पोखरा — पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत संघ कास्कीले सहकारीपीडितहरूविरुद्ध प्रदर्शन गरेर रास्वपाले पीडितको पीडामाथि उपहास गरेको भन्दै आपत्ति जनाएको छ ।
संघर्ष समितिले बुधबार विज्ञप्ति जारी गर्दै पोखरामा रास्वपाले केही दिन अघि गरेको प्रदर्शनको प्रति आपत्ति जनाएको छ । 'आज एउटा उदयमान राजनीतिक पार्टी देशको विकास, जनताको न्याय र सुशासनको पक्ष काम गर्नु र बोल्नु पर्ने बेलामा सहकारीपीडितको उपहास गर्दै हिँडेको देख्दा यो पीडाको दुखाईमा पनि लाज लागेर आएको छ, हामी एक आपसमा एउटै देश र एउटै गाउँसहरका नागरिक होईनौ र?' विज्ञप्तिमा छ ।
वर्तमान समयमा सहकारी ठगीको समस्याबाट पीडीत बनेका नेपाली जनताको विषयमा जो कोहिले पनि अतिनै गम्भिर भएर सोचिदिनु पर्ने बेला भएको उनीहरूको भनाई छ । 'मिति २०८१ साल असोज ७ गते यस पोखराको सहिद चोक अर्थात् जिल्ला प्रसासन कार्यालय अगाडि कुनै राजनीतिक पार्टीले अनौपचारिक रुपमा गरेको सहकारी पीडितविरुद्धको नाटकीय प्रर्दशन प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं' विज्ञप्तिमा छ,'आज हामी सहकारीपीडितको विरुद्ध यसरी एउटा सिङ्गो पार्टी नै लाग्दा र हाम्रो बचत रकमको सुनिश्चितताकोविरुद्ध प्रर्दशन गर्दा हामी अच्चममा परेका छौं, बास्तविक सहकारीपीडितको पहिचान माथिनै प्रश्न चिन्ह खडा हुने किसिमको अभिव्यक्ति र नाराकोसाथ सामाजिक सञ्जालमा पनि विभिन्न झुटा लान्छाना यिनै पार्टीका मुख्य व्यक्ति तथा कार्यकर्ताले निरन्तर लगाई राखेका छन तर यि यस्ता झुटा लान्छाना र पार्टीका झोले, नक्कली पीडित या परिचालित व्यक्ति जस्ता शब्दले हामी सहकारीपीडितलाई कुनै फरक नपर्ने कुरा यहाहरु समक्ष जानकारी गराउन चाहान्छौं।'
सहकारीपीडितिहरूले आफूहरू दश झुटा लाञ्छना सहन तयार रहेपनि त्यसको बदलतामा पीडितको रकम फिर्ता गर्ना तयार हो कि होइन भन्ने प्रश्न रास्वपा र त्यसका सभापति रवि लामिछानेमाथि प्रश्न गरेका छन् ।
'आजको यो समयमा हामी यस्ता दश झुटा लान्छाना सहन तयार छौ तर त्यसको बदलामा एक पीडितको रकम फिर्ता होस के यो कुरामा तपाईं र तपाईंको पार्टी सहमत छ? हामी सहकारी पीडितका जीवन यापनमा के समस्या छ भन्नेकुरा र कति समस्या छ भन्नेकुरा आजसम्म कसैले चिहाएर हेर्ने प्रयास गरेको छ?' उनीहरूले भनेका छन्,' साँच्चिकै सहकारीपीडित प्रति यो राज्य सरकार र यी मानिसमा दयामाया र धर्म नभएकै हो त?
सरकार र यस ठगीमा संलग्न भएका दोषीको विपक्षमा आफ्नो बचत फिर्ताको निम्ती भए गरेका विरोध कार्यक्रममा सामाजिक सञ्जालमा आएर गरेका कमेन्ट देख्दा उनीहरुमा एउटा मानवता हराएका मानिस जस्तो लागेको उनीहरुको भनाई छ । 'जुनसुकै पार्टी र समूह हामी सहकारी पीडितको विपक्षमा उभिएपनि जबसम्म हाम्रो बचतको सुनिश्चितता र फिर्ताको काम हुँदैन तबसम्म यो संघर्ष निरन्तर जारी रहने जानकारी गराउन चाहान्छौं, अनेकौ गलत विषयमा जोडेर हामी सहकारीपीडितलाई फुटाउने टुटाउने, हाम्रो नेतृत्व कमजोर बनाउने र हामी लाई असफल बनाउने प्रयास गरिरहेका जो कसैलाई पनि हामी खबरदारी गर्ने चाहान्छौ' विज्ञप्तिमा छ ।
कानुनी प्रक्रियामा गएका या नगएका कास्की जिल्लाका या पोखराका सम्पूर्ण सहकारीपीडित बचतकर्ताको बचत रकम तुरुन्त फिर्ता गर्ने काम सरकारले गर्नुपर्ने बताए । 'हामी सबै सहकारी पीडित जबसम्म हाम्रो बचत रकम फिर्ता हुने कामको सुरुवात हुँदैन तबसम्म हामी सम्पूर्ण सहकारी पीडित एक हौं एक रहिरहने छौं, जबसम्म कहि कतै र कोहिबाट हाम्रो बचतको सुनिश्चितताको काम हुँदैन, बचत फिर्ता हुने काम सुरु हुँदैन तबसम्म यी यस्ता कुनै पनि पार्टीका नाटकीय बचाउ अभियान र अनौपचारिक कार्यक्रमको पछि नलाग्न र विश्वास नगर्ने सम्पूर्ण बचतकर्ता हरु समक्ष बिनम्र अनुरोध गरिन्छ' विज्ञप्तिमा छ ।
