कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

नेपालबाट दक्ष कामदार लैजान इराक इच्छुक

भाद्र २२, २०८१
नेपालबाट दक्ष कामदार लैजान इराक इच्छुक

Highlights

  • नेपालले सुरक्षाको कारण देखाउँदै ०६१ सालदेखि आफ्ना नागरिकलाई इराक भ्रमण गर्न वा त्यहाा गएर काम नगर्न प्रतिबन्ध लगाएको छ

काठमाडौँ — आफूमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउँदै नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । उसले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव पनि गरेको छ । कुनै समय द्वन्द्व र युद्धका कारण थलिएको इराक अब पूर्वाधार विकासमा अघि बढ्ने भन्दै नेपालबाट दक्ष जनशक्ति लैजान नेपालसँग श्रम समझदारी गर्न खोज्दै छ । 

इराकमा श्रम गर्न वा घुम्न जान पनि नेपाली नागरिकलाई प्रतिबन्ध लगाइएको छ । नेपालले सुरक्षाको कारण देखाउँदै ०६१ सालदेखि आफ्ना नागरिकलाई इराक भ्रमण गर्न वा त्यहाँ गएर काम नगर्न प्रतिबन्ध लगाएको छ । ०६१ भदौ १६ मा १२ जना नेपालीलाई एक इराकी विद्रोही समूहले हत्या गरेपछि नेपाल सरकारले उक्त निर्णय गरेको थियो । इराकीहरूले पटक–पटक विभिन्न माध्यममार्फत उक्त प्रतिबन्ध हटाउन खोजिरहेका छन् । नेपालले भने सुरक्षाकै कारण इराकमा नेपाली पठाउन मानेको छैन ।

नेपालबाट दक्ष कामदार लैजान नयाँदिल्लीस्थित कार्यवहाक राजदूत सुरेन्द्र थापालाई नयाँदिल्लीस्थित इराकको राजदूतावासका नियोग उपप्रमुख नजम मिर्जानले आग्रह गरेका छन् । दिल्लीमै रहेको इराकको दूतावासले नेपाललाई पनि हेर्ने काम गर्छ । गत मंगलबार दिल्लीमा भएको भेटवार्तामा उनीहरूबीच इराकमा नेपालबाट दक्ष कामदार लैजाने सम्बन्धमा कुराकानी भएको नेपाली दूतावासले जनाएको छ । ‘हामी अब पूर्वाधार विकासमा लागिरहेका छौं । त्यसका लागि धेरै कामदारको आवश्यकता पर्छ,’ मिर्जानले भने, ‘नेपालीहरूको राम्रो कामको हामीले जताततै सुनेका छौं । त्यसैले इराक नेपालबाट पूर्वाधार विकासमा काम गर्न सक्ने दक्ष कामदार लान चाहन्छौं ।’

इराकमा श्रम पठाउनेसम्बन्धमा आवश्यक प्रक्रियाबारे आवश्यक विषय बुझेर जानकारी दिने कार्यवाहक राजदूत थापाले बताए । थापाले इराकको आग्रहलाई परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । अब परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरेर इराकलाई जवाफ दिने जनाइएको छ । नेपाली पक्षले इराकको वर्तमान सुरक्षा र भविष्यमा हुन सक्ने खतराको अध्ययन र समीक्षा गरेर मात्र कुनै पनि निर्णय लिने परराष्ट्र स्रोतको भनाइ छ ।

प्रकाशित : भाद्र २२, २०८१ ०५:५५
x
×