सहकारी ठगीको नयाँ तरिका : फर्जी सहकारी खडा गरी करोडौं अपचलन

आश्विन ११, २०८१

विनय आजाद

A new method of co-operative fraud: embezzlement of crores by setting up fake co-operatives

सिरहा — सिरहाको कल्याणपुर नगरपालिका–८ की ३७ वर्षीया उषा कुमारी दास निरक्षर हुन् । तर, उनी पढाईको महत्व बुझ्छिन् । उनका श्रीमान् सुरेश दास दश वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् । श्रीमान्ले विदेशमा बगाइरहेको पसिनाको मूल्य पनि उनले उत्तिकै बुझेकी छिन् ।

त्यसैकारण श्रीमान् पनि उनीप्रति निकै ढुक्क छन् । श्रीमान्ले पठाएको पैसा उषाले जथाभावी खर्च नगरी सहकारीमा जम्मा गर्दै आएकी थिइन् । आफूहरु पढ्न नपाएकोमा उनलाई पछुतो छ । त्यसैले श्रीमान्ले मरभूमीको तातोमा पसिना बगाएर कमाएको पैसा बालबच्चाको पढाईमा खर्च गर्ने अनि एउटा ठिकठाक घर बनाउने सपना उनले बुनेकी थिइन् ।

तर, उनको सपना अहिले चकनाचुर हुने अवस्थामा पुगेको छ । उनी चिन्ताका कारण दिनदिनै गलिरहेकी छिन् । उनको चिन्ताको कारण पनि सहकारी ठगी हो । कल्याणपुर नगरपालिका–११, कल्याणपुर बजारस्थित ‘माँ जानकी कृषि सहकारी संस्था लिमिटेड’ नाम गरेको सहकारीमा उनले पटकपटक गरी ३१ लाख ५० हजार ५ सय रुपैयाँ जम्मा गरेकी थिइन् ।

तर, विगत दुई वर्षदेखि उनी पैसा फिर्ता लिन सहकारीमा धाइरहेकी छिन् । पैसा फिर्ता भने पाएकी छैनन् । सहकारीका सञ्चालक राजाराम साहले दुई वर्षदेखि उनलाई ढाँट्दै–छल्दै आएका छन् । उनले कहिले खेत बेचेर दिने भन्दै टार्छन् त कहिले ‘म जान्दिनँ’ भन्दै थर्काउँछन् ।

‘सहकारीमा धाउँदा–धाउँदा गोडा खिइसक्यो, कहिले खेत बेचेर दिन्छु भन्छन्, कहिले त तिम्रो पैसा जान्दिनँ नै भनिदिन्छन्,’ उषाले कान्तिपुरसँग कुराकानी गर्दै भक्कानिँदै सुनाइन्, ‘आफू र बालबच्चा बिरामी पर्दा पनि अरुकहाँ हात फैलाउनुपर्ने स्थिति छ, धेरै के भनौं ।’

माँ जानकी कृषि सहकारी संस्था सञ्चालन गरेका राजाराम साहले कल्याणपुर बजारस्थित आफ्नै घरमा ‘राजाराम सव मनि ट्रान्सफर’ पनि सञ्चालन गर्दै आएका छन् । उनै राजारामलाई ग्लोबल आईएमई बैंकले ब्रान्च लेस बैंकिङ (बीएलबी) काउन्टर पनि दिएको थियो ।
A new method of co-operative fraud: embezzlement of crores by setting up fake co-operatives
कल्याणपुर क्षेत्रका एक दर्जन बढी गाउँका सर्वसाधारण उनकै मनि ट्रान्सफरमा पैसा झिक्ने गरेका थिए । अनि तत्कालै आवश्यक नहुनेले भने त्यहीँबाट ग्लोबल आईएमई बैंकमा पैसा जम्मा गर्ने गरेका थिए । खासमा उषा पनि उस्तै गर्थिन् ।

तर, २०७८ पुष २२ मा राजारामले उषालाई बोलाएर ग्लोबल आईएमई बैंकले नै पैसा जम्मा गर्ने कारोबारका लागि यो सहकारी खोलेको र अब यसमा पैसा ट्रान्सफर गर्नुपर्ने बताए । उषा सहजै विश्वास गरेर राजी भइन् र उनकै मनि ट्रान्सफरमा उषाले ग्लोबल आइएमईको चेकमा हस्ताक्षर गरिदिइन् ।

उनको खातामा त्यतिखेर १७ लाख ३ हजार ५ सय रुपैयाँ थियो । राजारामले चेक आफ्नो हातमा लिए, अनि उषालाई ‘माँ जानकी कृषि सहकारी संस्था लिमिटेड’ लेखिएको एउटा पासबुक दिए । र, त्यसमा उक्त पैसा जम्मा गरेको भनी पासबुकमा चढाइदिएर आफ्नो हस्ताक्षर पनि गरिदिए । तर, पैसा माग्दा नपाएपछि २०७९ फागुन २ यता भने उनले जम्मा गर्न छाडिन् ।

यसरी यो सहकारीका सञ्चालकको ठगीमा परेकी उषा त एकजना उदाहरण पात्र हुन् । सोही गाउँकी ४० वर्षीया सुनिता देवी दास पनि यसै सहकारीमा ३ लाख १ हजार रुपैयाँ जम्मा गरेकी छिन् । कतारबाट श्रीमान् जीत दासले २०७८ पुष २३ देखि २०७९ माघ २८ सम्म पठाएको तीन लाख एक हजार रुपैयाँ उनले जम्मा गरेकी छिन् ।

तर, उनी डेढ वर्षदेखि उनी पनि पैसा फिर्ता पाउन धाएकी धएकै छिन् । पैसा भने फिर्ता पाएकी छैनन् । सहकारीका सञ्चालक राजारामले सुनितालाई पनि उषा जसरी नै आजभोलि भनेर झुलाउँदै आएका छन् ।

यही गाउँकी जितोकुमारी दासले उक्त सहकारीमा ३ लाख ८५ हजार रुपैयाँ जम्मा गरेकी छिन् । जनिफा मियाँको ९ लाख २० हजार रुपैयाँ छ । उनकी श्रीमति जैफूल खातुनले पनि यसै सहकारीमा पटकपटक गरी ४ लाख ४० हजार जम्मा गरेकी छिन् । तर, पैसा भने कसैले फिर्ता पाइरहेका छैनन् । उनीहरुका अनुसार यस सहकारीबाट पीडित कल्याणपुर क्षेत्रका विभिन्न गाउँका करिब दुई सय जति बचतकर्ता छन् ।

‘हाम्रै गाउँमा दुई दर्जनबढी पीडित छन्,’ मझाउकी जैफूल खातुनले भनिन्, ‘यस क्षेत्रका दर्जनबढी गाउँका सर्वसाधारणले यसै हाराहारीमा यो सहकारीमा पैसा जम्मा गरेका छन् ।’ यसरी सयौं बचतकर्ताको कम्तिमा ५–६ करोड अपचलन भएको उनीहरुको अनुमान छ ।

सहकारी नै फर्जी
सयौं बचतकर्ताको करोडौं रुपैयाँ जम्मा गर्न लगाइएको सहकारी भने फर्जी रहेको पाइएको छ । पीडितहरूले आवाज उठाउन थोपछि ‘माँ जानकी कृषि सहकारी संस्था लिमिटेड’ बारे खोजी गर्दा उक्त सहकारीको कानुनी अस्तित्व नै नरहेको पाइएको हो ।

कल्याणपुर नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार, कल्याणपुर वडा नम्बर ११ बाट जम्मा चारवटा सहकारी मात्र नगरपालिकामा दर्ता छन् । जसमध्ये एउटा माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामक सहकारी रहेको छ । जसको दर्ता नम्बर २१ छ ।

यसको अध्यक्षमा उनै राजाराम साह हुन् भने सचीवमा उपेन्द्र साह, कोषाध्यक्षमा रिंकुकुमारी साह छन् । तर, माँ जानकी कृषि सहकारी संस्था लिमिटेड नामक सहकारी भने आफ्नो रेकर्डमा नरहेको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रमोदकुमार यादवले बताए ।

यतिमात्र नभई फर्जी सहकारी खडा गरी ठगी धन्दा चलाउँदै आएका राजारामले दर्ता रहेका माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट समेत अवैध रुपमा निरन्तर कारोबार गर्दै आएको पाइएको छ । नगरपालिका अनुसार, यो सहकारी दर्ता भएयता नवीकरण नै भएको छैन ।

पहिले ग्लोबलको नाममा र त्यसपछि सहकारी खडा गरी ठगी
राजारामका बुवा बिल्टु साह म्यानपावर व्यावसायी हुन् । सामान्य पारिवारिक पृष्ठभूमिका उनी वैदेशिक रोजगारीमा मान्छेलाई विदेश पठाउने एजेन्टका रुपमा काम गर्थे । त्यसरी उनले मनग्गे सम्पत्ति जोडे । करिब २० वर्षदेखि त उनले काठमाडौंमा म्यानपावर नै सञ्चालन गर्दै आएका छन् ।

म्यानपावर नै खोलेपछि आर्थिक रुपमा उनको दिन दुईगुन्ना र रात चौगुन्ना आर्थिक प्रगति गरे । अहिले उनको राजनीतिक दलहरुमा पनि पकड छ । गत निर्वाचनमा त उनले आफूलाई निकटस्तहरुमार्फत् समाजिक सञ्जालमा नेकपा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुने प्रचारसमेत गराएका थिए ।

म्यानपावरबाट राम्रै कमाइ भएपछि कल्याणपुर क्षेत्रमा मिटरब्याजको धन्दासमेत थालेका उनले २०६८ साल साउनमा छोरा राजारामलाई कल्याणपुरमा मनि ट्रान्सफर खोलिदिएका हुन् । कल्याणपुर नगरपालिका वडा ११ मा सञ्चालित रहे पनि यो मनि ट्रान्सफर दर्ता भने काठमाडौंबाट भएको देखिन्छ ।

आन्तरिक राजस्व विभागले प्रदान गरेको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रमा राजाराम सव मनि ट्रान्सफर प्रालिको ठेगाना काठमाडौं महानगरपालिका ९, गौशाला उल्लेख छ । राजारामले यही मनि ट्रान्सफरलाई देखाएर २०७४ सालमा ग्लोबल आइएमई बैंकसँग शाखारहित बैंकिङ सेवा (बीएलबी) संचालनमा ल्याएका थिए ।

तबसम्म यो मनि ट्रान्सफर त्यस क्षेत्रमा ‘राजारामको बैंक’ भनेर स्थापित भइसकेको थियो । यस क्षेत्रमा नागरिकस्तरमा विश्वासिलो छवि बनिसकेकै थियो । यसैको फाइदा उठाउँदै राजारामले खराब नियत राखेर योजनावद्ध रुपमा ठगी गर्न सुरु गरेको देखिन्छ ।

बीएलबी भित्र्याएपछि आफू कहाँ आउने अधिकांश सेवाग्रहीलाई उनले ग्लोबल आईएमई बैंकमा खाता खोल्न लगाए । सेवाग्रहीलाई राजारामले सुरुमै भन्थे, ‘समय खराब छ, जतिको काम छ त्यति पैसा मात्र घर लग्नुस्, बाँकी यतै बैंकमा जम्मा गरिहाल्नुस् ।’ काम हुने सेवाग्रहीले पैसा झिकेर लग्थे भने काम नहुनेले राजारामकै भनाइमा राजी हुँदै बैंकको खातामा रकम जम्मा गर्न उनकै जिम्ममा छोडिदिन्थे ।

बीएलबी प्रतिनिधिले निक्षेपकर्ताबाट बुझिलिएको रकम तत्कालै जम्मा गर्नेपर्ने र जम्मा भइसकेपछि सिस्टममार्फत् नै प्रिन्ट भएर आउने भौचर (रिसिप्ट) सेवाग्रहीलाई दिनुपर्ने हुन्छ । तर, त्यहाँ कतिपय बुझ्ने मान्छेलाई पैसा जम्मा गरिदिएर भौचर दिइन्थ्यो भने अधिकांश निरक्षर सेवाग्रहीहरुलाई आफ्नो डायरीमा उल्लेख गरेको देखाएर जम्मा भइसकेको आश्वासन मात्रै दिइन्थ्यो ।

यसरी निरक्षर सेवाग्रहीसँग जालझेल गरेर राखिएको पैसा राजाराम आफैले चलाउने गर्थे । अहिलेभन्दा पाँच वर्षअघि मझाउकी कुल्सिम खातुनले त्यहीँबाट ५० हजार रुपैयाँ जम्मा गरिन् । उनलाई त्यहाँ ग्लोबलको खातामा पैसा जम्मा भइसकेको भनियो । तर, जम्मा भने गरिएन ।

यो कुरा उनले तब मात्रै थाहा पाइन्, जब केही महिनापछि बैंकको मिर्चैयास्थित शाखामा पैसा झिक्न गइन् । खातामा एक हजार रुपैयाँ मात्र रहेको थाहा पाएपछि उनले राजारामलाई गएर किन यस्तो गरेको भनेर प्रश्न गरिन् । राजारामले कुल्सिमलाई गल्ती भएको र आफूले पैसा फिर्ता गरिदिने बचन दिँदै घर फर्काए ।

कुल्सिमले पटकपटक गरी ३५ हजार रुपैयाँ त पाइन् । तर, पाँच वर्षसम्ममा पनि १५ हजार रुपैयाँ अझै पाएकी छैनन् । ‘सधैं आजभोली भन्छन्,’ उनले भनिन्, ‘मैले राजारामलाई एक–दुई हजार गरी भएपनि दिनका लागि भन्छु, तर उनले दौडाउने र हैरानी दिने काम मात्रै गर्छन् ।’

कुल्सिम जस्ता धेरैलाई ठगी गरेपछि साहविरुद्ध थुप्रैले ग्लोबल आईएमई बैंकमा गुनासो गर्न थाले । त्यसपछि बैंकका प्रतिनिधि मनि ट्रान्सफरमै पुगेर पटकपटक सचेत पनि गरायो । पटक–पटकको चेतावनी पश्चात पनि व्यवहारमा सुधार नगरेपछि बैंकले २०७९ माघमा उनलाई दिएको बीएलबीको सुविधा नै खोस्यो ।

ग्लोबलले बीएलबी हटाउने सुइको पाएरै राजारामले आफ्नो आर्थिक अपराधलाई निरन्तरता दिन त्यस अगाबै २०७९ साउन ४ मा बैंकसँगै मिल्दोजुल्दो हुनेगरी ‘माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ दर्ता गराएको देखिन्छ । त्यसपछि उनले गाउँका सोझासिधालाई झुक्याएर बैंकबाट पैसा झिक्न लगाई आफ्नो सहकारीमा पैसा सार्न लगाएको देखिएको छ ।

तर, यसरी सहकारीमा पैसा सार्न लगाए पनि कानुनी रुपमा दर्ता माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामक सहकारीको पासबुक भने सबै बचतकर्तालाई दिएका छैनन् । त्यसै सहकारीको नामसँग मिल्दोजुल्दो माँ जानकी कृषि सहकारी संस्था लिमिटेड लेखिएको अर्कै पासबुक दिइएको छ ।

अधिकांश बचतकर्तालाई सोही सहकारीको पासबुक दिइएको भेटिएको छ । बचतकर्ताले पैसा जम्मा गर्दा त्यसै पासबुकमा सहकारीको तर्फबाट हस्ताक्षर गरी रकम पनि चढाइएको छ । कान्तिपुरले प्राप्त गरेको पासबुकहरुमा अधिकांश हस्ताक्षर राजारामकै छ ।

‘म पढेको छैन, मजस्तै यसमा अधिकांश निरक्षर मान्छेहरु छन्,’ मझाउकी जितो दासले भनिन्, ‘हामी त विश्वासमा उनले जे भन्छन् सबै गर्‍यौं । प्रायः राजाराम आफैंले हस्ताक्षर पनि गर्थे । यस्तो हुन्छ भन्ने हामीलाई थिएन । अहिले हामी घर न घाटको भएका छौं ।’

राजारामले कतिपयलाई भने दर्ता रहेको माँ जानकी ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकै पासबुक पनि दिएका छन् । तर, ती बचतकर्ताहरुले पनि सहकारीमा जम्मा गरेको रकम पटकपटक माग्दा फिर्ता पाउन सकेका छैनन् ।

मझाउकै रोशन खातुनले २०७९ कार्तिक २१ मा एक वर्षका लागि उक्त सहकारीमा ६ लाख ६० हजार रुपैयाँ फिक्सड डिपोजिट गरेकी छिन् । सोही ठाउँकी सैरा खातुनले पनि २०७९ माघ ८ मा ३ लाख ८० हजार रुपैयाँ फिक्सड डिपोजिट गरेकी छिन् । दुई वर्ष हुन लाग्यो । तर, पैसा उनीहरुले पाउन सकेकी छैनन् ।

पीडित प्रहरीमा पुग्छन्, तर केही हुँदैन
पीडितहरुले राजारामलाई पटक पटक गुहार्दा पनि पैसा नपाएपछि प्रहरीमा उजुरी पनि दिने गरेका छन् । तर, प्रहरीले आफूहरुको समस्यालाई गम्भीरतापूर्वक नहेरिदिएको पीडितहरु गुसानो सुनाउँछन् । ‘मेरै विषयमा कल्याणपुर प्रहरीमा पटकपटक छलफल भयो,’ सैरा खातुनले कान्तिपुरसित दुखेसो पोखिन्, ‘तर, मैले अझै पैसा पाएको छैन ।’

कल्याणपुर नगरपालिका–८, मझाउकी उषा कुमारी दासले पनि गत भदौ २८ मा जिल्ला प्रहरी कार्यालय, सिरहामा उजुरी गरिन् । जिल्ला प्रहरीले दर्ता गरी इलाका प्रहरी कार्यालय, मिर्चैयामा गएर बुझाउन भनेर उजुरी पत्र उषासँगै पठाइदियो । तर, प्रहरीबाट अझैसम्म कुनै खबर नआएको उषाले बताइन् ।

‘प्रहरीले बोलाउँछु भनेको थियो, उजुरी दिएको एक साताबढी भइसक्यो, तर अझैसम्म कुनै खबर मलाई आएको छैन,’ उनी भावुक हुँदै कान्तिपुरसँग भनिन्, ‘पीडित साथीहरुले प्रहरीले पनि केही गर्दैन भन्दैछन् । मैले कसरी मेरो पैसा फिर्ता पाउँछु, सोचेरै मर्छु जस्तो भएको छ ।’

जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले भने उजुरीका आधारमा प्रहरीले पीडितका समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको दाबी गरेका छन् । ‘प्रहरीले विगतमा पनि प्रयास गरेकै हो,’ उनले भने, ‘अहिले फेरि नयाँ उजुरी आएको छ, हामी अनुसन्धान गर्दैछौं ।’

राजारामको घर चहार्छन् पीडित, उनी भेटिँदैनन्
कल्याणपुर बजारबाट मिर्चैया जाने सडक हुँदै करिब डेढ सय मिटर उत्तर पुगेपछि सडक छेउमै छ, राजारामको घर । त्यसै घरमा सञ्चालित छ, मनि ट्रान्सफर र सहकारी । राजारामको फर्जी सहकारी र बिना नवीकरण सञ्चालित सहकारीमा पैसा डुबेका बचतकर्ताहरु दैनिक उनको घर चहार्छन् ।

राजारामका छिमेकीहरुका अनुसार, दैनिक कम्तिमा दश जना बढी पीडित पैसा माग्दै उनको घर आइपुग्छन् । तर, राजाराम भने भेटिँदैनन् । राजारामका बुवा म्यानपावर व्यावसायी बिल्टु साह काठमाडौं नै बस्छन् । घरमा बेलाबेला आइराख्ने उनी पनि लामो समयदेखि घर आएका छैनन् ।

राजारामले सबै काम बुवा बिल्टुकै अगुवाइमा गरेकाले पीडित बचतकर्ताहरुलाई उनको पनि पर्खाइ छ । ‘बिल्टु काठमाडौं र राजाराम पनि अचेल प्रायः बाहिर नै बस्छन्, घरमा भएपनि स्टाफबाहेक अरुलाई थाहा हुँदैन,’ नाम उल्लेख नगर्ने सर्तमा एक छिमेकीले भने, ‘मान्छेहरु आउँछन्, गाली गरेर जान्छन्, हामीलाई नै दिक्क लागिसक्यो ।’

बिल्टु र राजाराम बाबुउछोराले यसरी सहकारीका नाममा अपचलन गरेको रकमबाट खासगरी विभिन्न स्थानमा जग्गा जोडेको छिमेकीहरु सुनाउँछन् । ‘पछिल्लो समय धेरै ठाउँमा जग्गा किनेको सुनेका छौं,’ अर्का छिमेकीले भने, ‘जीवनशैली पनि फेरिएको छ । कसैले पसिना बगाएर कमाएको पैसा ठगेर धन थुपार्नु र मोजमस्ती गर्नु एकदमै गलत हो ।’

सञ्चालकको छलछाम
नक्कली सहकारी खडा गरी रकम ठगेको आरोप लागेका राजारामले आफूले एउटा दर्ता भएको र दर्ता नभएको सहकारी संचालन गरिरहेको स्वीकार गरे । सुरुमा उनले आफूसँग एउटा मात्रै सहकारी रहेको र त्यो पनि बन्दजस्तै रहेको दाबी गर्दै बिना दर्ता सञ्चालन गरेको माँ जानकी कृषि सहकारी संस्थाको विषयमा अनभिज्ञता प्रकट गरेका थिए । ‘तपाईंको दुईवटा सहकारी छ, एउटा दर्ता अनि एउटा फर्जी, यो कसरी चलिरहेको छ ?’ भन्ने प्रश्नमा उनले अर्को सहकारी दर्ता नभएकाले सञ्चालन नगरेको बताएका थिए ।

‘मैले त्यो नामको सहकारी दर्ता गराउने सोच बनाएको थिएँ । तर दर्ता भएन,’ उनले भने, ‘दर्ता नभएपछि मैले त्यो चलाइनँ ।’ उनले आफ्नो सहकारीमा सदस्य रहेका बचतकर्ताको संख्या पनि खुलाउन चाहेनन् । ‘मैले विस्तारै सबैको पैसा फिर्ता गरिहरहेको छु,’ उनले भने ।

काठमाडौंमा बस्दै आएका राजारामका बुवा म्यानपावर व्यावसायी बिल्टु साहले पनि सुरुमा आफ्नो छोराले गरेको ठगीका विषयमा अनभिज्ञता प्रकट गर्दै आफ्नो सरोकारको विषय नभएको भन्दै पन्छिन खोजे । पछि कुराकानीका क्रममा भने उनले कोही बचतकर्ता पनि आफ्नो घर नपुगेको दाबी गर्दै पैसा फिर्ता गर्न सबैसँग समय लिइएको दाबी गरे ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully