कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

दक्ष कामदार लैजान इराकद्वारा श्रम समझदारीको प्रस्ताव

भाद्र २०, २०८१
दक्ष कामदार लैजान इराकद्वारा श्रम समझदारीको प्रस्ताव

काठमाडौँ — नेपालबाट दक्ष कामदार लैजान इराकले इच्छा देखाएको छ । इराकले नेपालसँग श्रम समझदारी गर्ने प्रस्ताव गर्दै यस्तो इच्छा देखाएको हो ।

नयाँ दिल्लीस्थित भारतका लागि इराकको राजदूतावासका नियोग उपप्रमुख नजम मिर्जानले नेपालबाट दक्ष कामदार लैजानका लागि नयाँ दिल्लीस्थित कार्यवाहक राजदूत सुरेन्द्र थापालाई आग्रह गरेका हुन् । दिल्लीमै रहेको इराकको दूतावासले नेपाल पनि हेर्छ ।

गत मंगलबार दिल्लीमा भएको भेटवार्तामा उनीहरूबीच इराकमा नेपालबाट दक्ष कामदार लैजाने सम्बन्धमा कुराकानी भएको नेपाली दूतावासले जनाएको छ । ‘हामी अब पूर्वाधार विकासमा लागिरहेका छौं, त्यसका लागि धेरै कामदारको आवश्यकता पर्छ, नेपालीहरूको कामको प्रशंसा हामीले जताततै सुनेका छौं । त्यसैले इराक नेपालबाट पूर्वाधार विकासमा काम गर्न सक्ने दक्ष कामदार लैजान इच्छुक छ,’ मिर्जानको भनाइ उद्धृत गर्दै दूतावासले भनेको छ ।

थापाले इराकको आग्रहलाई परराष्ट्र मन्त्रालयमा पठाइसकेका छन् । अब परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सहकार्य गरेर इराकलाई जवाफ दिनेछ । परराष्ट्र स्रोतका अनुसार नेपाली पक्षले इराकको वर्तमान सुरक्षा र भविष्यमा हुन सक्ने खतराको अध्ययन र समीक्षा गरेर मात्र कुनै पनि निर्णय लिनेछ ।

नेपालले सुरक्षाको कारण देखाउँदै इराकसहित लिबिया र सिरियामा पनि भ्रमण अथवा रोजगारीका लागि जान प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ २०:०८
x
×