राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती : दाहाल

आश्विन १०, २०८१

कान्तिपुर संवाददाता

A serious challenge to national independence: Dahal

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी गरेका छन् ।

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको काठमाडौंमा बिहीबार उद्घाटन गर्दै उनले राष्ट्रिय स्वाधीनताको लडाइँ जारी रहेको बताएका हुन् ।

शक्ति राष्ट्रको टकरावका कारण नेपालको भूराजनीति संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै माओवादी राष्ट्रिय स्वाधीनताको पक्षमा उभिइरहेको उनले बताए ।

‘नेपालको भूराजनीतिक अवस्थितिले गर्दा यसको इपिसेन्टर हुने हो कि ? भन्ने चिन्ता छ,’ उनले भने, ‘राष्ट्रिय स्वाधिनतामाथि गम्भीर चुनौती खडा भएको छ । यो परिस्थिति विदेशी हस्तक्षेपविरुद्ध बोल्ने माओवादी केन्द्र नै हो । अब फेरि राष्ट्रिय स्वाधीनतताको लडाइँ लड्नुपर्ने छ ।’

उनले नयाँ प्रतिबद्धता, आन्दोलनको रुपमा अघि बढ्नुपर्ने अवस्था आएको उल्लेख गर्दै आफ्नो नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चालेकाले सरकारबाट बाहिरिनु परेको बताए ।

‘प्रतिक्रियावादी शक्तिहरु संविधानको मूल्य मान्यताविपरीत अघि बढ्दैछन् । हाम्रो नेतृत्वको सरकारका बेला नेपालको इतिहासमा हाइप्रोफाइल कानुनको घेरामा ल्याएकै हो । हामीले भ्रष्टाचारविरुद्ध अभियान छेडेकै हो,’ दाहालको दाबी थियो, ‘हामीले सामाजिक न्यायका लागि अघि बढेकै हो । नागरिकताविहीन लाखौं युवालाई नागरिकता उपलब्ध गराएको हो ।’

उनले सकारबाट बाहिरिएपछि जनताको समर्थन प्राप्त भएको बताए । ‘हामी सुशासन, भ्रष्टाचारविरुद्ध लडेकै कारण हामीलाई प्रतिक्रियावादीहरुले बहुमतको बलमा सरकारबाट हटाएका हुन्,’ उनले भने, ‘हामी जनताको ताकतमा अघि बढ्नुपर्छ ।’

‘भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चितताका निम्ति हाम्रो आन्दोलन । रोजगार, उत्पादन र समाजवादी शिक्षाका लागि २३औं राष्ट्रिय सम्मेलन’ मूल नाराका साथ राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

माओवादी अध्यक्ष दाहालले बिहीबार कीर्तिपुरमा उद्घाटन गरेको क्रान्तिकारीको राष्ट्रिय सम्मेलन १०–१४ सम्म काठमाडौंमा हुनेछ । सम्मलेनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी भएका छन् ।

कान्तिपुर

Link copied successfully