फराकिलो मनले संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

सूर्यनाथ उपाध्यायको पुस्तक ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ विमोचन

भाद्र २२, २०८१

कान्तिपुर संवाददाता

The problems between Nepal and India can be solved if we have a broad-minded dialogue: Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन् । 

शनिबार पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्याहरु रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबीचको सहमतिमा प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी) गठन गरिएको स्मरण गरे । 

'इपीजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बीचमा थाती रहेका विषयमा छलफल गर्न सहज हुन्छ,' प्रधानमन्त्री ओलीले भने, 'भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्र्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन ।'

भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको बताए । 

संयुक्त राष्ट्रसंघको मर्म र विभिन्न देशमा भएका अभ्यासको अध्ययनका आधारमा उपाध्यायले पुस्तक तयार गरेर बौद्धिक योगदान दिएको बताउँदै प्रधानमन्त्री ओलीले पुस्तकमा अन्तर्राष्ट्रिय मान्यतासहितको न्यायोचित राष्ट्रवाद प्रकट भएको र यसका आधारमा थप बहस गर्न सकिने बताए । 

पुस्तकमाथि समीक्षा गर्दै संविधानविद् डा विपिन अधिकारीले नेपालको जलसम्पदाको सही उपयोग गर्ने गरी छिमेकी मुलुकसँग संवाद गर्न सक्नुपर्नेमा जोड दिए । 

कान्तिपुर

Link copied successfully