काठमाडौँ — इजिप्ट भ्रमणमा गएका उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह शनिबार स्वदेश फिर्ता भएका छन् । कायरोमा भएको वर्ल्ड अर्बान फोरममा सहभागी भएर उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल टोली शनिबार काठमाडौँ आइपुगेको हो ।
त्रिभुवन विमानस्थलमा अवतरण भएपछि उपप्रधानमन्त्री सिंहले इजिप्ट भ्रमणका क्रममा नेपालले शहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भएको बताए ।
उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले शहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको दाबी गरे ।
‘जलवायु परिवर्तनले गर्दा शहहररुहरुमा अतिवृष्टि हुने, बाढी आउने, हिमालहरुमा हिमपहिरो आउँदा विपद्का घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदुषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नुपरिररहेको छ । जसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा युन एन ह्याबिट्याटले संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरा मैले उठाएको छु,’ उनले भने, 'आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।’
तथ्य र तथ्यांकमा आधारित योजनामा युएन ह्याबिटेटको निरन्तर सहयोगको प्रतिबद्धता रहेको भन्दै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको बताए । मन्त्रालय तहको छलफलमा ७७ राष्ट्रका शहरी विकाससँग सम्बन्धित मन्त्रीहरु सहभागी सम्मेलनमा १ सय ८२ देशको सहभागिता रहेको थियो ।
उपप्रधानमन्त्री सिंहलाई वन तथा बातावरण राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभा सदस्य राजन केसी, संविधान सभा सदस्य दिपक कुइँकेल, बाग्मती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल लगायतका नेताहरूले विमानस्थलमा स्वागत गरे ।
