लेबनानका नेपाली भन्छन्– ‘अब जीवनको ठेगान छैन’

इजरायलले लेबनानमा हवाई र स्थल आक्रमण तीव्र पार्दै लगेपछि त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धारमा चासो

आश्विन २१, २०८१

होम कार्की

काठमाडौँ — रामेछापकी जुनकिरी आलेमगर लेबनानको राजधानी बेरुतमा १५ वर्षदेखि कार्यरत छिन् । उनी बस्ने अलअर्सिफियाको अपार्टमेन्टबाट दहियेह १० मिनेटको दूरीमा छ । त्यही दहियेहमा इजरायली सेनाले केही दिनयता हेजबुल्लाह लडाकुलाई निसाना बनाउँदै निरन्तर हवाई हमला गरिरहेको छ ।

शनिबार मध्यरातमा पनि इजरायली सेनाले दहियेहमा ठूलो हवाई हमला गर्‍यो । विस्फोट यति ठूलो थियो कि जुनकिरी बसेको अपार्टमेन्ट नै पिङ जसरी हल्लियो । 

शनिबारको विस्फोटपछि जुनकिरीको मन बेचैन छ । ‘मैले पाँच दिनयता राति सुत्न पाएकी छैन । रातभरि मुटु नै हल्लाउने गरी विस्फोटको आवाज आउँछ । घर थरर हल्लिन्छ । शनिबारको जस्तो ठूलो हमला यसअघि थाहा पाएकी थिइनँ,’ उनले भनिन्, ‘बाहिर निस्केर हेर्दा दहियेहमा आगोको मुस्लो उडिरहेको थियो । आगोको मुस्लोले आकाश नै डढ्ला जस्तो देखिन्थ्यो ।’ विस्फोटपछि सडकमा हुइँकिएका एम्बुलेन्सको साइरन सम्झिँदा अहिले पनि जुनकिरीको मुटुको धड्कन बढ्छ ।

‘मध्यरातमा बेरुत सहरलाई आगोले उज्यालो बनाइदिन्छ, बिहान धूवाँको मुस्लो देखिन्छ,’ उनले भनिन्, ‘कतिखेर के हुन्छ, कसैलाई थाहा छैन । मरिन्छ कि बाँचिन्छ, ठेगान छैन । कतै धान खाने मुसो तर चोट खाने भ्यागुतो पो भइन्छ कि भन्ने डर छ ।’ 

घरेलु कामदारका रूपमा कार्यरत जुनकिरी चार महिनाअघि मात्रै घरबिदाबाट लेबनान फर्केकी हुन् । ‘लेबनानमा यस्तो हुन्छ भन्ने लागेकै थिएन । नत्र किन लेबनान फर्किन्थें ?’ उनले भनिन्, ‘नेपालबाट छोराछोरीले नबोलाएको दिन छैन । रोजगारदाता डराउनु पर्दैन, हामी क्रिश्चियन क्षेत्रमा बस्छौं, हाम्रोतिर इजरायलको निसाना पर्दैन, बाँचे सँगै बाँचौला, मरे सँगै मरौंला भन्छन् ।’

इजिप्टस्थित नेपाली दूतावासका अनुसार बेरुत आसपासमा मात्रै झन्डै एक हजार नेपाली कार्यरत छन् । लेबनानस्थित अवैतनिक नेपाली महावाणिज्य दूत मोहम्मद गोजायलले नेपालीहरू अहिलेसम्म सुरक्षित नै रहेको बताए । तर बेरुतको दहियेह आसपासमा समेत इजरायलले आक्रमण बढाउन थालेपछि त्यस क्षेत्रमा रहेका नेपाली त्रसित बनेका छन् । 

बेरुतमा कार्यरत सप्तरीका दिलीप मण्डल, सञ्जय शाह र रामलाल यादवले पनि पछिल्लो समय त्रास बढेको बताए । ‘हामी तीन नेपाली स्याम्पु बनाउने उद्योगमा कार्यरत छौं । तीनै जनाको राहदानीको म्याद सकिएको छ । यहाँको परिचयपत्र पनि नवीकरण भएको छैन,’ मण्डलले भने, ‘हामी बसेको ठाउँभन्दा अलि टाढाटाढा विस्फोट भइरहेको छ । कम्पनीले आत्तिनुपर्दैन भनेपछि बसिरहेका छौं । तर त्रास बढेको छ ।’ 

युद्ध लम्बिँदै जाने देखिएकाले घर फर्कन चाहनेहरूका लागि नेपाल सरकारले प्रबन्ध मिलाउनुपर्ने माग नेपालीले गर्न थालेका छन् । ‘को–को नेपाल जाने भनेर साथीभाइबीच सल्लाह भइरहेको छ । मेरो सम्पर्क रहेका तीन महिला स्वदेश जान तयार देखिएका छन्,’ जुनकिरीले भनिन्, ‘लेबनानको परिस्थिति बिग्रिएकाले सबैजनाको सूची तयार गर्न आवश्यक भइसकेको छ ।’ पाल्पाकी यमिसरा थापामगरले पहिले जस्तो सुरक्षा अवस्था नदेखिएकाले स्वदेश फिर्नु नै उचित लागेको बताइन् । ‘तर सरकारले उद्धार गर्छ कि गर्दैन ?’ उनको जिज्ञासा छ । 

इजरायलले लेबनानमा हवाई र स्थल आक्रमण तीव्र पार्दै लगेपछि त्यहाँ रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सार्वजनिक चासो पनि व्यक्त हुन थालेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आइतबार इजरायल र लेबनान हेर्ने राजदूतसँग नेपालीको पछिल्लो परिस्थितिबारे जानकारी लिएकी थिइन् । उनले पछिल्लो समयमा विशेषगरी लेबनानमा रहेका नेपालीसँग सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न राजदूतलाई निर्देशन पनि दिएकी छन् । ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीको सम्पर्कमा पुग्ने प्रयास गर्नू, तत्कालै स्वदेश फर्कन कोहीले सहयोग चाहनुहुन्छ भने समन्वय गर्नू र त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउन सक्छ भने पनि आवश्यक गृहकार्य गर्नू,’ परराष्ट्रमन्त्री राणाको निर्देशन छ । 

लेबनान मामिला हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले उद्धारका लागि कसैबाट अनुरोध नभएको बताए । ‘लेबनानमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं,’ उनले कान्तिपुरसँग फोनमा भने, ‘उद्धारकै लागि भनेर कोही पनि सम्पर्कमा आउनुभएको छैन । सम्पर्कमा आए उडानको व्यवस्था गर्न कठिन छैन र तीन–चार जनाका लागि त व्यावसायिक उडानमा नै सिट उपलब्ध छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully