पूर्व राजदूत रिजालले लगेकी घरेलु श्रमिक इजरायलमा पक्राउ

रिजाल भन्छिन् : मैले उनलाई छोडेको होइन, नेपाल फर्किने दिन उनी आफैँ भागेकी थिइन् ।

भाद्र २६, २०८१

होम कार्की

Former ambassador Rizal arrested domestic worker in Israel

काठमाडौँ — इजरायलका लागि पूर्व राजदूत कान्ता रिजालले लगेकी घरेलु श्रमिक महिलालाई इजरायल सरकारले पक्राउ गरेको छ । उनलाई स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा राखिएको छ । इजरायलको आन्तरिक मन्त्रालयले ती घरेलु श्रमिकलाई ३० दिनभित्र डिपोर्ट गर्ने निर्णय गरेको छ ।

ती श्रमिकलाई प्रहरीले उनी काम गर्ने ठाँउबाट बासस्थान जानेक्रममा बाटोबाटै गत बिहीबार नियन्त्रणमा लिइएको थियो । नेपाली दूतावासले उनलाई नेपाल पठाउने मिति निश्चित भइनसकेको जनाएको छ । इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठले ती घरेलु श्रमिकलाई छिटोभन्दा छिटो पठाउने तयारी भइरहेको बताए । 

तेलअबिवस्थित नेपाली दूतावासले ती घरेलु श्रमिकलाई स्वदेश पठाउनको लागि जारी गरिएको ट्राभल डकुमेन्ट प्रहरीलाई दिइएको छ । उनी सात महिनाअगाडि पूर्व राजदूत रिजालको निवासमा काम गर्न इजरायल पुगेकी थिइन् । पूर्ववत प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले राजनीतिक कोटामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने क्रममा रिजालले गत असार ३१ गते इजरायल छोडेकी थिइन् । उनी काँग्रेसको कोटामा राजदूतमा भएकी थिइन् ।

पूर्व राजदूत रिजालले आफू फर्किने दिन विमानस्थल जानु केही घण्टा अगाडि मात्रै घरेलु श्रमिक भागेको कान्तिपुरसँग बताइन् । ‘राजदूतलाई दुई जना घरेलु श्रमिक राख्न पाउने सुविधा छ । छोरी र हाम्रो विमानस्थलको समय अलगअलग थियो । म छोरीलाई विमानस्थल छोडेर फर्किँदा निवासमा एक जना मात्रै घरेलु श्रमिक थियो । अर्को लगेजसहित भागिसकेछ,’ उनले कान्तिपुरसँग भनिन्,‘उनले हामीलाई छाडेको कुरा विमानस्थल जानु एक घण्टा अगाडि मात्रै थाहा पायौं ।’

उनले आफू नेपाल फर्किए लगत्तै आफूसँग कार्यरत घरेलु कामदार भागेको जानकारी दिँदै उनको राहदानी र टिकट परराष्ट्र मन्त्रालयमा बुझाइदिएको बताइन् । ‘मैले उनलाई नेपाल फर्काउनको लागि उनको परिवार र आफन्तसँग पनि अनुरोध गरेको थिएँ,’ उनले भनिन्, ‘परिवारले आफूहरुसँग सर्म्पकविहीन भएको बताउँदै आएका थिए । मैले आफ्नोतर्फबाट खोजी गर्ने प्रयास जारी राखेको छु ।’   

रिजाललाई केपी ओलीको सरकारले अष्ट्रेलियाको लागि राजदूतमा पुनः सिफारीस गरेको थियो । तर घरेलु श्रमिक छाडेको आरोप लागेपछि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाई समितिमा सुनुवाईको लागि उनको नाम पठाएन ।

परराष्ट्रले घरेलु श्रमिक इजरालयमा पक्राउ परेको तीनदिनपछि आइतबार अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । कांग्रेस नेतृ यादव पूर्व उपसभामुख हुन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully