११ अर्ब ५९ करोड दायित्व भए पनि उठाउनुपर्ने ४ अर्ब र अचल सम्पत्ति ११ अर्ब ५० करोड भएकाले ४ अर्बभन्दा बढी ‘मार्जिन’ हुने आकलन
काठमाडौँ — सर्वसाधारणको बचत हिनामिना गरेर सहकारी संकटमा पर्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह भने सहकारी क्षेत्रमा प्रवेश गरेका छन् । ११ अर्ब ५० करोड दायित्व भएको सुमेरु सहकारीको जिम्मा लिएपछि संसदीय समितिले सिंहसँग सोधपुछ गरेको छ ।
सिंहको समूहले सुमेरु अस्पतालबाट मेडिकल कलेज चलाउने योजना राखेको छ भने कुल दायित्वभन्दा ४ अर्बभन्दा बढी ‘मर्जिन’ हुने अपेक्षा राखेको छ । यद्यपि कम्पनीसरह मुनाफा लिने उद्देश्य राख्दा नै सहकारीहरूको यो हविगत भएको हो ।
सुमेरुका तत्कालीन अध्यक्ष भरत महर्जन परिवारसहित बेलायत पलायन भएका छन्, उनले तीन अर्बभन्दा बढी रकम हुन्डीबाट विदेश लगेको अधिकारीहरूको भनाइ छ । अहिले नै साढे ११ अर्ब भुक्तानी गर्ने ताकेतामा रहेको सुमेरु सहकारीमा सेयरधनीका रूपमा प्रवेश गरेका सिंहले पुरानो समितिलाई विस्थापित गराएर नयाँ समितिलाई अघि सारेका छन् । सिंहको समूह र पुरानो समितिबीच गत जेठ ९ मा भएको समझदारीअनुसार असार ३ मा २३ औं वार्षिक साधारणसभा गराइएको हो । सहकारीको कार्यसमितिमा कुनै पद नलिएका सिंहले सेयरधनीका हैसियतमा समझदारीपत्र (एमओयू) मा सेयरधनीका रूपमा हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार निवर्तमान अध्यक्ष कृष्णप्रसाद कँडेलको कार्यसमितिको सट्टा सिंहको समूहबाट वीरेन्द्र महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । समितिमा हरिश चन्द उपाध्यक्ष, ओर्विल गुरुङ सचिव र राजन राई कोषाध्यक्ष छन् । सदस्यमा गोकुलबहादुर रोकाया, ध्रुवबहादुर शाह र अनिल मल्ल छन् ।
सहकारी जिम्मा लिन राजबहादुर सिंहसमेतको हस्ताक्षर
सहकारी छानबिन विशेष समितिले सिंहसहित उनको समूहका पदाधिकारीसँग सोधपुछ गरेको छ । अरू कसैले उठाएको बचत र गरेको हिनामिनाको जिम्मेवारी लिन सिंह किन अघि सरे ? यही प्रश्न राखेर संसदीय विशेष समितिले उनी र समूहसँग सोधपुछ गरेको छ । ‘नयाँ व्यवस्थापनले सबै बचतकर्ताको रकम फिर्ता गर्न सहमतिपत्रमा हस्ताक्षर गरेको जानकारी पाएपछि योजना के छ भनेर सिंहसहित सो सहकारीका पूर्व र हालका गरी पाँच जनासँग बयान लिएको हो,’ समितिका एक सदस्यले कान्तिपुरसँग भने ।
बयानका क्रममा सिंहले सुमेरु सहकारीमा आबद्ध वीरेन्द्र महर्जन आफ्नो स्कुले साथी भएको, उनले सहकारी सञ्चालन गरौं भन्ने प्रस्ताव ल्याएकोले आफू सो संस्थामा सेयरधनीका रूपमा आबद्ध भएको बताएका छन् । ‘सहकारीको वित्तीय विवरण हेरेपछि राम्रोसँग व्यवस्थापन गर्न सके बचतकर्ताको रकम फिर्ता गर्न सकिने देखियो । त्यसपछि साथीहरूले साधारण सेयर लिएर संस्थामा आबद्ध हुन भन्नुभयो, मैले त्यसै गरें,’ समितिमा उनले भनेका छन् । यद्यपि व्यावसायिक भविष्य देखेरै आफू सहकारीमा आबद्ध भएको उनले समितिलाई बताएका छन् ।
टेलिकमलगायत कर्पोरेट उद्योगमा चासो राख्ने सिंह अहिले सहकारीमा किन आकर्षित भए ? सुमेरु सहकारीको हिसाबकिताब हेरेका एक अधिकारी भने सम्पत्ति र सम्भावनाको आकलन गरेर सिंह संस्थामा आबद्ध भएको बताउँछन् । सहकारी समस्यामा परेपछि वाग्मती प्रदेशको सहकारी महाशाखाको निर्देशनमा सुमेरुको तत्कालीन व्यवस्थापनले ०८० वैशाख १८ मा संस्थाको आर्थिक अवस्था विश्लेषणसहितको श्वेतपत्र जारी गरेको थियो ।
श्वेतपत्रमा उल्लेख भएअनुसार सुमेरु सहकारीका चार शाखा कार्यालयसमेतमा गरी ३४ हजार ७ सय ७८ सर्वसाधारणको १० अर्ब ३४ करोड रुपैयाँ बचत छ । तर, सोही अवधिमा संस्थाको कुल सम्पत्तिको मूल्यांकन भने ११ अर्ब ४९ करोड देखाइएको छ । यस्तै, ऋण प्रवाह ४ अर्ब १० करोड छ । ‘यसरी कुल सम्पत्ति १५ अर्ब ६० करोड र दायित्व ११ अर्ब ५९ करोड मात्र भएकाले खुद नाफा सम्पत्ति ४ अर्ब ९२ लाख रुपैयाँ हुने आकलन छ, तत्कालै करिब ४ अर्बभन्दा बढी मार्जिन आउने भएपछि सिंह पनि आबद्ध भएका हुन्,’ एक सञ्चालकले भने ।
सुमेरुको अनुमानित आर्थिक विवरण
सुमेरु समूहअन्तर्गत सञ्चालनमा रहेका कम्पनीहरूमा सुमेरु सामुदायिक अस्पताल धापाखेलको २ अर्ब ५२ करोड, सुमेरु सिटी अस्पताल पुल्चोकको १ अर्ब ४२ करोड, धापाखेलस्थित घोडा पालेको क्षेत्रको जग्गाको १ अर्ब २५ करोड मूल्यांकन गरिएको छ । त्यस्तै कृषि फार्मको जग्गाको ९ करोड ६० लाख, सुमेरु मार्ट (सातदोबाटो) को १ अर्ब १६ करोड, सुमेरु वृद्धाश्रमको जग्गाको ३४ करोड, सहरको मुख्य क्षेत्रमा रहेका सम्पत्तिको ६७ करोड, सुमेरु रिसोर्ट टौदहको २८ करोड र बाहिरी जिल्लाका सहरमा रहेका सम्पत्तिको २ अर्ब ८५ करोड मूल्य राखिएको छ । एसियन कलेजको २५ करोड, शंखरापुर एकेडेमीको २९ करोड र अन्य सम्पत्तिको २७ करोड ९० लाख मूल्यांकन गरिएको छ । यसरी सुमेरुमा आबद्ध कम्पनीहरूको कुल मूल्य ११ अर्ब ४९ करोड रुपैयाँ रहेको श्वेतपत्रमा उल्लेख छ ।
एकातिर यो श्वेतपत्र पुरानो कार्यसमितिले तयार पारेको हो । अर्कोतिर मुनाफा ‘मार्जिन’ भए पनि व्यवस्थापकले लग्न मिल्ने होइन । ‘सहकारीको आधारभूत सिद्धान्त नबुझेकाहरूले सर्वसाधारणलाई समेत डुबाए, नयाँ आउन खोज्नेहरू पनि रातारात नाफा भइहाल्छ भनेर हौसिएका छन् । विश्वसनीय काम भएको छैन,’ सहकारी महाशाखाका एक अधिकारी भन्छन् ।
संस्थामा नयाँ कार्यसमिति आएपछि समग्र सम्पत्ति तथा दायित्व मूल्यांकनको काम फेरि अघि बढेको सहकारीका अध्यक्ष वीरेन्द्र महर्जनको भनाइ छ । ‘पुरानो समितिले करिब साढे १० अर्ब दायित्व र ११ अर्बभन्दा बढी सम्पत्ति रहेको बताएको छ । तर, हामीले फेरि मूल्यांकन गरिरहेका छौं । एक/दुई साताभित्रै प्रतिवेदन आउँछ,’ उनले भने ।
सुमेरु समूहअन्तर्गत विभिन्न कम्पनी सञ्चालनमा रहे पनि ती सम्पत्ति सहकारीका नाममा नभई अमूक व्यक्तिका नाममा रहेको भेटिएको महर्जनको भनाइ छ । भन्छन्, ‘हाम्रो प्रयास सबैभन्दा पहिले बचतकर्ताको रकम फिर्ता दिने र अमूक व्यक्तिका नाममा रहेको ती सबै सम्पत्ति सहकारीका नाममा फिर्ता गर्ने नै हुनेछ ।’ आफ्नो नेतृत्वको कार्यसमितिले बचतकर्ताको सम्पत्ति फिर्ता गर्न अरू व्यक्तिका नाममा रहेको सम्पत्ति सहकारीका नाममा ल्याउन सबैजसो सञ्चालकहरूसँग सम्झौता गरेको अध्यक्ष महर्जनले बताए ।
सहकारीमा सिंह प्रवेश गर्नुको मुख्य उद्देश्य भने ‘करिब ४ अर्ब मार्जिन’ को सम्पत्ति मात्र नहेरेको अर्का सञ्चालकको भनाइ छ । ‘लामो समयदेखि सञ्चालनमा रहेको सुमेरु अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने प्रयास भइरहेको छ । अहिले नै सुमेरु समूहको कलेजमा नर्सिङ, फार्मेसी र जनस्वास्थ्यलगायतका विषयमा पढाइ हुन्छ । मेडिकल कलेज बनेपछि नाफामूलक अस्पताल बन्ने हिसाब छ,’ उनले भने ।
यही पृष्ठभूमिमा सेयरधनीका रूपमा सिंहसहितले सहकारीको पुरानो सञ्चालक समितिसँग गरेको सम्झौतापत्रमा भनिएको छ, ‘सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड संस्थाका नाममा रहेको सम्पूर्ण श्रीसम्पत्ति तथा सुमेरु ग्रुपभित्रका उल्लिखित कम्पनीका सम्पूर्ण श्रीसम्पत्ति तथा दायित्वहरूसमेत लिई हामी यथास्थितिमा यसै संस्थाको प्रदेश सहकारी विभागको प्रतिनिधिको रोहवरमा साधारणसभा बोलाई नयाँ सञ्चालक समितिको जिम्मेवारी लिई संस्थालाई विधिवत् रूपमा सञ्चालन गर्न तथा यसको सम्पूर्ण जिम्मा लिन हामी तयार छौं ।’
सहकारीको दायित्व तथा सम्पत्तिको सम्पूर्ण जिम्मा लिई बचतकर्तालाई नियमअनुसारले बचत फिर्ता गर्दै संस्थालाई नियमित सञ्चालन गर्न आफूहरू तयार रहेको कागजमा उल्लेख छ । ‘साथै संस्थाले विभिन्न कारणबाट निक्षेप फिर्ता गर्न नसकी विभिन्न निकायमा उजुरबाजुर भएको अवस्थामा पनि सोसमेत जिम्मा लिने सहमति गरी सम्झौता समझदारीका लागि प्रक्रिया सुरु गर्न अनुरोध गर्दछौं,’ पत्रमा भनिएको छ ।
‘सहकारीमा एउटै व्यक्तिले ४१ करोड रुपैयाँसम्म जम्मा गरेको तथ्य फेला परेको छ । ८/१० करोड जम्मा गर्ने त धेरै छन्,’ संसदीय छानबिन समितिका एक सदस्यले भने, ‘सुमेरु सहकारीको कालीमाटी शाखाबाट २ अर्ब २० करोड रुपैयाँ सुमेरु पुल्चोकमा स्थानान्तरण गरिएको तथ्य समितिले फेला पारेको छ । भरत महर्जनले आफूलाई पुल्चोक र श्रीमतीलाई कालीमाटीको अध्यक्ष बनाएर अर्बौं बचत दुरुपयोग गरेको फेला परेको छ ।’
महर्जन ती व्यक्ति हुन् जसले पाँच वर्षअघि श्रीमतीसँग ‘डिभोर्स’ को कानुनी लिखत गरेका थिए । तर, उनै महिलासँग बिहे गरेको कागजात बनाएर महर्जन बेलायत पलायन भएको प्रमाण पनि समितिले प्राप्त गरेको छ । समितिले विभिन्न नियमनकारी संस्थाका व्यक्तिहरूसँग सोधपुछ गरी महर्जनले तीन अर्बभन्दा धेरै पैसा बेलायत लगेको र त्यहाँ तीन वटा घर किनेर बसेको जानकारी प्राप्त गरेको छ ।
