धौलागिरि प्रथममा ५ रुसी आरोहीको मृत्यु

रूसी टोली नेता अलेक्जान्डर डसीका नेतृत्वमा हिमाल आरोहण गर्ने गरी १४ जनाको टोलीलाई अनुमति दिइएको थियो, स्वास्थ्य खराब भएपछि ६ जना फर्किएका थिए । दुई जनाले आरोहण सम्पन्न गरी बेस क्याम्पमा फर्किसकेका, विरामी अवस्थामा एकजनाको उद्धार गरी ल्याइएको छ

आश्विन २२, २०८१

5 Russian climbers died on Dhaulagiri I

म्याग्दी — धौलागिरि प्रथम हिमाल आरोहणका क्रममा दुई दिनदेखि सम्पर्कविहीन भएका पाँचै जना रुसी नागरिक मृत अवस्थामा फेला परेका छन् । ८ हजार १ सय ६७ मिटर अग्लो हिमाल आरोहणमा गएका अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई करिब साढे ७ हजार मिटर उचाइमा मंगलबार मृत भेटिएका हुन् । 

पर्यटन विभागका अनुसार २०८९ भदौ १९ मा आरोहण अनुमति लिएको १४ सदस्यीय रुसी टोली दुई समूहमा बाँडिएर शिखरतर्फ लम्किएको थियो । बेस क्याम्पसम्म मात्रै शेर्पाको सहायता लिएको ६ जनाको टोली बिनाअक्सिजन हिमाल आरोहण गर्ने गरी अगाडि बढेको थियो । तीमध्ये भ्यालेरी सिपिलेभोई स्वास्थ्यमा समस्या आएकाले आइतबार नै बीचबाटै फर्किएका थिए । विभागका अनुसार उनले माथि रहेका ५ जनालाई पनि फर्कन अनुरोध गरेका थिए । तर शिखर नजिक पुगेका कारण उनीहरू फर्कन मानेनन् । तर केही समयपछि आरोहण परित्याग गरी तल झर्दै गरेको उनीहरूले रेडियो सेटमा बताएका थिए । आइतबार राति ११ बजेपछि उनीहरू सम्पर्कविहीन भएको सम्पर्क अधिकृत र एजेन्सीहरूको भनाइ छ । 

५ आरोही सम्पर्कविहीन भएको जानकारीपछि खोजी तथा उद्धारमा टोली परिचालन गरिएको थियो । मौसमको प्रतिकूलताका कारण सोमबार त्यस क्षेत्रमा हेलिकोप्टर जान सकेन । मंगलबार भने हेलिकोप्टरले उनीहरूलाई करिब ७ हजार ६ सय मिटरको उचाइमा मृत अवस्थामा फेला पारेको विभागले जनाएको छ । टोलीबाट छुट्टिएका सिपिलेभोईलाई मंगलबार नै क्याम्प १ बाट उद्धार गरेर उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 

अर्को टोलीमा रहेका ६ आरोही स्वास्थ्य खराब भएपछि बीचबाटै फर्किएका थिए । आरोहण व्यवस्थापन गर्ने एजेन्सी र सम्पर्क अधिकृतका अनुसार डेनिस एलेक्सेन्को र आर्टस्योम तेसेन्त्सेभित्स्की भने आरोहण सकेर बेस क्याम्पमा फर्किसकेका छन् । उनीहरू त्यहाँ सकुशल रहेको र सम्भवतः १–२ दिनमा तल झर्ने योजनामा रहेको विभागले जनाएको छ । 

अलेक्जान्डर डसिकोले नेतृत्व गरेको टोलीले धौलागिरि प्रथम हिमाल आरोहणका लागि २०८९ भदौ १९ मा अनुमति लिएको थियो । आरोहणको व्यवस्थापन भने आईएम ट्रेकिङ एन्ड एक्सपिडिसनले गरेको थियो । एक्सपिडिसनका प्रमुख कार्यकारी अधिकृत पेम्बा ज्याङ्बु शेर्पाले कम्पनीको फेसबुक पेजमा धौलागिरिमा ज्यान गुमाएका डसिकोले असोज १२ मा खिचेको फोटो पोस्ट गरेका छन् ।

त्यसमा धौलागिरि बेस क्याम्प क्षेत्रमा भारी हिमपात भएको र क्याम्पमा पनि असर पुर्‍याएको देखिन्छ । यस सिजनको सुरुवाती चरणमै धौलागिरि आरोहणमा खराब मौसम बाधक बनेको छ ।

Link copied successfully