गोरखाको लामाचौरमा १ सय ३८ घरधुरीको बस्ती निर्माण अन्तिम चरणमा
गोरखा — भीमसेन थापा गाउँपालिका–५ बगुवाका बाबुराम श्रेष्ठले २०७२ वैशाख १२ को भूकम्पपछि झन्डै चार वर्ष त्रिपाल र अस्थायी टहरोमा बिताए । लामाचौरमा एकीकृत बस्तीमा घर बन्न थालेपछि झ्यालढोका नहाल्दै सरे । एकीकृत बस्तीमा सरेको पाँच वर्षको अन्तरालमा श्रेष्ठले नयाँ घरलाई फिनिसिङ र रंगरोगन गरेर सजाएका छन् ।
‘भदौ १४ मा यहाँ सरेको पाँच वर्ष लाग्यो, भूकम्पपछिका चार वर्ष त्रिपाल र टहरोमा बस्दाको अत्यासले झ्यालढोका नहाल्दै छाना छाइवरी सरेको हुँ,’ ७० वर्षीय श्रेष्ठ भन्छन्, ‘यहाँ सरेर झ्यालढोका र फिनिसिङको काम गरे । पहिरोको डर छैन, बस्न आनन्द छ ।’ बगुवास्थित लामाचौरमा भूकम्पपीडितकै सक्रियतामा २०७३ सालदेखि एकीकृत बस्ती निर्माण सुरु भएको थियो । एक सय ३८ घरधुरीको बस्ती निर्माणको अन्तिम चरणमा छ ।
भूकम्पपछि साविकको बगुवा–४ र ५ वडाका रिट्ठेपानी, धरमपानी, पाण्डे गाउँ र नयाँ गाउँको जमिनमा धाँजा फाँटेर बस्न अयोग्य भएपछि एकीकृत बस्ती निर्माण सुरु गरिएको थियो । ९ वर्षमा १ सय ३८ मध्ये ९३ घर निर्माण भएको भीमसेन थापा–५ का पूर्ववडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले बताए । ‘३५ घरको आधाआधी काम भएको छ, ५ घरको निर्माण सुरु भएको छैन,’ उनले भने, ‘समग्रमा ८५ प्रतिशत काम सकिएको छ ।’ निर्माण सम्पन्न भएलगत्तै स्थानीय नयाँ घरमा सरेको उनले बताए ।
‘तलका चार वटै टोल खाली भइसक्यो, गोठहरू तलै बस्तीमा छन्, घरधनी नयाँ घरमा सरिसक्नुभएको छ,’ उनले भने । नयाँ बस्तीबाट पुरानो गाउँ १० देखि १५ मिनेट पैदल यात्रामा पुगिन्छ । हाल ६१ घरधुरी स्थायी रूपमै एकीकृत बस्तीमा बसोबास गरिरहेको उनले बताए । केही घरका स्थानीय भने रोजगारीको सिलसिलामा चितवन, पोखरा, काठमाडौं छन् । बस्तीमा सामुदायिक भवन, खेल मैदान, सडक, ढल निर्माण गरी व्यवस्थित बनाइएको श्रेष्ठले बताए । ‘प्रत्येक घरअघि ढलान बाटो पुगेको छ, अन्य संरचना निर्माणमा सरकारबाट लगानी भएको हो,’ उनले भने ।
एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समिति गठन गरी बस्ती निर्माण सुरु गरिएको थियो । घर बनाउन भूकम्पपीडितका लागि आउने तीन लाख अनुदान तथा थप १ लाख ५० हजार सम्बन्धित धनीबाट संकलन गरिएको थियो । ‘४ लाख ५० हजारभित्र छाना छाउने गरी समितिले नै एकनासका घर निर्माण गरेको हो,’ वडाध्यक्ष श्रेष्ठले भने । फिनिसिङ भने सम्बन्धित घरधनीले गर्ने प्रावधान राखिएको छ । फिनिसिङमा घरधनीले ३ देखि ५ लाखसम्म खर्च गरेका छन् । ३० विपन्न परिवारका लागि भने एक गैरसरकारी संस्थाले घर निर्माण गरेको थियो ।
समितिकै अगुवाइमा लामाचौरको झन्डै १ सय ५ रोपनी जग्गा एकीकृत गरी प्रत्येक घरलाई ५ आना ३ पैसा ३ दामका दरले गोलाप्रथाद्वारा घडेरी उपलब्ध गराइएको थियो । पुरानो बस्ती धाँजा फाँटेर जोखिममा परेपछि गाउँलेकै छलफल र सक्रियतामा लामाचौरमा बस्ती निर्माण गरिएको श्रेष्ठले बताए । ‘तल पुरानो बस्तीको जमिन त अझै पनि भासिँदै गइरहेको छ,’ उनले भने, ‘त्यहाँ बस्न डरलाग्दो स्थिति नै छ ।’
भूगर्भविद्को अध्ययनबाट बस्ती बसोबासका लागि अयोग्य रहेको जानकारी पाएपछि स्थानीयले एकीकृत बस्ती निर्माण थालेका थिए । आगामी चैतसम्म बस्ती निर्माणलाई पूर्णता दिने एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समितिका अध्यक्ष सुकुमार श्रेष्ठले बताए । ‘८/१० वटा अधकल्चो घरको निर्माण दसैंअघि नै सक्ने योजनामा थियौं, ब्लक बनाउने मेसिन बिग्रिएर रोकिएको छ,’ उनले भने, ‘अब छिट्टै बस्ती निर्माणलाई पूर्णता दिँदै छौं ।’
बस्ती निर्माणमा आर्थिक अभाव पनि खड्किएको उनले बताए । ‘सरकारले दिने तीन लाखलाई आधार मानेर बस्ती निर्माण सुरु भएको हो, केही रकम उठ्न ढिलाइ पनि भयो, सरकारले घर निर्माणको समय सीमा तोकेपछि साथीभाइसँगै लिएको केही ऋण पनि छ,’ उनले भने, ‘अब जसरी हुन्छ घर निर्माण सक्ने गरी अघि बढेका छौं, बस्ती निर्माण सकेपछि नै आयव्यय विवरण पनि सार्वजनिक गर्छौं ।’
