सहकारी ठगी आरोपित नेपालीको मंगलबार थुनछेक हुने

आश्विन १४, २०८१

प्रकाश बराल

The Nepali accused of cooperative fraud will be arrested on Tuesday

बागलुङ — सहकारी ठगी आरोपित देवकुमार नेपालीलाई प्रहरीले सोमबार जिल्ला अदालत बागलुङमा हाजिर गराएको छ । सोमबार दिनभर नेपालीको बयान लिइएको जिल्ला अदालतका शाखा अधिकृत ऋषिराम रिजालले बताए ।

गत शुक्रबार भारतको दिल्लीमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीलाई काठमाडौंदेखि पोखरासम्म हवाइजहाजमा ल्याएपछि प्रहरीको गाडीले आइतबार राति बागलुङ पुर्‍याएको थियो । मंगलबार मात्र नेपालीको थुनछेकको बहस हुने भएको छ ।

सोमबार बिहान ११ बजे अदालत पुर्‍याए पनि पौने १२ बजेदेखि बेलुकी ५ बजे सम्म लगातार नेपालीको बयान गराएको थियो । नेपालीलाई अदालतमा ल्याउने चर्चापछि बचतकर्ता, इमेज सहकारी पीडित संघर्ष समितिका पदाधिकारीलगायत अदालत परिसरमा पुगेका थिए । प्रहरीले पनि अदालतमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

नेपालीबिरुद्ध १ हजार ५ सय ४३ जनाको जाहेरी परेको थियो । जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले ताराबहादुर कुँवरसहितका पीडितको जाहेरीले भन्दै २०८० असार ३१ गते नेपालीसहित १० जना बिरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । साउन ४ गतेको आदेशले नेपालीबाहेक ७ जना संचालकलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो । 

यो मुद्दामा सहकारीका संचालकहरु चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् ।

उनीहरुलाई जिल्ला अदालत बागलुङको २०८० साउन ४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउनमै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षकालागि कारागारमा छन् ।

२०८० बैसाख ७ गते तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि नेपाली बेपत्ता थिए । उनीबिरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो ।

नेपाली ढोरपाटन नगरपालिकाको प्रमुख समेत हुन् । उनले एमालेको तर्फबाट दुई पटकसम्म निर्वाचन जितेर प्रमुख बनेका थिए । जाहेरीमा सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकोले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाए समेतको माग गरिएको छ ।

त्यसबाहेक सहकारी रजिष्ट्रारको कार्यालयको अध्ययनमा भए अनुसार सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा सहकारीमा गैर शेयर सदस्यलाई आर्कषक व्याजको प्रलोभन देखाइ बागलुङबाट ७ हजार ९४, पोखराबाट २ हजार ६ सय ६१ र गलकोटबाट १ हजार ७ सय ७४ गरी ११ हजार ५ सय २९ जना गैह्र शेयर सदस्यबाट रकम उठाएको अराोप समेत छ ।

सहकारी ऐन २०७४ को दफा ३२(२) बिपरित कृतिम व्यक्तिलाई सदस्यता प्रदान गरिएको ८७ लाख ५० हजार रुपैयाँलाई दायित्व देखाइ हिनामिना गरेको, कृतिम बचत खातामा रकम राखी ६५ करोड कृतिम कर्जा भनिएको, वासलातको रकम कागजमा मात्र देखाएर हिनामिना गरेकोलगायतको प्रतिवेदन समेत मुद्दामा उल्लेख गरिएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully