काठमाडौँ — हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तनको हिसाबले संवेदनशील रहेको जलवायु तथा अन्तर्राष्ट्रिय विज्ञहरुले बताएका छन् ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभाका दौरान न्युयोर्कमा 'ग्लोबल सेन्टर फर क्लाइमेट एन्ड सेक्युरिटी गभर्नेन्सले आयोजना गरेको ‘जलवायु परिवर्तन र भूराजनीतिः सुरक्षित भविष्य’ विषयक साइडलाइन अन्तर्क्रियामा हार्वर्ड विश्वविद्यालयका जलवायु विज्ञ राजन मेहताले हिन्दुकुश हिमालय क्षेत्र जलवायु परिवर्तनको हिसाबले संवेदनशील रहेको उल्लेख गरे ।
म्यानहाटनमा भएको कार्यक्रममा जलवायु परितर्वन सम्बन्धित चर्चित पुस्तक ‘ब्याकस्टेज क्लाइमेट’ का लेखक मेहताले हिमालय क्षेत्रमा हिम ताल फुट्न सक्ने तथा तापक्रमण बढिरहेको कारण अन्य प्राकृतिक विपत्ति पनि आउने सक्ने कारणले गर्दा हिन्दुकुश हिमालय क्षेत्रमा पूर्वसूचनाका प्रणालीको प्रयोग गर्न आवश्यक रहेको प्रष्ट पारे ।
अन्तरक्रिया कार्यक्रमका सञ्चालन आयोजक संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीले दक्षिण एसियामा जलवायु परिवर्तनका महत्वपूर्ण विषयहरु के–के हुन् भनेर गरेको प्रश्नमा मेहताले जवाफ दिए,‘जलवायु परिवर्तनमा दक्षिण एसिया क्षेत्रका मुलुकहरुमा दुई महत्वपूर्ण विषय रहेका छन् । भूगोल र आर्थिक अवस्थालाई हेरेर अघि बढ्न आवश्यक छ । भूगोलको हिसाबमा यो क्षेत्र धेरै नै संवेदनशील छ भने आर्थिक रुपमा पनि यहा“का मुलुकहरु त्यत्ति बलिया छैनन् । जसले जलवायु परिवर्तन विरुद्ध लड्नको लागि प्रयाप्त स्रोत र साधन छैनन् ।’
पूर्वसांसद तथा अन्तर्राष्ट्रिय मामिला विज्ञ दीपकप्रकाश भट्टले हिन्दुकुश हिमालय क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई यस क्षेत्रका सबै मुलुक एक भएर नजिकबाट जोगाउनु पर्ने प्रष्ट पारे । उनले बाढी, पहिरो, हिउ“ तालहरु फुट्ने तथा भूकम्पको हिसाबले पनि हिन्दुकुश हिमालय क्षेत्र संवेदनशील भएको बताए ।
‘जलवायु परिवर्तनको समस्यालाई हामीले कुनै राष्ट्रियता, सीमा वा सार्वभौमिकताभित्र रहेर सम्बोधन गर्न सकिन्न । यसको समाधानको लागि सबै एक भएर लाग्न आवश्यक हुन्छ,’ उनले भने ।
भट्टले नेपालको परिवेक्षमा कानुन, नीति र रणनीति निर्माण गरेर जलवायु परिवर्तन सम्बन्धी जागरण केन्द्र, प्रदेश र स्थानीय तहबाट लाग्नु पर्नेसुझाव दिए । उनले भने,‘जलवायु परिवर्तन सम्बन्धी जागरण दिएमा यसले पार्न सक्ने प्रभाव र उक्त प्रभावलाई कम गर्नको लागि आम जनताले थाहा पाउँछन् र पूर्वतयारी गर्छन् ।’
