संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू यथाशक्य चाँडो गठन गर्ने तीन दलको सहमति

आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी गठन गर्ने

कार्तिक १, २०८१

कान्तिपुर संवाददाता

Tripartite agreement to establish transitional justice commissions as soon as possible

काठमाडौँ — सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग यथासक्य चाँडो गठन गरी संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन प्रमुख तीन दलहरू सहमत भएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा संक्रमणकालीन न्याय सम्पादनलाई टुंगोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगहरूलाई यथासक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हो ।

बैठकले आयोग गठनका लागि पदाधिकारीहरूको छनोट गर्न सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सर्च कमिटी गठन गर्नेछ ।

'सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि अब बस्ने मन्त्रिपरिषद् बैठकले सर्च कमिटी टुङ्ग्याउने सहमति भएको छ,' बालुवाटार स्रोतले भन्यो ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए । 

त्यस्तै, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाल लगायत समेत बैठकमा सहभागी थिए । 

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्‌बाट पारित भइसकेको छ । उक्त विधेयक गत भदौ १३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो ।

कान्तिपुर

Link copied successfully