कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

यूएईमा गैरकानुनी श्रमिकलाई 'आममाफी' लागि दुई महिने अवसर

भाद्र २०, २०८१
यूएईमा गैरकानुनी श्रमिकलाई 'आममाफी' लागि दुई महिने अवसर

Highlights

  • अक्टुबर ३० सम्म निवेदन दिनुपर्ने
  • आममाफीमा सहभागी भएमा अलेखबद्ध श्रमिकले वैध रुपमा यूएईमा बस्न वा जरिवाना नतिरी नेपाल फर्कन पाइने दूतावासले जनाएको छ । त्यसरी नेपाल फर्केका श्रमिक पुनः यूएई आउन पाउनेछन् ।

काठमाडौँ — संयुक्त अरव इमिरेट्स (यूएई)ले अलेखबद्ध (गैरकानुनी हैसियत) आप्रवासी श्रमिकलाई लेखबद्ध (कानुनी हैसियत) हुने दुई महिनासम्म अवसर दिइएको छ । यो  १ सप्टेम्बरदेखि लागु भएको यो आममाफीको अवसर आउँदो ३० अक्टोबरसम्म हुनेछ ।

यूएईको राजधानी आवुधावीस्थित नेपाली दूतावासका अनुसार श्रम वा भिजिट भिसामा आई भिसाको म्याद नाघेका (ओभरस्टे)हरु जरिवाना बुझाउन नसकी स्वदेश फर्कन नसकेको आप्रवासी श्रमिकलाई लक्षित गरी आममाफी दिइएको हो । पछिल्लो समयमा कामको खोजीमा भिजिट भिसामा गई ओभरस्टे हुने नेपालीको संख्या बढिरहेको थियो । ओभरस्टे हुनेमा नेपाली पुरुषभन्दा महिलाहरु बढी रहेको दूतावासको अनुमान छ ।

नेपाली दूतावासले तोकिएको अवधीभित्र श्रम भिसा/भिजिट भिसामा आएर गैरकानुनी रुपमा कम्पनी छाडेका (भागेका) वा भिसाको म्याद नाघेर जरिवाना लागेका तथा अध्यागमनसम्बन्धी समस्या भोगिरहेका नेपाली श्रमिकलाई आममाफीमा सहभागी हुन अनुरोध गरेको छ । आममाफीमा सहभागी भएमा अलेखबद्ध श्रमिकले वैध रुपमा यूएईमा बस्न वा जरिवाना नतिरी नेपाल फर्कन पाइने दूतावासले जनाएको छ । त्यसरी नेपाल फर्केका श्रमिक पुनः यूएई आउन पाइनेछ ।

दूतावासका अनुसार आवासीय कानुन उल्लंघन भएका चारथरी नेपाली श्रमिक आममाफीमा सहभागी हुन पाउनेछन् । रोजगारदाता कम्पनीको काम गर्न आई रोजगारदाताको अनुमतिबिना कम्पनी छाडेर हिँडेका श्रमिक, यूएईमा घुम्न वा भिजिट भिसामा कामको खोजीमा आएर ‘ओभरस्टे’ भई जरिवाना लागेका, यूएईमा बस्न पाउने गरी अनुमति प्राप्त गरे पनि यूएईका अध्यागमन नियमहरु उल्लंघन गरेकाहरु, यूएईमा रहेका विदेशी वावु वा आमाले आफ्ना छोराछोरीलाई ल्याई यूएई अनुमतिबिना बसेकाहरु र यूएईमा बस्न पाउने अनुमति प्राप्त नगरी अध्यागमन नियम उल्लंघन गरेकाहरु आममाफीमा सहभागी हुन पाउनेछन् ।

अलेखबद्ध श्रमिक यूएईमा वैध रुपमा बस्न चाहने व्यक्तिले मानव संशाधन तथा इमिरेती मन्त्रालयबाट जारी भएको ‘जव अफर लेटर’ लिई आफ्नो हैसियत परिवर्तन गर्न पाइनेछ । आममाफीको लागि आफ्नो भिसा जारी भएको इमिरेट्सको अध्यागमन विभागमा नै आवेदन गर्न जानुपर्नेछ । यूएईमा रहेका इमिरेट्सहरुमा दुवई, आबुधावी, अजमान, सारजाह, फुजेरा, रस अल खेमा र उम अल क्वाइन रहेका छन् । यूएईले आबुधावीको भिसा भएकालाई अल दर्फा, अल मकाम, अल समाह, दुवईको लागि अल अवेर अध्यागमन र अन्य इमिरेट्सका लागि नजिकको ‘आइसिपी सर्भिस सेन्टर’ तोकिएको छ ।

यूएईमा बस्न इच्छुकले आफ्नो पूर्व हैसियत परिवर्तन नगरी बसेमा यूएईको अनुसार सजायको भागिदार हुने जनाएको छ । नेपाली दूतावासले राहदानी नभएका श्रमिकलाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी गर्ने जनाएको छ । तर, त्यस अघि श्रमिकले यूएईको अध्यागमन कार्यालयबाट जरिवानाको बक्यौता नभएको र प्रहरी प्रतिवेदन अनिवार्य पेश गर्नुपर्नेछ । त्यसरी ट्राभल डकुमेन्ट पाएपछि १४ दिनभित्र आफ्नै हवाई टिकटमा स्वदेश फिर्नुपर्ने दूतावासले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ १७:५७
x
×