न्युयोर्क — संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् ।
भेटका अवसरमा दुई मुलुकबीचको आर्थिक, विकास, व्यापार लगायतको विषयमा कुराकानी भएको थियो । राणाले अमेरिकाको महत्त्वपूर्ण सहयोगलाई लिएर धन्यवाद दिइन् ।
साथै, दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउदै जाने विषयमा पनि कुराकानी भएको न्युयोर्कस्थित राष्ट्र संघको लागि नेपाली स्थायी नियोगले जनाएको छ ।
राणाले उक्त अवसरमा दुई मुलुक बीचको सम्बन्धलाई उच्चतहको भ्रमण आदान–प्रदानमार्फत अघि बढाउने विषयमा पनि छलफल भएको बताएकी छन् ।
