कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

आश्विन १, २०८१
छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशले एकअर्काको हित सोचेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने विषयवस्तुबारे सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै ओलीले नेपालले दुई छिमेकी भारत र चीनसँग असल सम्बन्ध कायम राख्ने बताएका हुन् ।

बैठकमा उनले मुलुकको राष्ट्रिय हितलाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाए । ‘आफ्ना जायज तथा न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवर्द्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालले प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘नेपाल असल छिमेकीका रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छिमेकीको हित चिताएर काम गर्ने छिमेकीका रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’

महासभामा भाग लिन ओली असोज ४ मा न्युयोर्क जाँदैछन् । नेपालका नीति, दृष्टिकोण, अडानहरू, समस्याहरू र उपलब्धिहरू विश्वसामु जानकारी गराउँदै आवश्यक सहयोगका लागि आग्रह गर्ने उनले बताए । ओलीले जलवायु परिवर्तन र नेपालले भोग्दै आएको समस्याबारे छलफल गर्ने जानकारी दिए । हिमालमा हिउँ नरहनु नेपालको मात्र नभएर विश्वको चासोका विषय भएको उनले बताए । नेपालले लागू पदार्थको समस्या भोगिरहेकाले त्यसको समाधानका लागि विश्वव्यापी प्रयास हुनुपर्ने प्रधानमन्त्री ओलीले जोड दिए ।

प्रधानमन्त्री ओलीले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने चर्चाबारे प्रसंग निकाले । संसद्मा प्रस्ताव नै नआएको दाबी गर्दै जनजाति, महिलालाई हटाउन खोजेको भनेर गलत प्रचार गरेको उनको भनाइ थियो । ‘उठ्दै नउठेका कुराहरूमा, प्रस्ताव नै नआएको कुरामा छलफल कसरी चलेको हो ? त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन,’ उनको भनाइ थियो ।

प्रकाशित : आश्विन १, २०८१ ०६:१०
x
×