छिन्ताङ हत्या काण्डको ४५ वर्ष : व्यवस्था बदलियो, अवस्था बदलिएन

कार्तिक २७, २०८१

रमेशचन्द्र अधिकारी

45 years of Chhintang murder case: The system has changed, the situation has not changed

धनकुटा — सहिदभूमि गाउँपालिका-३ पञ्चकन्याकी ६८ वर्षीया भजना दमाइलाई साढे चार दशक पहिलेको घटनाले अझै तर्साउने गर्छ । त्यसबेला काखे छोरा सोमबहादुरलाई च्यापेर बसेकी उनले घर नजिकै आएको आवाज पछ्याउँदै जाँदा पतिको विभत्स हत्या भएको थियो ।

उक्त दृश्य आँखा सामुन्ने उभिरहने गर्छ । वि.सं.२०३६ साल कात्तिक २७ गतेको उक्त घटनामा दमाइका पति धनवीर दर्जीको तत्कालीन शासकले हत्या गरेको थियो । पञ्चायती शासन व्यवस्था परिवर्तनको लागि भूमिगत आन्दोलनमा सक्रिय रहेको भन्दै उनी गोलीको निसाना बनेका थिए । 

भजनाले २०४६ र २०६२/०६३ पछिको जनआन्दोलनबाट व्यवस्था बदलिए पनि परिवर्तनको लागि आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारको अवस्था कष्टकर रहेको गुनासो पोखिन् । ‘श्रीमान्‌ले व्यवस्था बदल्नको लागि ज्यान दिए, तर परिवारका सास्तीको दिन कहिल्यै गएन,’ उनले भनिन्, ‘कहिलेकहीं ओढाइने दोसल्लाले गर्जो टर्दोरहेछ, राज्यको ध्यान हाम्रो लागि गएन ।’ भजना दमाइ त्यस बेलाको क्षण सम्झँदा अझै भक्कानिन्छिन् । भजनाले थपिन्, ‘मेरा श्रीमान्‌ले यो समाजमा त्यस्तो विद्रोह र विरोध के गरेका थिए भन्ने मैले अझै बुझेकी छैन, सालिक राखियो, तर परिवारलाई दुःखका दिन कहिल्यै गएन ।’

त्यसो त, धनवीरमात्र होइन, त्यस बेला खोकु, छिन्ताङ र आँखिसल्ला गाउँका १६ जनालाई तत्कालीन शासकले हत्या गरेको थियो । ०३६ साल कात्तिक अन्तिम साताभर छिन्ताङको सिंगो गाउँ रगतले पोतियो । तत्कालीन पञ्चायती शासकले व्यवस्थाविरोधी भन्दै सिंगो गाउँबस्तीमै दमन गर्दा उनीहरुको ज्यान गएको थियो । जुन घटना छिन्ताङ हत्याकाण्डको नाममा चर्चित छ । ‘छिन्ताङको राजनीतिक हत्याकाण्ड’ कृतिका लेखक एवं प्राध्यापक गोपालबहादुर भट्टराईले छिन्ताङ काण्डपछि गाउँमा सुरक्षा–प्रहरी तैनाथी गरिएको र कम्युनिष्ट नामका जोकोहीलाई तारो बनाइएको बताए ।

उक्त घटनामा सुत्केरी अवस्थामा रहेकी हांखिमा साइँली भनिने श्रीमाया राई अनि ७ कक्षामा पढ्दै गरेका १४ वर्षीय केशरमान राईसमेत प्रहरी यातनाबाट मारिएका थिए । अधिकांश सहिद परिवारका सदस्यको एउटै प्रश्न छ, 'हामीले परिवारका अगुवा गुमायौं, आखिर जीवनभर अभावमा बितायौं, आखिर के पायौं ? सरकार बद्लिंदै गए । नेता फेरिँदै गए । तर, २०३६ सालमा भएको चर्चित छिन्ताङ हत्याकाण्डमा व्यवस्था बदल्न ज्यान अर्पण गरेका सहिदका प्रभावित परिवारको अवस्था अझै बदलिएको छैन । अधिकांश हत्याका शृंखला एक साताको अवधि (कात्तिक २४ देखि २९) मा भएको थियो । जिल्लाबाट प्रतिनिधित्व गरी पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाको पाला (२०३६)मा छिन्ताङ हत्याकाण्ड भएका थियो । थापाको बारेमा लेखिएको पुस्तकमा झापाको कम्युनिष्ट आन्दोलनका कारण घटना भएको उल्लेख छ । आएको थापाको कृतिमा छिन्ताङ घटनाबारे लेखिएको छ- ‘देशमा राष्ट्रिय जनमत संग्रहको सरगर्मी बढिरहँदा धनकुटाको निकै दुर्गम र पिछडिएको मानिने छिन्ताङमा राज्यको सुरक्षा कारबाहीमा १६ जनाले ज्यान गुमाए । घटनालाई कम्युनिष्टहरुले वर्गसंघर्षको प्रयोग तथा किसान आन्दोलन भनेका छन् । 

‘राष्ट्रिय सहिद’ बापतको १० लाख खोई ?

सरकारले छिन्ताङ हत्याकाण्डमा मारिएका व्यक्तिलाई सात वर्ष पहिले ‘राष्ट्रिय सहिद’ घोषणा गरेको थियो । २०७४ साल पुसमा ‘राष्ट्रिय सहिद’ घोषणा गरिए पनि त्यसबापत राज्यले उपलब्ध गराइने भनिएको राहत स्वरुपको १० लाख रुपैयाँसमेत परिवारले अझै पाएका छैनन् । संघीय सरकारले उपलब्ध गराउने राहत हालसम्म नदिएको सहिद परिवार सरोकार समाजका अध्यक्ष बलराम राईले गुनासो गरे । प्रतिपरिवार १० लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि नपाएको उनले बताए । 

सहिदको नाममा राजनीतिक प्रभावका आधारमा सेवा सुविधा दिइने गरे पनि छिन्ताङका सहिद जसले व्यवस्था परिवर्तनका लागि लडेर ज्यान दिए पनि बेवास्ता गरिएको राई बताउँछन् । सहिद पुत्रमान थुलुङ राईका छोरासमेत रहेका बलरामले ‘सहिदका जहान वा छोराछोरी’ नाम मात्रमा सीमित बनेको गुनासो पोखे । रोजीरोटी र अन्य अवसर नपाएपछि अधिकांश सहिद परिवारका सदस्यको अवस्था दयनीय रहेको उनी बताउँछन् । ‘कम्युनिष्ट र विद्रोही’ भनेर उनका बाबुलाई हत्या गरिएको थियो । उनका अनुसार ‘त्यसबेला कम्युनिष्ट भनेर मारिएका आफ्ना बाबुसहित अन्य परिवारका लागि हालका शासकहरुले बिर्सिएको छ । 

प्रजातन्त्र आएपछि गिरिजाप्रसाद कोइराला सरकारका बेलामा जनही सहिद परिवार १ लाख र कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा प्रदेश सरकारबाट जनही परिवार ५ लाख रुपैयाँ दिइएको थियो । माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेलामा २५ हजार रुपैयाँ जनही परिवारमा दिइयो । रोजगारका लागि सरकारको चासो जान नसकेको परिवारका सदस्यको गुनासो छ । 

सहिदको स्मृतिमा छिन्ताङमा २०५२ सालमा सहिद पार्क तथा सालिक स्थापना गरियो । सहिद स्मृति प्रतिष्ठान, छिन्ताङका अध्यक्ष रुपलाल राई भन्छन्, ‘सहिद परिवारका नाममा अनावश्यक स्वार्थको राजनीति गरेरै नेताहरुले आफ्नो कुर्सी बचाइरहेका छन् ।’ ‘सहिद परिवारका हकमा एक घर एक रोजगारदेखि यो क्षेत्रमा पानी, बिजुली, सडकको सबै सुलभ सहयोग गर्ने बाचा गरिएको थियो,’ राई भन्छन्, ‘तर अहिले आएर १ रुपैयाँ पनि बजेट यो शीर्षक र यो प्रयोजनमा राखिएको छैन ।’ सरकार फेरिएपिच्छे नै सहिदका परिवारका लागि धाउने गरे पनि सुनुवाइ नभएपछि दिक्दार लागेको राई बताउँछन् । 

सहिदको नाममा खोकु, छिन्ताङ र आँखिसल्ला (खाल्सा) क्षेत्र समेटेर सहिदभूमि गाउँपालिका नामकरण गरिएको छ । राष्ट्रिय सहिदको घोषणा बापतको राहत, परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक सीप तालिम, सहिद परिवार परिचयपत्रलगायत माग अघि सार्दै आए पनि यसतर्फ राज्य उदासिन बन्ने गरेको गुनासो छ । उक्त स्थानमा कात्तिक अन्तिम सातामा नेकपा एमाले तथा माओवादी केन्द्र पार्टीले फरक–फरक कार्यक्रम आयोजना गर्दै आएका छन् । 

२०३६ सालको छिन्ताङ हत्याकाण्डका सहिदको नामावली 

१.गोपालआनन्द राई (हत्या : कात्तिक २४) 

२.भैरवबहादुर खालिङ (कात्तिक २६)

३.बलबहादुर खत्री (कात्तिक २६)

४.चन्द्रबहादुर दमाई (कात्तिक २७)

५.गम्भीरमान दर्जी (कात्तिक २५)

६.गंगाबहादुर राई (कात्तिक २५)

७.टंकबहादुर विश्वकर्मा (कात्तिक २७)

८.धनवीर दमाई (कात्तिक २७) 

९.लाखमान साधु राई (कात्तिक २७)

१०.केशरमान राई (कात्तिक २८)

११.गणेशबहादुर विश्वकर्मा (कात्तिक २८)

१२.पुत्रमान थुलङ (कात्तिक २९)

१३.श्रीमाया राई (हांखिमा साइँली) (कात्तिक २९)

१४.झगेन्द्र राई (माघ १८)

१५.रामकुमारी राई (कात्तिक २९) 

१६.रणध्वज पुमा राई (कात्तिक २७)

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully