काठमाडौं-रुम्जाटार उडान पुनः सुरु

आश्विन २०, २०८१

कान्तिपुर संवाददाता

Kathmandu-Rumjatar flight resumed

काठमाडौँ — बाढीपहिरोले सडक यातायात अवरुद्ध भएको बेला काठमाडौं-रुम्जाटार उडान पुनः सुरु भएको छ । २०७६ देखि ओखलढुंगाको रुम्जाटार विमानस्थल सञ्चालनमा थिएन ।

काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार विमानस्थलमा आइतबारदेखि उडान सुरु भएको हो । सातामा दुई दिन उडान गर्ने गरी हाल रुम्जाटरमा विमानस्थल पुनः सञ्चालनमा ल्याइएको हो । 

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका ओखलढुंगाबाट निर्वाचित सांसद रामहरि खतिवडाले रुम्जाटार विमानस्थल सातामा दुई दिन चल्ने गरी पुनः सञ्चालनमा आएको जानकारी दिए । 'आइतबार समिट एयरलाइन्सको विमानले उडान भर्ने र प्रत्येक बुधबार नेपाल एयरलाइन्सको विमानले उडान भर्ने भएको छ,' उनले भने, '२०७६ सालमा रुम्जाटार विमानस्थलमा उडान स्थगित भएको थियो । यहाँका मान्छे बिरामी हुँदा हेलिकोप्टर चार्टर गर्नुपर्थ्यो र २ लाख ८० हजार कम्तीमा भाडा तिर्नुपर्थ्यो । आज मात्रै ८ जना बिरामी काठमाडौंबाट ओखलढुंगा आउनुभएको छ । ओखलढुंगाबाट रिफर गरिएका ७ जना बिरामी विमान चढेर काठमाडौं जानुभएको छ ।'

दुवै एयरलाइन्सका १९ सिट भएका विमानले रुम्जाटार विमानस्थलमा उडान भर्ने भएका हुन् । यो विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्ने तयारी स्वरुप उठान पुनः सञ्चालन गरिएको बताइएको छ ।

असोज ११ र १२ को अविरल वर्षापछिको बाढी र पहिरोले काठमाडौंबाट काभ्रे, सिन्धुली हुँदै ओखलढुंगा जाने विपी राजमार्ग लगायतका सडक अवरुद्ध भएपछि रुम्जाटार विमानस्थलमा उडान गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले समिट एयर र नेपाल एयरलाइन्सलाई अनुमति दिएको थियो ।

काठमाडौं-रुम्जाटार भाडा ४ हजार ८ सय र रुम्जाटारबाट काठमाडौं आउँदा ४ हजार ६ सय भाडादर कायम गरिएको छ ।  

कान्तिपुर

Link copied successfully