सर्वोच्चमा क्षमायाचनापछि सिधाकुराका कँडेल र ढुंगाना कैद मुक्त

आश्विन २०, २०८१

कान्तिपुर संवाददाता

Sidhakuraka Kandel and Dhungana released from prison after an apology to the Supreme Court

काठमाडौँ — अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंजना सात दिन कैद सजाय गरी आइतबार कैदमुक्त भएका छन् । सर्वोच्च अदातलमा उपस्थित भइ क्षमायाचना गरेपछि उनीहरूलाई तोकिएको तीन महिनाको कैद घटाएर सात दिनमा मुक्त गरिएको हो ।

केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले अदालतको फैसला बमोजिम दुवै जना सात दिन कैद बसेर आइतबार  कैदमुक्त भएको जानकारी दिए । 

‘सिधा कुरा’ डटकममा 'डार्क फाइल' भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा कँडेल र ढुंगाना तथा फेक अडियो सामग्री तयार पार्ने राजकुमार तिमिल्सिनालाई गत साता सर्वोच्चले कैद  सजाय हुने फैसला गरेको थियो ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले 'फेक अडियो' बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक  कँडेल र कार्यकारी सम्पादक ढुंगानालाई ३/३ महिना कैद सजाय सुनाएको  थियो ।

सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको  थियो । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख थियो।

लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख थियो ।  अदालतको त्यही फैसलालाई टेकेर कँडेल र ढुंगाना फैसला भएकै दिन केन्द्रीय कारागार सुन्धारा चलान भएका थिए । त्यसको चार दिनपछि गत बिहीबार दुबै जना सर्वोच्च अदालतमा उपस्थित भइ क्षमायाचना गरेका थिए ।  

कान्तिपुर

Link copied successfully