले खाली ठाउँ राख्ने भनेर भन्यौं । मैले के गरे भने जहाँ चित्त बुझ्दैन एक/दुई ठाउँ स्पेस वा खाली गर्ने सेन्सरसिप गरे । त्यो एउटा प्रोटेस्टको रूपमा थियो ।’
उनले समाचार लेखेको विषयमा आलोचना र दबाबहरू भएपनि लेख्न छोड्न नहुने बताए । ‘मेरो विश्वासले मलाई जे गर भन्छ, म त्यही गर्छु र सामना गर्न तयार छु । त्यो बेला दलसँग जोडिएको बाहेक राष्ट्रिय तहमा एउटा म्यागजिन थियो,’ उनले भने, ‘हामीले आलोचनात्मक समाचारहरू लेखिराख्यौं । हामीलाई धम्की नआएको होइन । तर हामीले त्यसलाई डिफेन्ड गर्यौं ।’
