बारका अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ताको तयारीमा सर्वोच्च प्रशासन

आश्विन १४, २०८१

कान्तिपुर संवाददाता

The Supreme Administration is preparing to register a contempt case against Bar President Ghimire

काठमाडौँ — सर्वोच्च अदालत प्रशासनले नेपाल बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरेको छ । 

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्षले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्ने निष्कर्षसहित अवहेलना मुद्दा दर्ताको तयारी भइरहेको छ ।

न्यायाधीश नियुक्तिका विषयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतविरुद्ध अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेकाले मुद्दा दर्ता गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको र सोमबार नै दर्ता हुने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

नेपाल बारका अध्यक्ष घिमिरेले आफूविरुद्ध मुद्दा दर्ताको तयारी भएको जानकारी आफूकहाँ पनि पुगेको बताए । गत शुक्रबार सर्वोच्च अदालतमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेको विषयमा आफूले दिएको अभिव्यक्तिलाई लिएर अवहेलना मुद्दा दर्ता गर्न लागिएको जानकारी प्राप्त भएको घिमिरेले बताए ।

'मेरो एउटा भाषणको विषयलाई लिएर अवहेलना मुद्दा दर्ता हुन गइरहेको छ भन्ने सुनेको छु । काठमाडौं बारमा दिएको अभिव्यक्तिलाई लिएर मुद्दा दर्ता गर्न लागिएको रहेछ । हामीले न्याय परिषद्सम्बन्धी नियमावली विरुद्ध आन्दोलन गरिरहेका छौं, त्यो विषय नसुनीकन न्यायाधीश नियुक्ति गरिएपछि प्रश्न गरेको थिए,' उनले भने, '६ जना रिक्त पद हुँदा किन दुई जनालाई मात्रै नियुक्ति सिफारिस गरियो ? के हिसाबकिताब मिलान गरिएको हो ? भन्ने प्रश्न गरेको थिए ।'

बारले पटकपटक उठाएका विषय सम्बोधन नगरी प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गरेकोमा आफूले विरोध जनाएको घिमिरेको भनाइ छ ।

कान्तिपुर

Link copied successfully