सिन्धुपाल्चोक — अविरल वर्षाका कारण गत शनिबारदेखि ठप्प बनेको उत्तरी नाका तातोपानीको लार्चामा एक सातापछि नदीमा ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको छ । कोदारी राजमार्गको लार्चामा सडक जोडिएपछि आइतबारबाट तातोपानी भन्सार र लार्चापारी बीचमा रोकिएका कन्टेनर आवतजावत् गरिरहेका छन्।
भोटेकोसी-२ का अध्यक्ष कुमार श्रेष्ठकाअनुसार लार्चामा ह्युमपाइप राखेर सडक जोड्न गाँउपालिकाकै बजेट खर्चिइएको छ । जसमा चरिकोट सडक डिभिजनको दुई र गाउँपालिकाका दुई एक्जाभेटर, टिपर प्रयोग गरिएको छ ।
'इन्धन महंगो भएकाले पुनर्निर्माणमा बजेट १५ लाखभन्दा बढी लाग्ने अनुमान गरेका छौँ,' वडाध्यक्ष श्रेष्ठले भने । यसअघि तुइन र फड्केले जोडिएको उत्तरी नाका तातोपानीको लार्चामा तत्कालै सडक जोड्न प्रयास भइरहेपनि नदीको सतह बढेकाले धेरै समय लागेको भोटेकोसी गाउँपालिकाले जनाएको छ ।
उता ठाडो खोलाले बगाएको लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुलमा सामान ओसारपसार गर्न तुइन हालिएको छ । एक सातादेखि उतै रोकिएका स्याउ, लसुनजस्ता सामाग्री तुइनबाट ओसार्न थालिएको छ । मितेरी पुलको तल्लो फाउन्डेसनको भाग चर्किँदा चीनले मितेरी पुलबाट कन्टेनर आउजाउ बन्द गरेयता मजदुरलाई बोकाउनुबाहेक व्यवसायीसँग कुनै विकल्प छैन ।
दसैँलक्षित सामाग्री बोकेका कन्टेनर कुहिने त्रासमा बसेका व्यवसायी लार्चामा सडक र लिपिङमा तुहिन जोडिएपछि सामान गन्तव्यमा पुर्याउन पाउने आशमा छन् । केही समयअघि चीनको झाङ्मु बजारस्थित प्रशासनिक भवनको चेकजाँच कक्षछेउको भुभाग भास्सिएको थियो ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले यहाको समस्याबारे सबै पक्षलाई जानकारी भएको र माथिल्लो तहमा कुरा भइरहेको बताए । 'कन्टेनर आउजाउ नभएपछि सर्वसाधारण सामाग्री लिन लिपिङ पारी चिनियाँ बजार पुगिरहेका छन्, यहाँको भूगोलको समस्याले कठिन स्थिति बनाएको छ,' प्रजिअ थापाले भने ।
तातोपानी अध्यागमन कार्यालयको तंथ्याकअनुरुप आहिलेसम्म तीन सयभन्दा बढी स्थानीय लिपिङबाट पैदल हिडेर चिनियाँ बजारमा दसैँलक्षित सामाग्री किन्न गएका छन् भने चीनको विभिन्न इलाकाबाट ३२ चिनियाँ पैदल यहाँ घुम्न आएका छन् ।
कोदारी राजमार्ग २६ किलोमिटरमध्ये लार्चासम्म साना तथा मझौला सवारीसाधनका लागि सडक सहज छ । तर, जताततै पहिरोको जोखिम भएकाले समस्या छ । लार्चापारि कोदारीसम्म सडक खुलाइएको छ ।
कोदारी बजारछेउको सडक माथिल्लो भेगबाट आएको ठूलो पहिरोले पुरिएकाले त्यँहाबाट पैदल हिँडेर लिपिङ पुग्नुपर्छ । यत्रो जोखिमबीच पनि चीनले कन्टेनर ठप्प बनाएपछि दसैंलक्षित सामाग्री लिन बाह्रबिसे, खाडिचौरबाट लार्चासम्म सवारीमा र त्यँहाबाट ६ किलोमिटर पैदल हिँडेर स्थानीय चिनियाँ बजार पुगेका छन् ।
