कम्तीमा ४० जनाबाट ५ करोड रुपैयाँ ठगेर फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ

कार्तिक ९, २०८१

कान्तिपुर संवाददाता

A man who cheated 50 million rupees from at least 40 people was arrested in Cambodia

काठमाडौँ — विदेश पठाइदिने भन्दै कम्तीमा ४० जनालाई ठगी गरी फरार रहेका उदयपुरको त्रियुगा नगरपालिका-१० का सुजन आचार्य कम्बोडियाबाट पक्राउ परेका छन् ।

उनलाई इन्टरपोलको सहयोगमा प्रहरीले कम्बोडियाबाट पक्राउ गरी शुक्रबार नेपाल ल्याएको हो ।

उनले अर्का बिनु शाक्यसँगको मिलमतोमा वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिने भन्दै कम्तीमा ४० जना व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएको भन्ने जाहेरीका आधारमा प्रहरीले इन्टरपोलमार्फत् २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो ।

असोज १ गते कम्बोडियामा पक्राउ परेका उनलाई पक्राउ गरी नेपाल ल्याएर शुक्रबार जिल्ला प्रहरी परिसार काठमाडौँ बुझाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । 

उनीविरूद्द २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको थियो । 

कान्तिपुर

Link copied successfully