नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि हुन् : उपाध्यक्ष घिमिरे

कार्तिक ४, २०८१

कान्तिपुर संवाददाता

Nepal and China are not only close friends but also reliable partners: Vice President Ghimire

काठमाडौँ — राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाल र चीन नजिकका छिमेकी मात्र नभइ भरपर्दो मित्र र साझेदारका रूपमा रहँदै आएको बताएकी छन् । 

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवं सिङ्हाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज यहाँ आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोसमेत बताइन् । 

'नेपाल एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध छ, यसमा सधैँ स्पष्ट र अटल पनि छ,' उपाध्यक्ष घिमिरे भनिन्, 'हाम्रो माटोमा चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिने हाम्रो अटल प्रतिबद्धता हो । यो प्रतिबद्धतामा हामी अडिग छौँ ।' व्यापार, सुरक्षा, सेवा, विकास र प्रविधिमा चीनले हाँसिल गरेका उपलब्धिबाट नेपाल पनि प्रत्यक्ष वा परोक्ष रूपमा लाभान्वित हुँदै आएको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले नेपालका लागि चीनका बन्दरगाहसम्म पुग्ने वातावरण बनेको र  कोभिडका समयमा बन्द भएका सबै नाका सञ्चालन भएकाले दुई देशबीचको व्यापार तथा सीमा क्षेत्रका नागरिकले आवतजावत गर्न सहज भएको बताइन् । 

कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू विस्वस्त रहेको बताए । 

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले नेपाल र चीनबीचको मैत्रीसम्बन्ध जनस्तरमा विस्तारित हुँदै गएको र एक अर्का देशको समान चासोसमेत सम्बोधन हुँदै आएको बताइन् । कार्यक्रममा सिङ्हाई प्रान्तको बारेमा जानकारी दिने तस्विर तथा श्रव्यदृश्य सामग्रीसमेत प्रदर्शन गरिएका थिए ।

कान्तिपुर

Link copied successfully