पाखो बारीमै धान फलेपछि पाल्पाका किसान दंग !

एनपीएच-३६९ राजा जातको हाइब्रिड धान पाखो बारीमा सफल भएपछि कृषि प्राविधिकहरू पनि उत्साहित

कार्तिक ६, २०८१

माधव अर्याल

Farmers of Palpa are shocked after the paddy grows in the fields!

पाल्पा — सम्म परेको फाँटमा पानी अडिने गरी गरा बनाएर धान रोपिन्छ । तर पाखो बारीमै धान फलेको भन्दा अचम्म मान्नै पर्ने हुन्छ । हुन त बूढापाकाले रैथाने घैया जातको धान फलाएकै हुन् । नयाँ पुस्तामा भने घैया जातका बारेमा खासै जानकारी छैन । अहिले पाल्पामा पाखो बारीमा नयाँ जातको हाइब्रिड धान परीक्षण गरिएको हो । कृषि प्राविधिकका अनुसार घैयाभन्दा हाइब्रिड धान अझ राम्रो फलेको छ । 

पाखो, पानी नजम्ने, पारिलो घाम लाग्ने बारीमा परीक्षणका लागि लगाएको धान सफल भएको कृषि प्राविधिकले बताए । तानसेन नगरपालिका–९, को डाँडाडुम र  वडा नम्बर-७ को कुन्सरेमा एनपीएच ३६९ राजा जातको हाइब्रिड धान पाखो बारीमा सफल भएको कृषि प्राविधिक तथा किसान सरोजराज तिमिल्सेनाले बताए । यो जातको बीउ एग्रोभेट व्यवसायी विष्णुप्रसाद भण्डारीले ल्याएका हुन् । पहाडी भूगोल, भिरालो जमिन र कम पानीमा लगाउन सकिने धानको उत्पादन पनि राम्रो भएको अर्का किसान ठाकुर भटराईले बताए । 

वन्यजन्तुका कारण गाउँबस्तीका पाखो बारी बाँझो हुँदै गएको छ । मकै, गहुँ, कोदो, फापर खेती गर्ने बारीमा बाँदर र अन्य वन्यजन्तुले किसान हैरान भएका छन् । त्यही बारीमा धानका बाला झुल्दा भने किसान दंग नपर्ने कुरै भएन । ‘पाखो बारीमा धान फलेको देख्दा सबैको मन नलोभिने कुरै भएन,’ तानसेन नगरपालिका–९, डाँडाडुमका किसान भट्टराईले भने, ‘पहिला नराम्रो भन्नेहरू अहिले आएर हेरेर दंग पर्दै फर्किएका छन् ।’ उनले दुई रोपनी बारीमा परीक्षणका लागि धान लगाएका हुन् । 

कुन्सरेमा तिमिल्सेनाले ५ रोपनी पाखोबारीमा नयाँ प्रजातिको धान परीक्षण गरेको बताए । बारीमा धान फल्दा वरपरका बासिन्दालाई समेत चासो भएको उनले बताए । जोतेर ठिक्क बनाएको जग्गामा एकाएक धान छरेका थिए । भट्टराईले मकै रोप्दाजस्तै गरी रोपेका हुन् । बाक्लो भएका बीउ वरपर नउम्रिएको स्थानमा सारेका थिए । 

Farmers of Palpa are shocked after the paddy grows in the fields!सुरुमा होला जस्तो उनलाई पनि लागेको थिएन । बीउ उम्रिएर राम्रोसँग धान गाँजसएपछि भने आशा पलाएको उनले बताए । पछि बाला लाग्दै गएर पाकेपछि आफैंलाई अचम्म लागेको उनले बताए । उनकी श्रीमती यशोदा भट्टराई पनि अहिले खुसी छन् । मकै, झिलिङ्गी, कोदो हुने बारीमा धान लगाएपछि पहिला हुने हो वा होइन भन्नेमै थिइन् । ‘अहिले धान फलेको देख्दा मलाई पनि अचम्म लागेको छ,’ उनले भनिन्, ‘जे होस् पाखो, पारिलो बारीमा यो धान फल्छ भन्ने विश्वस्त भए ।’

 विष्णुप्रसाद भट्टराईका अनुसार पहिले बारीमा स्थानीय जातको घैया जातको धान लगाउने चलन थियो । अहिले लगाएको हाइब्रिड प्रजातिको धान घैयाभन्दा फरक लागेको उनले बताए । ‘आकाशे पानीको भरमा भिरालो जमिनमा पनि खेती गर्न सकिने रहेछ,’ उनले भने, ‘अहिले उत्पादन देखेर पनि खुसी नै लागेको छ ।’ स–साना चरा र मुसाबाट जोगाउन सके वन्यजन्तुले पनि धेरै दुःख नदिने उनले बताए । 

मकै छर्ने बारीमा धान उम्रिँदा धेरै गाउँले दंग थिए । हेर्दाहेर्दै धान नै फलेपछि सबै अचम्म परेको कृषि प्राविधिक तिमिल्सेनाले बताए । ‘अन्य बाली लगाउँदा वन्यजन्तुले नोक्सान गर्ने भएकाले बारी बाँझो राख्ने सोँचमा पुग्नेहरूका लागि यो प्रजाति उपयुक्त हुन्छ,’ उनले भने, ‘यही जातको धान लगाए पनि उत्पादनमा फाइदा नै हुने देखिएको छ ।’ वन्यजन्तुबाट जोगाउन सजिलो बाली हो धान ।

नयाँ जातको धानले पारिलो घाम मन पराउने उनले बताए । पहाडी क्षेत्रमा यो जातको धानबाट राम्रो उत्पादन लिन सकिने कृषि प्राविधिकको सुझाव छ । वन्यजन्तुका कारण खेतीपाती नै कमी हुँदै गएका बेला नयाँ प्रजातिको धान खेती सफल भएपछि किसानका लागि खुसी थपिएको उनले बताए । ‘धानलाई सेप आयो भने र अनियमित वर्षा भयो भने असर गर्ने देखिएको छ,’ उनले भने, ‘यसतर्फ भने चनाखो रहनुपर्छ ।’ उत्पादन, उत्पादकत्वका हिसाबले भने अझै थाहा हुन नसकेको उनले बताए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully